पोखरा जेठ १६ गते । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
सर्वोच्चको आदेशअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा दिएको झण्डै तीन महिनापछि उनी सर्वोच्च अदालतको परमादेशबाट पुन मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बुधबारै मुख्यमन्त्रीको शपथ लिएका पाण्डेले कांग्रेसका सांसदहरु डा. टकराज गुरुङलाई अर्थ र बिन्दुकुमार थापालाई सामाजिक विकासमन्त्री नियुक्त गरेका छन् ।
केन्द्रमा गठबन्धन परिवर्तन भएपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए । बहुमतको सरकार बन्न नसक्ने अवस्थामा पुनः ठूलो दलको नेताको रुपमा सरकारको नेतृत्व गर्ने रणनीतिसहित पदबाट राजीनामा दिएका उनी त्यतिबेला भने मुख्यमन्त्री बन्न सकेनन् ।
नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले माओवादी केन्द्र र स्वतन्त्र सांसद दिपक मनाङेसंगै सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेकामा प्रदेश प्रमुखले गत चैत २५ गते उनैलाई मुख्यमन्त्री नियुक्त गरेपछि पाण्डेको रणनीति फेल खाएको थियो । उक्त नियुक्तका विरुद्ध पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरे पनि अदालतले त्यसलाई सुनेन । उल्टै मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई विश्वासको मत लिन सहयोग पुग्यो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा २२ सीट रहेको एमाले र ७ सीट रहेको नेकपा माओवादी केन्द्र र एक स्वतन्त्र सांसदसमेत गरी ३० मतका साथ अधिकारीले विश्वासको मत लिएपछि पाण्डे पुनः अदालत गएका थिए । उनको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अधिकारीलाई पदमुक्त गरी, पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
मिलन शर्मा दनाई