पोखरा, चैत २१ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका छन् ।
गण्डकीमा नेपाली कांग्रेस संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री भएका पाण्डे नेतृत्वको सरकारलाई गत फागुन २३ गते माओवादी केन्द्रले दिएको समर्थ फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेलाई चैत २२ भित्र विश्वासको मत लिन वा राजीनामा दिने विकल्प थियो ।
प्रदेश सभाले विश्वासको मत दिने अवस्था नभएपछि उनले राजीनामा दिएका हुन् ।
गण्डकी प्रदेश सभामा कुनै पनि दलसंग बहुमत छैन । ६० सदस्यीय प्रदेश सभामा ठूलो दलको रुपमा रहेको नेपाली कांग्रेससंग २७ सिट छ । नेकपा एमालेको २२, सभामुखसहित नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एक स्वतन्त्र सांसद छन् ।
पाण्डेले विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएर मार्ग प्रशस्त गरेको भने पनि उनको भित्री आकांक्षा भने ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री बन्ने छ । राप्रपाले सत्तारोहणका चासो दिएको छैन । राप्रपाले यही चैत २७ अघि कुनै पनि सरकारमा सामेल नहुने बताएको र तत्काल बहुमतको अर्को सरकार गठन हुन नसक्ने अवस्था रहेकाले ठूलो दलको हैसियतमा पुनः सरकार बनाउने जिम्मा कांग्रेसले पाउने छ ।
अब पुनः बन्ने सरकारले १ महिनाभित्र विश्वासको मत लिनुपर्छ । धेरै नभए पनि पाण्डेले थप १ महिना पुनः मुख्यमन्त्री हुन पाउने छन् ।