बेसीशहर खानेपानीमा त्रिपक्षीय भिडन्त पक्का, रास्वपाकाे प्रवेशले गठबन्धन गर्न बाध्य भए कांग्रेस एमाले

मिलन शर्मा दनाई

बेसीशहर, असार ४ गते । लमजुङको सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न अधिवेशनमा स्वतन्त्र समूहको उमेदवारीले कांग्रेस र एमाले नेतृत्वमा भूँयचालो गएको अनुभव गरिएको छ ।

बेसीशहर खानेपानीको गुणस्तर सुधार र दुषित राजनीतिक मनोमानीका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध केही युवा  र स्वतन्त्र नागरिकहरुको समूहले स्वतस्फूर्त रुपमा उमेदवारी घोषणा गरेपछि दबाबमा परेका नेपाली कांग्रेस र नेकपा एमालेले अन्ततः समितिको निर्वाचत आफ्नो पक्षमा पार्न गठबन्धन गर्न बाध्य हुनु परेपछि यस्तो अनुभव गरिएको हो ।

स्वतन्त्र समूहले विष्णु घिमिरेलाई अध्यक्ष, सविता अधिकारी बराललाई उपाध्यक्ष, श्याम अर्याललाई सचिव, मीना खड्कालाई कोषाध्यक्ष, खुला सदस्यहरुमा दिपेश श्रेष्ठ (दिपु), भक्तबहादुर अधिकारी, विष्णु सुयल, अहलदिन मिया, महिला सदस्यमा भीममाया तामाङ गुरुङ र रत्नकुमारी गुरुङ तथा दलित सदस्यमा केशब दुलाललाई उमेदवार बनाएको छ । 

यो समूह संगठित भएर बेसीशहर खानेपानीभित्र भएका राजनीतिक मनोमानी विरुद्ध आक्रामक रुपमा प्रचार प्रसारमा जुटेपछि र खानेपानीको सुधारको नारा ल्याएपछि बेसीशहर उनीहरुकै पक्षमा माहोल बनेको हो कि भन्ने आभास हुन थालेको बेला नेपाली कांग्रेस र नेकपा एमालेले समेत खानेपानीको निर्वाचत आफ्नो पक्षमा पार्न छुट्टा छुट्टै गठबन्धन बनाउन बाध्य भएका हुन् ।

यस अघि यी दुवै दलले एक्ला एक्लै निर्वाचन लडेका थिए । कांग्रेस र एमालेबीच खानेपानीमा हुने निर्वाचनले बेसीशहरमा जनमत संग्रहकै आभाष दिलाउने गरेकोमा अहिले दुवै पार्टी खानेपानीको निर्वाचनमा समेत एक्लै निर्वाचन लड्न नसक्ने अवस्था सिर्जना हुनुले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवेशलाई अर्थपूर्ण बनाइदिएको छ ।

बेसीशहर खानेपानीमा बर्चस्व बनाउँदै आएको नेपाली कांग्रेसले यसपाली राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन गरेको छ । त्यस्तै नेकपा एमालेले नेकपा माओवादी केन्द्रसंग गठबन्धन गर्न पुगेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा हालको समितिका उपाध्यक्ष लोकेन्द्र गुरुङ अध्यक्षको प्रत्यासी छन् ।  उपाध्यक्षमा आश कुमारी गुरुङ, सचिवमा चन्द्रकान्त पौेल, कोषाध्यक्षमा भगवान पिया, महिला सदस्यमा अतिरुपा सेढाईँ र अपना खनाल,दलित सदस्यमा गणेश कामी, खुला सदस्यमा टिकाराम वाग्ले, लोठबहादुर गुरुङ, नरहरि पौडेल र अजित बहादुर अधिकारी प्रत्यासी छन् ।

त्यस्तै नेकपा एमालेले सार्वजनिक गरेको गठबन्धनमा अध्यक्षमा रामबहादुर गुरुङ, उपाध्यक्षमा श्रद्धा पौडेल, सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ, खुला सदस्इमा विनोद तामाङ, शान्ति बहादुर बस्नेत, भिमसेन अधिकारी, राजन पौडेल, महिला सदस्यमा युक्मी गुरुङ, सविना रिमाल र दलित सदस्यमा गोपाल परियार उमेदवार छन् ।

बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन १० बर्षपछि यही असार ७ र ८ गते हुन लागेको छ । यो उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशन हो । २०७१ माघमा चौथो अधिवेशन भएपछि समितिको अर्को अधिवेशन भएको छैन ।

बेसीशहर खानेपानी उपभोक्ता समितिमा नेपाली कांग्रेसले तीन कार्यकाल, राप्रपाले एक कार्यकाल र नेकपा एमालेले एक कार्यकाल नेतृत्व सम्हालेका छन् । २०५२ सालमा नेपाली कांग्रेसबाट रणबहादुर अधिकारीले उपभोक्ता समितिको संस्थापक अध्यक्ष रही काम गरेका थिए । दोस्रो कार्यकाल राप्रपाका हेमजंग गुरुङ, तेस्रो कार्यकालमा नेकपा एमालेबाट बामदेव अधिकारीले समितिको नेतृत्व गरे । चौथो कार्यकाल कांग्रेसबाट कृष्ण बहादुर अधिकारीले २०७१ माघसम्म उपभोक्ता समितिको नेतृत्व गरे । २०७१ माघदेखि कांग्रेसबाटै कृष्णकुमार प्रधानले हालसम्म समितिको नेतृत्व गर्दै आएका छन् । 

समितिको कार्यकाल ४ बर्षको हुने ब्यवस्था छ । प्रधानको कार्यकाल २०७५ मै सकिए पनि कोरोना महामारी र स्थानीय निर्वाचनलाई कारण देखाएर कहिले प्रशासन त कहिले बेसीशहर नगरपालिकाले अधिवेशन गर्न नदिने र त्यसपछि समिति आफैले अधिवेशन गर्न नसकेपछि अहिले बल्ल १० बषपछि उपभोक्ता समितिको अधिवेशन हुँदै छ ।

यही असार ७ र ८ गते हुने अधिवेशनका लागि समितिले निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । 

निर्वाचनको कार्यतालिका आउनु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टी निकट र खानेपानीमा दलीय राजनीति हावी हुन हुँदैन भन्ने सोचका स्वतन्त्र युवाहरुले संयुक्त उमेदवारी घोषणा गरेपछि नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बलमा खानेपानीको निर्वाचनमा होमिनुले उनीहरुको शक्ति क्षीण भएको बिश्लेषण हुन थालेकाे छ ।

प्रतिक्रिया