बेसीशहर । लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. १ नायूँकी ३० बर्षिया प्रेमकुमारी गुरुङ मुटुको बिरामी हुन् । ८ बर्षअघि एउटी छोरी जन्माएको लगत्तै तीन हप्तापछि उनलाई मुटुको समस्या “कार्डियोमायपेथी” देखा पर्यो । जाँच गर्दा डाक्टरले उनलाई मुटुमा समस्या रहेको भन्दै अर्कोपटक सन्तान नजन्माउने सल्लाह दिए । प्रसब पीडाले उनको मुटुमा थप समस्या आउने भएकाले उनको ज्यान जोगाउन डाक्टरले यस्तो सल्लाह दिएका थिए ।
प्रेमकुमारीका श्रीमान् वैदेशिक रोजगारीमा छन् । डाक्टरको सल्लाह बमोजिम उनीहरुले अर्को सन्तान नजन्माउने योजना बनाए । ८ बर्षसम्म अर्को सन्तान भएन पनि । तर अचम्म पछिल्लो पटक प्रेमकुमारी दोस्रो पटक गर्भवती भइन् । गर्भ रहेको थाह पाएपछि दुवै श्रीमान श्रीमती दोधारमा परे । गर्भपतन गरौं भने गर्भको शिशुलाई गुमाउनु पर्ने, नगरौं श्रीमतीको ज्यानै जान सक्ने भयले उनका श्रीमान् गंगाकुमार गुरुङलाई छटपटी शुरु भयो । दुवैजना बुढाबुढीले भगवानको भरोसामा गर्भमा रहेको शिशुलाई स्वागत गर्ने निधो गरे ।
जति जति महिना बढ्दै जान्थ्यो, प्रेमकुमारीको डर बढ्दै जान्थ्यो । उनलाई पहिलो पटक सुत्केरी हुँदा भएको असह्य पीडाको याद आउँथ्यो, डाक्टरले दोस्रो सन्तान नजन्माउन दिएको सल्लाहले दुबै बुढाबुढीको चिन्ता बढ्थ्यो । प्रसब पीडा सम्झेर प्रेमकुमारी रुन्थिन्, श्रीमान् गंगाले ढाडस दिन्थे ।

यस्तै हुँदैमा सुत्केरी हुने दिन नजिकिँदै गयो । दुवै जना गर्भ जँचाउन जिल्ला अस्पताल आए । अस्पतालमा गर्भपरीक्षण हुँदा सबै कुरा राम्रै थियो । यसअघि बेसीशहरकै एक क्लिनिकमा चितवन मेडिकल कलेजका डाक्टरसंग पनि उनीहरुले परामर्श लिएका थिए । प्रेमकुमारीको मुटुको रोग र डाक्टरको सल्लाहले उनीहरु ढुक्क भने थिएनन् । कसरी सकुशल बच्चालाई जन्माउने भन्ने चिन्तामा रहेका उनीहरु गएको साता शनिबार बेसीशहरबाट गण्डकी अस्पताल पोखरामा गए । पोखरामा जाँच गर्दा गर्भको शिशुको अवस्था ठीकै थियो । तर अस्पतालको भिडभाड, घण्टौंसम्म पालो कुर्नु पर्ने भएकाले उनीहरु अघिल्लो शनिबार पुनः बेसीशहर फर्के ।
शुरुमा त गुरुङको जोडीले शल्यक्रिया गरेर बच्चा पाउने निधो गरेका थिए । तर उनको स्वास्थ्य अवस्थाले त्यसो गर्न पनि खतरामुक्त थिएन । शल्यक्रिया गर्नु अघि, गर्दा गर्दै र गरिसकेपछि पनि उनलाई कुनै पनि बेला समस्या आउन सक्थ्यो । यस अघि पनि उनको नर्मल डेलिभिरी भइसकेकाले डाक्टरहरुले उनलाई नर्मल डेलिभरिकै सल्लाह दिएका थिए ।
सौभाग्यबस जिल्ला अस्पताल लमजुङमा नयाँ आएकी प्रसुति रोग बिशेषज्ञ गोमा रिमालसंग गुरुङ दम्पतीकोे परामर्श भयो । गोमा यस अघि नेपालगञ्ज मेडिकल कलेजमा काम गरेर आएकी थिइन् । उनीसंगै उनका श्रीमान् एनेस्थेसियोलोजिष्ट शिशिर खड्का समेत उनीसंगै लमजुङ अस्पतालमा कार्यरत छन् । दुवैले गुरुङ दम्पतीसंग परामर्श गरि प्रेमकुमारीलाई पेनलेस डेलिभरी (प्रसव पीडा रहित सुत्केरी) को उपाय सुझाए । अप्रेसन गर्न पनि नमिल्ने भएकाले पेनलेस डेलिभरी गराउने एउटा उत्तम विकल्पबारे थाह पाएपछि उनीहरु पनि सहमत भए ।
“शुरुमा त डर लागेको थियो । पछि डाक्टरको कुरा सुनेर पीडारहीत सुत्केरी गराउन सहमत भयौ ।”–प्रेमकुमारीका श्रीमान गंगाले भने ।

डा गोमाले नेपालगञ्जमा थुप्रै पेनलेस डेलिभरी गराइसकेकी थिइन । जिल्ला अस्पतालमा उनी भर्खरै आएकी र अस्पतालमा यस अघि यस्तो सेवासमेत नभएकाले उनले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशप्रसाद आचार्यसंग परामर्श गरिन् । आचार्यले तुरुन्तै सहमति जनाइदिए र आबश्यक बन्दोवस्तीका सामानको ब्यवस्था गरिदिए ।
अस्पतालका मेसु डा. आचार्य, एनेस्थेसियोलोजिष्ट डा. खड्का र प्रसुति राेग बिशेषज्ञ डा. रिमालको सल्लाह अनुसार प्रेमकुमारीलाई पीडारहित सुत्केरी गराउने तयारी थालियो । प्रेमकुमारीलाई अस्पतालमा भर्ना गरियो । बिहीबार राती ३ बजेतिर उनलाई ब्यथा लगाउने औषधी दिइयो, शुक्रबार दिउसो २ बजेतिर उनलाई सुत्केरी ब्यथा शुरु भयो ।
डा. गोमा सुत्केरीको अवस्था नियाल्थिन, डा. शिशिर पेनलेस डेलिभरीका लागि प्रेमकुमारीको ढाडबाट नदुख्ने औषधी चलाइरहन्थे । नभन्दै सुत्केरी ब्यथा लागे पनि प्रेमकुमारीलाई पीडाको अनुभव खासै भएन, उनी सामान्य जस्तै थिइन् । उनका श्रीमान् गंगा भने कतै केही बिग्रने हो कि भनेर आत्तिएका थिए । तर श्रीमतिलाई सामान्य देखेपछि उनी पनि शान्त बसे । साढे पाँच घण्टाको ब्यथा पछि प्रेमकुमारीले दोस्रो पटक छोरी जन्माइन् । प्रसुति गराउन खटिएका डाक्टरलगायत सबै स्वास्थ्यकर्मीहरु निकै खुशी भए, सबै भन्दा बढी खुशी त गुरुङ दम्पती नै थिए । ठूलो संकट टरेको थियो । दिनरात कसरी सुत्केरी गराउने भन्ने चिन्तामा रहने उनीहरुलाई नबजात शिशुको चिच्याहटले एकाएक खुशी ल्याइदियो ।

लमजुङ अस्पतालमा पेनलेस डेलिभरिको यो पहिलो केस थियो । यस अघि काठमाडौं लगायत ठूला शहरमा मात्र उपलब्ध यो सेवा पहिलो पटक जिल्ला अस्पताल लमजुङमा पहिलो पटक दिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आचार्यले बताए । “दुखाई बिनाको प्रसुति सेवा सम्भबै हुँदैन, तर हामीले लमजुङ अस्पतालमा सम्भब बनायौ । हामी खुशी छौं, हामी भन्दा पनि सेवा लिनेहरुको खुशी देखेर बढी खुशी लागेको छ।”–डा आचार्यले भने ।
आमा बन्न पाउनु सौभाग्यको कुरा तर यो सामान्य कुरा होइन । आमा बन्ने क्रममा पीडा खप्न नसकेर कतिको ज्यानै जान्छ । सुत्केरी पीडा निकै कष्टपूर्ण हुन्छ ।
जिल्ला अस्पताल लमजुङका एनेस्थेसियोलोजिस्ट डा शिशिर खड्काका अनुसार ‘पेनलेस डेलिभरी’मा प्रसव पीडा सुरु भएपछि ढाडमा एउटा क्याथेटर राखेर त्यसबाट दुखाइ कम गर्ने औषधि दिइन्छ । यसलाई लेवर एनल्जेसिया भनिने उनले बताए । सुत्केरी ब्यथा लागेका महिलाले बच्चा नजन्माएसम्म अवस्था हेरेर लगातार दुखाई कम हुने औषधी दिइरहनु पर्छ । महिलाको इफोर्ट हेर्न अवस्था हेरेर केहीबेर औषधी रोक्न पनि सकिने उनले बताए । ‘प्रसव पीडा सहन नसक्ने र प्रेमकुमारीको जस्तै मुटुको समस्या भएका महिलालाई ‘पेनलेस डेलिभरी’ बरदान साबित हुने उनले बताए ।
लमजुङ अस्पतालकी स्त्रीरोग बिशेषज्ञ डा गोमा रिमाल भन्छिन्– “मुटुका विरामीलाई सुत्केरी हुँदा मुटुमा दबाब बढ्छ र यसले मुटुमा असर गर्छ । पेनलेस डेलिभरी गर्दा मुटुमा कम लोड हुने भएकाले प्रेमकुमारीको हकमा त्यसरी सुत्केरी गरायौं ।”
यस्ता बिरामीलाई मुटुको डाक्टरको रोहबरमा प्रसुति गराउनु पर्ने भए पनि यहाँ डाक्टर नभएकाले सबै कुरा आफैले म्यानेज गरेर सुत्केरी गराएको उनले बताइन् । पहिलो पटक जटिल अवस्थाका विरामीलाई नयाँ प्रविधिले सुत्केरी गराउनु पर्ने भएकाले उनले गुरुङलाई सुत्केरी गराउन ओपिडिमा कम बिरामी हुने शुक्रबारको दिन छनोट गरेकी थिइन् । अन्यत्र ध्यान दिन नपरोस भनेर सो दिन भर्ना गर्नै पर्ने अवस्थाका बाहेक अरु विरामी भर्ना नगरेको उनले बताइन् ।
डा रिमालका अनुसार ‘पेनलेस डेलिभरी’ गराउँदा गर्भवती आमालाई मात्र नभएर पेट भित्रको बच्चाको अबस्था समेत जाँचिराख्नु पर्ने भएकाले सोही अनुसारको टिम बनाएर प्रसुति गराउनु पर्छ । विकसित देशहरुमा ‘पेनलेस डेलिभरी’ गराउनेको संख्या धेरै भए पनि नेपालमा यसबारे थोरैलार्ई मात्र थाह भएको उनले बताइन् ।
अस्पतालले पहिलो पटक भए पनि यो सेवा निःशुल्क गरिदिएको हो । पहिलो प्रयास सफल भएपछि अरु यस्तै ५÷६ वटा केस गरिदिनुस् भनि आग्रह आएको डा. रिमालले बताइन् ।
सुत्केरी हुँदा ज्यानै जाने हो कि भन्ने चिन्तामा रहेका गुरुङ दम्पती अहिले निकै खुशी छन् । आमा र बच्चाको अबस्था राम्रो छ । जन्मदा बच्चाको तौल ३ केजी तीनसय ग्राम हरेको गंगाकुमारले बताए । उनले भने–“हामी औधी खुशी छौं लमजुङ अस्पतालका डाक्टर, नर्स सबैलाई धेरै धन्यवाद ।”
