बेसीशहर, पुस २६ । लमजुङकाे बेसीशहरमा रहेकाे मर्स्याङदी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाइ बर्खास्त गर्ने क्याम्पस सञ्चालक समितिकाे निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाेखराले आदेश दिएकाे छ ।
साे क्याम्पसका प्रमुख हरिबाबु थापालाइ सहकारी ठगी मुद्दामा जिल्ला अदालत लमजुङमा मुद्दा दायर भइ थापा ७ लाख रूपैयाँ धराैटीमा रिहा भएपछि क्याम्पस सञ्चालक समितिले गत पुस १८ गते बर्खास्त गर्ने निर्णय गर्नुका साथै सहप्राध्यापक शालिग्राम अधिकारीलाइ नयाँ क्याम्पस प्रमुखकाे रूपमा चयन गरेकाे थियाे ।
याे निर्णय विरूद्ध थापाले उच्च अदालत पाेखरामा रिट हालेका थिए । रिटकाे सुनुवाइ गर्दै उच्च अदालत पाेखराले सञ्चालक समितिलाइ उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन बिहीबार अन्तरिम आदेश जारी गरेकाे हाे । उच्च अदालतका न्यायाधीश मिलन कुमार राइकाे इजलासले निवेदककाे माग बमाेजिमकाे आदेश जारी गर्न नपर्ने कानुनसम्मत आधार र कारण भए १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएकाे छ ।
उच्च अदालतले आउँदाे माघ ४ गते दुवै पक्षलाइ अन्तरिम आदेश छलफलकाे लागि उपस्थित हुन र क्याम्पस प्रमुखबाट थापालाइ बर्खास्त गर्न गरिएकाे निर्णयकाे माइन्युट इजलासमा पेश गर्न आदेश गरेकाे छ ।

त्रिवि नियमावली र क्याम्पसको विधान अनुसार फौजदारी अभियोग लागेका व्यक्तिलाई क्याम्पस प्रमुख राख्न नसकिने प्रावधान रहेकाले प्रमुख थापालाई बर्खास्त गरि अधिकारीलाइ क्याम्पस प्रमुखमा नियुक्त गरिएकाे क्याम्पस सञ्चालक समितिले बताएकाे थियाे ।
सहकारी ऐन ०७४ अन्तर्गतकाे कसुर र ठगि मुद्दामा क्याम्पस प्रमुख थापालाइ प्रहरीले गत मंसिर १७ गते पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे । लमजुङ जिल्ला अदालतले उनीसंग ७ लाख रूपैयाँ धराैटी माग गरेकाेमा उक्त धराैटी बुझाएर उनी पुस ५ गत रिहा भएका थिए ।
क्याम्पस सञ्चालक समितिले त्रिवि नियमावली र क्याम्पसको विधान २०४७ को परिच्छेद ६ को दफा ६.२ (ङ) अनुसार फौजदारी अभियोग लागेको व्यक्तिलाइ क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले स्वीकार गर्न नसकि अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म थापालाइ क्याम्पस प्रमुख पदबाट बर्खास्त गरिएको ब्यहाेराकाे सूचना पुस १८ गते जारी गरेकाे थियाे ।
साेही सूचनामा क्याम्पसले क्याम्पसको विधान २०४७ को परिच्छेद ६ को दफा ६.१ (क) अनुसार क्याम्पस प्रमुखमा सहप्राध्यापक शालीग्राम अधिकारीलाइ नियुक्त गरिएकाे जानकारी गराएकाे थियाे ।
गत असाेज १० गते उक्त क्याम्पसकाे प्रमुखमा हरिबाबु थापालाइ नियुक्त गरिएकाे थियाे । क्याम्पस प्रमुखका लागि थापा र सहायक क्याम्पस प्रमुख पदम राउतकाेकाे उमेदवारी परेपछि क्याम्पस सञ्चालक समितिले निर्वाचन गराएकाे थियाे । निर्वाचनमा थापा बिजयी भएपछि क्याम्पस सञ्चालक समितिले थापालाइ नै प्रमुख नियुक्त गरेकाे थियाे । निर्वाचन प्रकृिया र समितिकाे निर्णयमा चित्त नबुझेपछि राउतले उच्च अदालतमा रिट दर्ता गराएका थिए । उक्त रिटकाे सम्बाेधन गर्दै उच्च अदालतले असाेज १६ गते थापालाइ नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे थियाे ।
तर मंसिर ६ गते भने उच्च अदालते राउतकाे रिट नै खारेज गरिदिए पछि थापाले नै क्याम्पस प्रमुखकाे रूपमा कामकाज गर्दै आएका थिए ।
याे पनि पढ्नुस् ।