उत्पादन लागत घटाउन किसानहरूलाइ अनुदानमा मल्टिक्रप थ्रेसर वितरण

खबरकुञ्ज

बेसीशहर, असार ३ गते । कोदो खेतीको अथाह सम्भावना हुँदाहुँदै पनि अत्याधिक लागतका कारण किसानहरु यसको खेतीमा निरुत्साहित भइरहेको सन्दर्भमा कोदो खेतीमा लागत कम गरी किसानहरुको आय आर्जनमा टेवा पुर्‍याउने उद्देश्यले बेसीशहर नगरपालिकाले किसानहरुलाई अनुदानमा मल्टिक्रम थ्रेसर मेसिन उपलब्ध गराएको छ ।

बेसीशहर नगरपालिकाको कृषि विकास शाखाले नगर क्षेत्रका बिभिन्न स्थानका ५ वछटा कृषक समूहलाई प्रति समूह एक मेसिनका दरले ७४ हजार रुपैयाँ मूल्य बराबरेको मल्टिक्रम थ्रेसर मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । 

कृषि शाखाले वडा नंं १० को गाउँभाचोक र पांग्रेक्यू, वडा नंं ४ को पुरानोकोट, ५ को नाल्मा र ६ को पुमागाउँका एक एक कृषक समूहलाई यो मेसिन अनुदानमा वितरण गरेको कृषि विकास शाखाका नायव प्राविधिक सहायक मिलन श्रेष्ठले जानकारी दिए । कोदोबाली रोप्न खासै समस्या नभए पनि पाकेपछि बाला टिपेर चुट्न धेरै दुःख गर्नुपर्छ । कोदोको बाला टिपेर गुम्साउने र सुकाएर पटक पटक चुटेर पनि त्यसलाई फलेपछि मात्र कोदोको दाना प्रयोगमा आउँछ । यति धेरै दुःख गर्नुपर्ने भएकाले किसानहरुले कोदो रोप्नै छोडेपछि किसानलाई राहत दिन मल्टिथ्रेसर मेसिन उपलब्ध गराइएको र यसबाट कोदो खेतीतर्फ किसानहरु आकर्षित हुने अपेक्षा गरिएको नाप्रास श्रेष्ठले बताए । 

उक्त मेसिनमा धान र गहूँसमेत चुट्न मिल्ने श्रेष्ठले बताए । मेसिनमा धानको मुठाको बाला राखिदिए पछि भुस र धानलाई छुट्याएर निकाल्छ । यसरी निकालेको धान बत्ताउन समेत पर्दैन । यो मेसिनमा धान चुट्दा ठूलो थ्रेसरले जस्तो पराल भने बनाउँदैन । यो मेसिनमा गहूँ समेत धान र कोदो राखे जस्तै राखेपछि गहूँको दाना एकातिर र भुस अर्कोतिर निकाल्छ ।


किसानलाई अनुदानमा वितरण गरिएको उक्त मेसिन विद्युतबाट चल्छ । यसमा कोदोको बाला राखेपछि कोदोको दाना र भुष छुट्याएर निकाल्छ । यसबाट किसानको समय र लागत दुवैको बचत हुने उनले बताए । उनका अनुसार उक्त मेसिनका लागि कृषि विकास शाखाले १५ दिने सूचना प्रकाशित गरेकोमा नगरभित्रका विभिन्न ६ वटा समूहले निवेदन दिएका थिए । तीमध्ये ५ वटा समूहलाई छनोट गरिएको हो ।

बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आईतबार एक समारोहबीच कृषक समूहका प्रतिनिधिलाई उक्त मेसिन हस्तान्तरण गरेका छन् । सो अवसरमा मेयर अर्यालले नगरपालिका र कृषक समूहको लागत साझेदारी कार्यक्रम अन्तर्गत वितरित उक्त मेसिनबाट किसानहरुको उत्पादन लागत कम पर्ने र खेतीपातीमा किसानहरु आकर्षित हुने विश्वास ब्यक्त गरे । उनले शत प्रतिशत अनुदान दिँदा किसानहरुले उपकरणहरुको सही सदुपयोग र मर्मत सम्भार नगर्ने गरिएको भन्दै प्राप्त अनुदानको सही उपयोग गरी आर्थिक उन्नतिमा लाग्न अनुरोध गरे । उनले यस्ता उपकरणबाट किसानको समय र पैसाको समेत बचत हुने भएकाले थप उत्पादनमा लाग्न अनुरोध गरे ।

प्रतिक्रिया