बेसीशहर । खानेपानीको अभाव झेल्दै आएका बेसीशहरका उपभोक्तालाई बेसीशहर नगरपालिकाले दमकलबाट खानेपानी वितरण गरेको छ ।
बेसीशहर बजरका उपभोक्तालाई नगरपालिकाले दमकलबाट खानेपानी वितरण गरेको हो । बेसीशहरको शेराबजारलगायतका टोलमा बेसीशहर नगरपालिकाको दमकलले शुक्रबार दिउसो खानेपानी वितरण गरेको हो ।
बेसीशहरमा दुईदिनदेखि खानेपानी आपूर्तिमा समस्या भइरहेको छ । मंगलबार र बुधवारको बर्षाले बेसीशहरमा ल्याइएको भाचोकखोला सहलगानी खानेपान खानेपानी योजना, डुँडखोला, लप्लेखोला खानेपानी योजनाको मुहानमा क्षति पु¥याएपछि बेसीशहरमा खानेपानी आपूर्ति हुनसकेको थिएन ।
यो समाचार तयार पार्दासम्म बेसीशहरका उपभोक्ताको धारमा उपभोक्ता समितिद्वारा वितरित खानेपानी खस्न थालिसकेको छ । क्षतिग्रस्त खानेपानी मुहानको बिहीबार दिनभर र शुक्रबार बिहान मर्मत गरीसकिएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले जानकारी दिए ।
खानेपानी अभावमा बेसीशहरका उपभोक्ता विभिन्न कुवा, पँधेरामा खानेपानी भर्न पुग्ने गरेका छन् । गैरीधारा, सित्तलपाटी, तीनधारे, मूलपानी र रानीकुवामा बिहान बेलुका पानी भर्नेहरुको भीड लाग्ने गरेको छ ।