विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश, शिक्षक हुन कम्तीमा स्नातक उत्तीर्ण हुनै पर्ने

काठमाडौं । शिक्षक हुने चाहना छ ? स्नातक हुनुहुन्न ? त्यसाे भए तपाइँकाे शिक्षक हुने चाहना अब अधुरै हुन सक्छ । किनकी सरकारले शिक्षक बन्नका लागि कम्तीमा पनि स्नातक तह उतीर्ण हुनैपर्ने प्रस्ताव गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयक बुधवार संघीय संसदमा पेश भएकाे छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले याे विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । विधेयकमा  शिक्षकको न्यूनतम योग्यता स्नातक उतीर्ण तोकिएको छ । हाल प्राथमिक तहको शिक्षकका लागि कक्षा १२ उतीर्ण भए पुग्ने व्यवस्था रहेकाेमा प्रस्तावित बिधेयकमा याे प्राबधान हटाइएकाे छ ।

अहिले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी तीन तहको शिक्षकको व्यवस्था गरिएकाेमा नयाँ विधेयकमा आधारभूत र माध्यमिक गरी दुई तहका शिक्षककाे मात्र ब्यवस्था गरिएकाे छ । माध्यमिक तहका लागि स्नातकाेत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने ब्यवस्था गर्न लागिएकाे छ ।

नयाँ बिधेयकमा कक्षा १ देखि ५ सम्म अध्यापन गर्ने शिक्षकलाई साधारण र कक्षा ६ देखि ८ सम्म अध्यापन गर्ने शिक्षकलाई विषयगत शिक्षक मानिएको छ । नयाँ बिधेयक अनुसार आधारभूत तहको शिक्षकका लागि जुनसुकै विषयमा स्नातक गरेकाे भए हुन्छ। विषयगत शिक्षकका लागि भने सम्बन्धित विषयमा नै स्नातक गरेकाे हुनुपर्छ ।श यसबाहेक शिक्षक हुनका लागि अध्ययन अनुमतिपत्रसमेत अनिबार्य छ ।

प्रतिक्रिया