निर्माण नसकिँदै जीर्ण बन्दै लमजुङ दरबार र कालिका मन्दिर, निर्माण गुणस्तरमाथि प्रश्न

मिलन शर्मा दनाई

बेसीशहर । दुइबर्ष अघि पुननिर्माण शुरु भएर पनि निर्माण कार्य पूरा हुन नसकेकाे ऐतिहासिक लमजुङ दरबार र कालिका मन्दिर निर्माण पूरा नहुँदै जीर्ण बन्न थालेको छ ।

घर होस वा दरबार जेसुकै निर्माण गर्दा समेत लामाे झरीमा भिज्न दिन हुँदैन । लामो समयसम्म पानीले भिजाउँदा निर्माण हुँदै गरेको गाह्रो कमजोर हुने, झ्याल ठोकाका खापा विग्रने भई भवन कच्ची हुन्छ । तर निर्माणाधीन लमजुङ दरबारले भने लगातार दुई बर्षाको पानी झेलिसक्दा समेत निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।

पुरातत्व विभागले यो दरबारको पुननिर्माण गराएको हो । भौतिक रुपमा क्षतिग्रस्त नभए पनि स्वरूप नबिगारी नयाँ दरबार बनाउने विभागको नीति रहे अनुसार यो दरबार समेत सग्लो हुँदा हुँदै पुननिर्माण थालिएको हो । तर विभागले स्वरुपलाई नबिगारे पनि पुरानाे भन्दा फरक तरिकाले यो दरबार र मन्दिर बनाउँदै छ । पुरानो दरबार र मन्दिरकाे भूइँ तलामा आधा गाह्रो ढुंगाको रहेकामा अहिले पुननिर्माण गर्दा पुरै ईटाको गाह्राे लगाइएको छ । त्यसमा पनि सरकारले पुननिर्माणका लागि पर्यप्त बजेट नदिँदा काम शुरु भएको दुई बर्ष वित्दा समेत निर्माणाधीन दरबार र कालिका मन्दिरको काम पूरा हुन सकेको छैन । आगामी आर्थिक बर्षमा पुरै बजेट पाए मात्र निर्माण कार्य सकिने अवस्था छ ।


                                                                                         गतबर्षकाे असार साउनमा दरबारकाे अवस्था यस्ताे थियाे

मन्दिर र दरबारको पुननिर्माण नसकिँदा सिंगो गाउँशहर नै बिरानो महशुस गरिएको छ । गाउँशहरमा घुम्न जाने आन्तरिक पर्यटकलाई मात्र होइन, दरबार र कालिका मन्दिर नहुँदा गाउँशहरकै रैथानेहरुले समेत खल्लो अनुभव गरिरहेका छन् । लमजुङको सानको रुपमा रहेको लमजुङ दरबार र लमजुङ कालिकाको मन्दिर पुननिर्माण थालिएको २ बर्षसम्म पनि नसकिँदा गाउँशहरको पर्यटन प्रबर्द्धनमा समेत असर पुगेको छ । अहिले अलपत्र जस्तो देखिने दरबर र मन्दिरको गाह्रोमा झार पलाउन थालेको छ । स्थानीय बासीन्दाहरु भन्छन्- “पहिलो पटक पुग्नेहरुले झट्ट हेर्दा दरबार र मन्दिरलाई खण्डहर जस्तो देख्छन् । धमाधम निर्माणको काम सम्पन्न नगरेर पुरातत्व विभागले यस्तो लापार्वाही किन गरेको होला ?”

स्थानीयका अनुसार मन्दिरमा प्रयाेग भएका काठहरू पनि गुणस्तरका छैनन् । टुक्रा टुक्रा जाेडेर काम चलाइएकाे छ । काँचाे काठ प्रयाेग गरिएका कारण सालका काठहरू चिरएका छन् । तीनै काठसमेत पानीले भिजेर मक्किन थालेकाे स्थानीयले बताए ।

लमजुङ कालिका मन्दिरको पुननिर्माणको काम पुरा नहुँदा कालिका भगवतीको पूजा अर्चनामा समेत बाधा पुगेको छ । अहिले मन्दिर भत्केपछि दरबार परिसरमै रहेको सुसारे घरमा मन्दिरका मूर्ति, हतियार, पूजा सामग्रीहरु राखिएको छ । सर्वसाधारणको सहजताका लागि सोही भवनको आडमा बाहिरै कालिकाको मूर्ति स्थापना गरिएको छ । तर भवनमा अस्थायी प्रहरी पोष्ट गाउँशहर, बेसीशहर वडा नं. ३ को वडा कार्यालयसमेत राखिएको हुँदा पूजा अर्चनामा बाधा पुगेको मन्दिरका पुजारीहरु बताउँछन् ।

“हामीलाई त घर भत्केर गोठमा पूजा गरेजस्तो भएको छ ।” मन्दिरका पुजारी सोमराज बरालले भने- भगवानको बासस्थान मिलेको छैन । पहिलो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वती र ब्रह्मा, विष्णु, महेश्वरको मूर्तिसहित दशैंकोठा, कैलाशघर बत्ती सार्ने स्थान छुट्टा छुट्टै कोठामा हुन्थ्यो । तर अहिले स्थान अभावले एकै कोठामा पर्दा लगाएर काम चलाउनु परेको छ । मन्दिरका मूर्ति, तोप, खुँडा, तरबार, खुकुरी लगायतका पुरातात्विक हातहतियारहरु खातमाथि खात गरेर अब्यवस्थित रुपमा राखिएको छ । पुजारी, सुसारेहरु बसेर पूजा गर्न नपाउँदा हामीलाई नै नमज्जा लागि रहेको छ । डेरा गरेर बसेजस्तो साँघुरोमा पूजा चलाउँदा निकै अप्ठेरो भएको छ ।”

पुजारी बरालका अनुसार पुरातत्व विभागले संग्राहलयको रुपमा राख्ने गरी आवास घरको निर्माण गरिदिएको हो ।  मूल पुरोहित सहित बराल, आले राना, बोहोरा पुजारीहरुका लागि छुट्टा छुट्टै कोठा र खाने बस्ने ब्यवस्था छ । तर सोही भवनमा वडा कार्यालय र प्रहरी बसिदिँदा र मन्दिर र दरबारका समेत सामाग्रीहरु राखिँदा पुजारीहरुलाई अप्ठेरो परेको छ । कालरात्री तथा चैतेदशैंको पूजा दरबारको पटांगिनीमा हुने गरे पनि मन्दिरमा यज्ञ गर्न र कालिका भगवतीलाई सुनाएर पाठ गर्नुपर्र्ने वेद, चण्डी पाठ बाहिर बसेर गर्न बाध्य हुनु परेको पुजारी बरालले बताए ।

पुननिर्माण नसकिँदा गएको बडादशैं र चैतेदशैंमा समेत भक्तजनहरुले खल्लो महशुस गरे । दरबार र मन्दिर निर्माणाधीन रहेकाले पूजा अर्चना समेत राम्ररी गर्न नपाएको गुनासो भक्तजनहरुको छ । अहिले करीब पुननिर्माणको ६० प्रतिशत काम सकिएको बेसीशहर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष चित्र बहादुर दनाईले बताए । “यो पुरातत्व विभागको काम हो, हामीले बोल्ने ठाउँ छैन । यद्यपी छिटो भन्दा छिटो पुननिर्माणको काम सक्न हाम्रो तर्फबाट  दिनुपर्ने दबाब दिइरहेका छौं ।”-वडाध्यक्ष दनाईले भने ।

पुरातत्व बिभागले लमजुङ दरबार पुननिर्माणका लागि अहिलेसम्म दुई चरणमा ठेक्का दिएकोमा पहिलो बर्षको ठेक्कामा मन्दिर भत्काउने, दरबार र मन्दिरको जगदेखि पहिलो तलासम्मको काम गरिएको छ । दोस्रो बर्ष दोस्रो ठेक्का लगाएर दोस्रो तलाको गाह्रो र झ्याल ढोका राख्ने काम गरिए पनि मन्दिर र दरबारको गाह्रोको काम सकेर छाउने काम भने अर्को बर्षको बजेटबाट गरिने बताइएको छ ।

ऐतिहासिक लमजुङ दरबार र कालिका मन्दिरको पुनः निर्माणका लागि यसपटक भने भक्तपुरे चिल्लो ईटा प्रयोग गरिएको छ । यस अघि खस्रो ईटा प्रयोग गरिन्थ्यो । पहिलो तलाको आधा गाह्रो यस अघि ढुंगाको लगाई माथि मात्र ईटाको हुने गरेकोमा यसपटक भने पुरै ईटाको गाह्रो लगाइएको छ । इटा जडानका लागि मास, पाकेको ईटाको धुलो र चुना मिसाइएको सुर्कीचुना प्रयोग गरिएको छ । 

१६ औं सताब्दीमा तत्कालीन लमजुङे राजा यशोब्रह्म शाहले निर्माण गरेको लमजुङ दरबार रहेको गाउँशहर नेपालको जिउँदो इतिहास हो । शाहबंशको उद्गमथलो यही गाउँशहरबाट नेपाल एकीकरणको प्रादुर्भाव भएको मानिन्छ । यशोब्रह्म शाहकै कान्छा छोरा द्रब्य शाहले गोरखा राज्यमाथि विजय पाएपछि नेपाल एकीकरणको शुरुवात भएको थियो ।

धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको लमजुङ दरबार र कालिका मन्दिर बेँसीसहर नगरपालिकाको वडा नं. ३ मा पर्छ । यो ठाउँ पर्यटकीय महत्वको पनि ठाउँ हो । यहाँबाट अन्नपूर्ण एवं मनासुलु हिमश्रृंखलाका प्राय सबै चुचुराहरु देख्न सकिन्छ । नागबेली परेर बगेको मस्र्याङदी, लमतन्न सुतेका फाँट, दर्जनौं हरियाली डाँडाकाँडाले त्यहाँ पुग्नेहरुको मन हरिदिन्छ । साँच्चैको स्वर्गमा पुगेको भान गराइदिन्छ ।

प्रतिक्रिया