नवराज पहाडी, अन्तरङ्ग र भ्रमकाे खेती

मिलन शर्मा दनाई

लेखनी जारी छ । नवराज पहाडीका बिषयमा यहाँ यो लेख लेख्न किन पनि बाध्य भएँ भने जनआस्था साप्ताहिकमा लेखिएको समाचारको प्रत्युत्तरमा उनले लेखेको पत्रकारिताका थरिथरि रुप शिर्षककाे लेखमा म प्रति फेरि टिप्पणी भएकाे रहेछ ।

जनआस्थामा के के आयो त्यो यहाँ लेखिरहन सान्दर्भिक पनि नहोला र मसंग नजोडिएका कुरामा म लेख्न बाध्य पनि छैन । तर जनआस्थाको समाचारलाई काउन्टर दिन भनि लेखिएको लेखमा मलाई मुछ्ने र छुने धृष्टता गरिएकाले चुपचाप बस्न उचित लागेन । त्यसैले उनको पछिल्लो लेख(समाचार?)मा मसंग जोडेका विषयमा मात्र प्रष्ट्याउन चाहन्छु ।

साविक करपुरेश्वर सहकारीकाे जग्गाकाे प्रसंग

उनले फेरि पनि करपुरेश्वर सहकारीको जग्गको प्रसंग उठाएका रहेछन् । करपुरेश्वर सहकारीले किनेको घडेरी खासमा पैसा परेका २० लाख मात्र हो तर कागजमा २६ लाख बनाइएछ । पछि सहकारीको एकीकरण गर्दा भने आर्थिक मन्दिले पेलेको यो स्थितिमा त्यही घडेरीको मूल्य ५४ लाख कायम गरिएछ । यस्तो धन्दालाई के भनिन्छ ? वा भन्नुपर्छ होला ? भनि सोधेका रहेछन् । यसको विषयमा खबरकुञ्जन्युज डटकममा सप्रमाण समाचार प्रकाशित भइसकेको छ । म साविक त्यही सहकारीको अध्यक्ष समेत रहेकाले उनलाई मेरो चुनौति छ, २० लाखमा किनेको भन्ने सप्रमाण देखाइदेउ । त्यस्तो जग्गाको मोल बढाएर कसैले पैसा खाएको रहेछ भने म आफै त्यस्तो हर्कत गर्नेहरुका विरुद्ध उभिन्छु । परिआए कानुनी काराबही अघि बढाउँछु । कसैले त्यस्तो गलत काम गरेको भए दण्डित हुनैपर्छ । होइन कसैको रिसले त्यस्तो लेखेको भए सार्वजनिक रुपमा उनले माफी माग्नुपर्छ ।

घडेरी किन्ने उपसमितिकाे सदस्य र निर्णय गरी हस्ताक्षर गर्ने उनै सराेज दनाइ कसरी बाइपास भएछन् ?

अनि त्यतिबेलाका कोषाध्यक्ष आफै सोही घडेरी किन्ने समितिमा बसेको, घडेरी किन्ने विषयमा भएको निणर्यमा सही धस्काएको प्रमाण देखाउँदा पनि फेरि कोषाध्यक्षलाई बाइपास गरेर खरिद गरियोे भन्दै तथ्यलाई तोडमरोड गरेर लेख्नुमा पक्कै पनि केही रहस्य त होला । कसैले खाएको रहेछ भने त्यो २८ लाखमा घडेरी किन्ने समितिको सदस्य र किन्ने निणर्यमा सही गर्नेमध्ये त्यतिबेलाका कोषाध्यक्ष सरोज दनाईचाहिँले चाहिँ जिम्मेवारी लिन नपर्ने हो ? अरुले खाएका भए अलिअलि भाग उनले पनि पाएको होला ? नपाएको भए यो कुरा कसरी अहिलेसम्म गुपचुप भयो त ? घडेरी खरिद समितिको सदस्य हुने, खरिद गर्ने निणर्यमा सही धस्काउने ब्यक्तिलाई वाइपास गरियो भन्नुको तुक के ? अनि फेरि घडेरीको मूल्य ५४ लाख बनाएर कस कसले बीचको मार्जिन खाएका रहेछन् त ? भन्दिए हुने नि ! यो कुरा खबरकुञ्जडटकममा पहिल्यै सप्रमाण आइसकेको पनि छ ।

पत्रिका वर्गिकरण र लमजुङ आवाज ख मा डल्लिएकाे बारे

अन्तरङ्ग पत्रिका क, ख, ग वा घ वर्गमा परोस्, मलाई कहिल्यै चासो लागेन, न डाह नै कहिल्यै लाग्यो न अहिले लाग्छ । लमजुङ आवाज कुनै दिन ग वर्गमा थियो, कहिले क त अहिले ख मा छ । मैले यो पत्रिकालाई क वर्गमा पार्न न कसैलाई भनसुन गरें, न ख वर्गमा पर्दा कोकोहोलो नै हालेको छु । पत्रपत्रिकाकाे वर्गिकरणमा भनसुन चल्छ जस्ताे पनि लाग्दैन । साँचो भन्ने हो भने म यो पत्रपत्रिका वर्गिकरणको विरोधी हूँ । पत्रिकाले आफैले कमाएर खानुपर्छ, त्यो भनेको विज्ञापनले पत्रिका चल्ने हो । विज्ञापन छाप्न नसक्ने पत्रिका बन्द भए पनि फरक पर्दैन । राज्यले पैसा दिएर पत्रिका चलाउने दिनको पनि अन्त्य हुर्नुपर्छ । यो पत्रिकाको वर्गिकरणको अवस्थाले मलाई फरक पारेको छैन र पार्दैन पनि । कुनै दिन पत्रिकालाई लोककल्याणकारी विज्ञापन दिन सरकारले बन्द गर्‍यो भने पनि मलाई फरक पर्दैन । लमजुङ आवाजमा बिज्ञापन आउन छोड्यो भने बन्द गरौंला, कतै काम नपाए खेतीपाती गरेर खाउँला ।

पत्रिका क बर्गिकरणमा परेन भनेर नवराज पहाडीले सर्वोच्चमा मुद्दा हालेको त सुनेको थिएँ, तर मसम्बद्ध पत्रिकालाई नै नजिर बनाएको सुन्दा उदेक लागेको छ । लमजुङ आवाज क वर्गमा परेकोमा यति धेरै कुण्ठा ? यति धेरै रिस ? अहिले ख वर्गमा झर्दा भने हाइसन्चो भएरै होला, मुख बारेको पनि । को रिसाएको रहेछ ? यसैबाट प्रष्ट हुँदैन र ? अनि पहाडीको सुझाव मैले नमानेकाले लमजुङ आवाज ख वर्गमा डल्लिनु परेको हो भने ठिकै छ, तिम्रा सुझाब आफैसंग राख, चाहिन्न मलाई । अझै ग घ मा घट्नु परे पनि र वर्गिकरणमै नपरे पनि गुनासो केही छैन । आफ्नै कान्छी श्रीमतिको नाममा रहेको उनको अर्को पत्रिका लमजुङ रत्नलाई चाहिँ किन ख मा डल्लाउनु ? सके फेरि सर्वोच्च गएर क वर्गमा परे भैहाल्यो । नजिरको लागि लमजुङ आवाज छँदैछ ।

लाेकतान्त्रिक  आन्दाेलन र लमजुङ आवाज

पत्रिका शुरु गर्दा यतिलामो समयसम्म चलाउन सक्छु भन्ने लागेको पनि थिएन । अन्तरङ्ग जस्ता पत्रिका र नवराज पहाडी जस्ता पत्रकार तत्कालीन शाही शासनको हुण्डी खाइ लोकतान्त्रिक आन्दोलनको विरोध गरेको कसैबाट छिपेको छैन । नवराज पहाडी आफै संस्थापक जिल्ला अध्यक्ष रहेको पत्रकार महासंघ छोडेर तत्कालीन शाही शासनको जयजयकार गर्न बनाइएको राष्ट्रिय पत्रकार महासंघको पश्चिमाञ्चल संयोजक बन्न गएकै हुन् । त्यहाँ गएर उनले ०६२/०६३ को आन्दोलन दबाउन भूमिका खेलिरहँदा म, कृष्ण केसी, नवीन कुइँकेल, लगायतका पत्रकार संगसंगै आन्दोलनको मोर्चामा थियौं । अनि कसैले प्रजातन्त्रका लागि जेल गएको हौवा नपिटे हुन्छ । प्रजातन्त्रप्रति प्रतिबद्ध हुनेले प्रजातन्त्र प्राप्तीको आन्दोलन दवाउन भूमिका खेल्छ कि ? सफल बनाउन ? प्रजातन्त्राबादीको मुखुण्डो लगाउँदैमा कोही प्रजातन्त्रबादी हुने भए सारा पुराना पञ्चहरुलाई जनताले किन पत्याएनन् त ?

लमजुङ आवाज भन्ने पत्रिका २०६२/०६३ को त्यही आन्दोलनका समाचार र फोटो फिचर प्रकाशन गरी आन्दोलनलाई सघाउनका लागि भनेर मात्र प्रकाशन शुरु गरिएको थियो । त्यतिबेला स्थानीयस्तरका पत्रिकामा फोटो छाप्ने चलन नै  थिएन, लमजुङ आवाजले त्यसको शुरुवात गरेको हो । यो पत्रिका सानो साइजको होस, पृष्ठ कम रहेको होस् तर लोकतन्त्रका लागि लडेको हो, कसैको गुलामी गर्न होइन । त्यतिबेला लोकतान्त्रिक आन्दोलनलाई सघाउन यो पत्रिकाले खेलेको भूमिका जगजाहेर छ । त्यो सम्झदाँ अहिले पनि मेरो छाती गर्वले चौडा हुन्छ । 

अदालतप्रति सम्मान र भराेसा छ

अन्तरङ्ग पत्रिकासंग मेरो रिसराग होइन, छैन । त्यो पत्रिकाका सम्पादक भनिनेले पछिल्ला समय मेरा बिरुद्ध नहुँदो कुरा लेखेकोमा मेरो बिमति हो । म कालिका सहकारीमा सम्बद्ध छु । सहकारीले सबै बचतकर्ताको बचत फिर्ता गर्न सकेको छैन, अहिले मुद्दा परको छ, म आफै प्रतिवादी छु । यो मुद्दामा पक्राउ परेर अदालतमा धरौटी राखेर रिहा भएको हूँ । मुद्दा विचाराधीन छ । मलाइ सम्मानित अदालतप्रति सम्मान र भराेसा छ । अदलतमा प्रहरीले वा सरकारी वकीलले प्रमाण पेश गरेकै होलान्, कसैले लेख्दैमा केही हुनेवाला छैन । मैले कुनै अनियमितता गरेको नगरेको बारे अदालतले फैसला गर्ला । विषयन्तर गर्नुपर्ने कुनै कारण छैन, त्यसो गरेर अदालत पुगेका प्रमाणहरु नष्ट हुने पनि होइनन् ।

सम्पत्ती सुद्धिकरणमा उजुरी गरिदिए हुन्छ 

मलाई गरिखान पिता पुर्खाले छोडिदिएको थातथलो र खेतबारी छ । अहिले पनि पत्रकारिता गरेर भन्दा त्यही थातथलोमा कोदालो खनेर बढी खाइरहेको छु । तै पनि मलाई सहकारी लुटेर अकुत सम्पती कमाएको तर सम्पत्ती सुद्धिकरणमा नपारिएको भनेर कोकोहोलो मच्चाउने पहाडी जस्तै अरु केही ब्यक्ति लागि परेका छन् । मेरो चुनौति छ, सम्पत्ती सुद्धिकरणमा उजुरी गरिदिए हुन्छ । उजुरी गर्न जसले पनि मिल्छ नि, बेनामे उजुरी हाले पनि छानबीन हुन्छ । मैले गैरकानुनी रुपमा कति सम्पती कमाएको रहेछु ? देखियो भने सरकारले जफत गरिदेला नै । अरु थप सजाय वा कारबाही भोग्न पनि तयार छु ।

नैतिक जिम्मेवारीबाट म पन्छिएको छैन

संस्थामा सिर्जना भएको समस्याको नैतिक जिम्मेवारीबाट म पन्छिएको छैन, न अरु साथीहरु नै पन्छिएका छन् । बचतकर्ताको बचत फिर्ता गर्न प्रतिबद्ध छु, नगद नारायणले नै समस्या भएको हो । संस्थाको लगानी उठेको छैन, ब्यक्तिगत रुपमा आफू आफूले सकेको संकलन गरी सञ्चालक समिति र बाहिरका साथीहरुले समेत बचतकर्ताको बचत फिर्ता गरिरहेका छौं । सहकारीकाे कार्यालय खुला छ, तीनवटा काउन्टरबाट काराेबार भइरहेकाे छ । न सञ्चालकहरू भागेका छन् । कसैले समाचार लेख्दैमा भाग्ने पनि हाेइनन् । देशब्यापी रूपमा अहिले सहकारीको ऋण तिर्न पर्दैन भनेर हौवा पिटाउने काम पनि भएको छ, देशैभरि सहकारीहरु समस्यामा परेकाले हामीलाई पनि समस्या भएको हो । तथापि हामी गम्भीर छौं, समस्या समाधानका लागि प्रयासरत छौं । अहिले मुद्दा दायर गर्नेहरुमध्ये कतिपयको त बचत फिर्ता भइसकेको छ । मुद्दा हाल्ने र नहाल्नेहरूकाे पनि फिर्ता क्रमशः हुन्छ, प्रक्रियामा छ ।

विभिन्न कारणले कालिका सहकारीमा समस्या आयो । मेरै कारणले त्यहाँ समस्या भएको भए, मैले ऋण लिएर नतिरेको भए, एकपैसा कतै हिनामिना गरेको भए प्रमाणसहित समाचार लेख्न मात्र आग्रह हो । मलाई बदनाम गर्न, मेरो छविलाई धुमिल बनाउन र धमिलो पानीमा माछा मार्न पल्किएकाहरुले बकुम्फुसे गफ नगरेकै राम्रो । प्रमाण दिएर लेखे पो पढनेलाई पनि हो त, यसले बदमासी गरेकै रहेछ भन्ने पर्छ त । अनि मसमेतलाई संगठित अपराधमा मुद्दा चल्ने भनेर समाचार लेख्ने र चलाउनु पर्छ भनेर प्रहरी र सरकारी वकीलको कार्यालय धाउने, अनि सम्पती सुद्धिकरणको मुद्दा किन नचलेको भन्दै अदालतमा गएर प्रश्न सोध्नेहरु को को हुन् धेरैले चिनिसकेका छन् । सहकारीको सन्दर्भमा ऋण लिएर संस्थाको ऋण मिलान गरिसकेकालाई समेत सहकारीका सञ्चालक विरुद्ध मुद्दा हाल्न उक्साउदै तिरेको ऋणसमेत फिर्ता आउँछ भन्दै प्रहरी कार्यालयमै लगिएको मेरै आँखाले देखेको हो । गर्न त के पो बाँकी छ र ?

शैक्षिक योग्यताका बारेमा

अनि अर्को अचम्म, म एसएलसी पास नगरी ठूलो पत्रकार भएर हिँडेको मान्छे रे म । मलाइ  पत्रकार भएकाेमा कहिल्यै दम्भ भएन । मलाइ चिन्ने बुझ्नेहरूले भनिहाल्छन् । मपाइँ गर्नै पर्दैन । अचम्म लाग्छ, मेरो शैक्षिक योग्यताबारे नवराज पहाडीले प्रश्न गर्ने ? यो त जस्तो आफू त्यस्तै च्यापु भनेजस्तै भएन र ?  तिम्राे शैक्षिक याेग्यता कति छ मलाइ थाह छैन चासाे पनि छैन, तर विश्वस्त छु, तिम्राे भन्दा माथिल्लो शैक्षिक योग्यता छ मेरो । कुनै छापाखानाकाे छाप लगाएकाे पर्चा राखेर प्रशासनमा पत्रिका दर्ता गरेकाे छैन मैले । योग्यता नभै प्रशासनले पत्रिकाकाे सम्पादक हुन दिँदैन पक्कै । अनि विना एसएलसी पत्रिकाको सम्पादक भएको भए मलाई नवराज पहाडीले उहिल्यै लेखेटेर डाँडो कटाइसकेका हुन्थे । 

ब्याज खाए नखाएकाे बारे

ठाडोभाका लोककला प्रतिष्ठानको रकम कालिका सहकारीमा आफ्नै नाममा जम्मा गरेको पहाडीले नै स्वीकार गरेको कुरो हो । अब रकम जम्मा गरेको भए ब्याज पक्कै आयो होला । त्यसबापत ब्याज आएको रकम त्यो संस्थामा कति दाखिला गरेका छन् ? कहिले गरेका छन् ? गरेका भए उनले संस्थाको पैसाको ब्याज नखाएको पुष्टि होला होइन भने ठाडोभाकाको समितिमा रहनेहरुले जसो गर्लान्, त्यो मेरो सरोकारको विषय भएन । उनले पटक पटक कालिका सहकारीमा ठाडोभाकाको पैसा राखेको र शेयरसमेत हालेको कुरा स्वयं स्वीकार गरेकै कुरो हो । ठाडोभाका प्रतिष्ठानको पैसा कहाँ राख्ने भनेर समितिले निणर्य गरेको पनि त होला, अनि कालिका सहकारीमा शेयर राख्ने निर्णय पनि गरेको भएरै त्यसो भनिएको होला । जहाँसम्म अक्षयकोषको रकमको कुरा छ, त्यो अक्षयकोषका लागि अध्यक्षले गोजीको पैसा पक्कै लगानी गरेको होइनन् होला । कहाँबाट के कति रकम चन्दा, दान आयो, आएको रकम कहाँ कहाँ के केसरी खर्च भयो, कति जम्मा भयो भन्ने कुरा कोषाध्यक्षले लिपिवद्ध गरेकै होलान्, समयक्रमसंगै उजागर होला नै ।

आङ कन्याएर छाराे उडाउने भनेकाे यही हाे 

अनि अर्को कुरा, मैले पैसा सापटी दिएको र उनले नतिरेको कुरा किन लाजै पचाएर बाराम्बार मिडियामा बहसमा ल्याउनु परेको होला ? यो नितान्त ब्यक्तिगत कुरो भए पनि उनैले उक्काएपछि लेख्न बाध्य भए । उनले सहकारी एकीकरण नहुँदै साविक सम्पदा सहकारीमा राखेको शेयरको भरपाइ मैले कसरी गर्नुपर्ने हो ? त्यो शेयर फिर्ता नपाइ मेरो सापटी फिर्ता गर्न उनको नैतिकताले दिँदैन रे । यस्तो कुरा त नैतिकता नहुनेले भन्ने कुरो पो हो । नैतिकवान, कर्मठ ब्यक्तिले त्यसो भन्न सुहाउने हो त ? लाज नपचाउन मेरो आग्रह छ, यसबाट आफ्नैमात्र बदनामी हुन्छ, आङ कन्याएर छाराे उडाउने भनेकाे यही हाे ।

र अन्त्यमा

अरुले तपाइँ भनोस नभनोस् आफै मपाइँ भनेझैं कसैले पनि आफ्नो प्रशंसा आफै गर्ने हो र ? उनी कति पानीमा छन् ? कस्तो पत्रकारिता गर्छन् ? कसलाई थाह छैन र ? उनको इतिहास के हो ? पत्रकार हुनु अघि के गर्थे ? पत्रकार भएपछि के गरिरहेछन् ? कसरी दोस्रो र तेस्रो विहे गरे ? कसरी बेसीशहरमा घडेरी किने ? बेसीशहरमा किन निर्घात कुटिए ? कुट्नेहरुले नै बेसीशहर बजार परिक्रमा कसरी गराए (त्यतिबेला लेखिएका समाचार र फोटोहरु अझै सुरक्षित छन्) ? घर बेचेर छोडेर काठमाडौं किन गए ? कांग्रेस, राप्रपा हुँदै अहिले रास्वपामा किन प्रवेश गरे ? बुझ्नेले बुझेका छैनन् र ?  कसैले नजानेको पत्रकारिता गर्न माहिर उनी कसरी रिसइवी साँध्न सञ्चारमाध्यमको गलत प्रयोग गरिरहेका छन् ? परिआए चोरलाई साधु र साधुलाई चोर बनाउन सक्ने उनको पत्रकारिताको बारेमा अरु धेरै कुरा बाहिर आउन बाँकी नै छन् । विस्तारौ लेखौंला । कसैले पूर्वाग्रह साँधेर तथ्यलाई तोडमरोड गरी भ्रमको खेती गर्दैमा सत्य डग्दैन, सत्यका पक्षपातीहरु विचलित हुँदैनन् ।  गुन लगाउनेप्रति कृतज्ञ बन्नुको सट्टा कृतघ्न बन्ने र समाजमा आफ्नो ऐना नहेरी आफै राम्रो र नैतिकवान हूँ भन्ने र त्यही भ्रममा रमाउने अनि मन नपरेकाहरु सबैलाई नराम्रो देख्ने धृष्टता कसैले नगरे हुन्छ ।

प्रतिक्रिया