त्रिवेणी कपमा आर्मीकाे विजयी शुरूवात, लाङ्दी विरूद्ध २–० ले बिजयी

खबरकुञ्ज

बेसीशहर, पुस १२ गते । विभागीय टीम नेपाल आर्मीले लमजुङ सदरमुकाम बेसीशहरमा आजबाट शुरु भएको त्रिवेणी कप फुटबलमा विजयी शुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा लाङदी देवी युवा क्लवलाई २–० ले पछि पार्दै विभागीय टोली नेपाल आर्मी प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको हो । गत बर्षको श्रृंखलामा क्वार्टर फाइनलबाटै बाहिरिएको आर्मीले आजको खेलमा निकै राम्रो प्रदर्शन गरी उपाधिका लागि आफ्नो दावी बलियो बनाएको छ । 

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा मध्यान्तरसम्म दुवै टीम गोलरहित बराबरीमा रोकिएकामा खेलको ५५ औं मिनेटमा आर्मीका लागि अनिल बम्जनले पहिलो र ६२ औं मिनेटमा नरेश खत्रीले दोस्रो गोल गरे । लाङदीको नेतृत्व गरेका चर्चित लमजुङे खेलाडी जय गुरुङले जादु देखाउन नसक्दा टीम खेलबाट बाहिरिन पुग्यो ।



गण्डकी प्रदेशकै प्रतिष्ठित र सर्वाधिक पुरस्कार भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले सहजी रंगशालामा शुक्रबार दिउसो उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको ३१ औं श्रृंखलामा आर्मी क्वार्टरफाइनलमा लालीगुराँस भुजुङसंग पराजित भएको थियो । लाङदीदेवी युवा क्लव सेमीफाइनलमा बेसीशहर युथ सोसाइटीसंग पराजित भएको थियो ।

सहजी रंगशालामा प्रतियोगिताको उदघाटन खेल हेर्न घरेलु दर्शकको भीड लागेको थियो । रंगशालाको प्याराफिट भरिभराउ थियो । प्याराफिट बाहिरबाट हेर्नेहरुको पनि उस्तै ताँती थियो । त्रिवेणी कप फुटबल लमजुङमा फुटबलको कुम्भ मेला नै मानिन्छ ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन राष्ट्रिय लिगको विजेता बनिसकेका मच्छिन्द्र क्लव, एनआरटी र संकटासंगै विभागीय टीमहरु त्रिभुवन आर्मी क्लव र एपिएफ क्लव पनि यस बर्ष त्रिवेणी कपमा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लालीगुराँस भुजुङ विरुद्ध लिग बिजेता मच्छिन्द्र क्लव र ठडराई अधिकारी समाज विरुद्ध टोखा भगवती फुटबल क्लव काठमाडौं भिड्दैछन् ।

प्रतियोगितामा कूल १६ वटा टीम उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । यस बर्ष पुरस्कार राशीमा बृद्धि गरी प्रथम पुरस्कार १२ लाख पु¥याइएको छ । विजेताले नगद १२ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद ६ लाख ट्रफि, रजत पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सेमीफाइनल पुग्ने दुई टीमले पनि नगद २÷२ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, स्वर्णपदक र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले २५ हजार, स्वर्णपदक र प्रमाणपत्र र अनुशासित टीमले ट्रफी र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।


प्रतिक्रिया