बेसीशहर नगरपालिकाकाे नगरसभाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७९ करोड ७२ लाख ६० हजारको बजेट पारित गरेको छ । नगरपालिकाको सोमबार सम्पन्न दोस्रो नगरसभाको तेस्रो अधिवेशनले बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो ।
नगरसभामा उप–प्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालु तर्फ ४४ करोड ७९ लाख र पुँजीगत तर्फ ३४ करोड ९३ लाख ६० हजार बजेट बजेट पेश गरेकी थिइन् । प्रस्तुत योजनामा नगरपालिका तर्फ विभिन्न शिर्षकमा २ सय ७२ वटा र वडागतरुपमा २ सय ७१ वटा योजना रहेका छन् ।
उपप्रमुख गुरूङले प्रस्तुत गरेकाे बजेटमा आर्थिक विकास तर्फ ६ करोड ६१ लाख ३५ हजार, सामाजिक विकास तर्फ ३४ करोड ६७ लाख ९३ हजार, भौतिक पूर्वधार विकास तर्फ २२ करोड ४६ लाख ९० हजार, वातावरण तथा विप्द ब्यबस्थापन तर्फ १ करोड १२ लाख ५२ हजार र संस्थागत विकास र सुशासनमा १४ करोड ८३ लाख ९० हजारगरी कूल ७९ करोड ७२ लाख ६० हजार बिनियाेजना गरिएकाे छ ।
बेसीशहर नगरपापालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षमा भएको नगरसभामा नगरप्रमुख अर्यालले आर्थिक बर्ष २०८०/०८१ को नीति, कार्यक्रम, योजना र बजेट, आर्थिक ऐन २०८०, कार्यपालिकाले गरेका निर्णय लगायत ४२ वटा निर्णयहरु निर्णयार्थ पेश गरेकामा नगरसभाले सर्वसम्मत पारित गरेको नगरका प्रेस सल्लाहकार कृष्ण के.सी.ले जानकारी दिए ।
नगरसभामा वडा नम्बर २ का वडा अध्यक्ष एवं शिक्षा समितिका सदस्य मदन रानाले बेसीशहरको शैक्षिक सुधार मोडलका लागि मेयर शैक्षिक सुधार कार्यक्रमको बारेमा जानकारी गराएका थिए।
नीति, कार्यक्रम, योजना र बजेट पारित भएसँगै नगरप्रमुख अर्यालले आवश्यकता र प्रथामिकताका आधारमा बिना भेद्भाव, पक्षपात नगरको समृद्धिका लागि नीति, कार्यक्रम, योजना र बजेट प्रस्तुत भई पारित भएकाे बताए ।
साे अवसरमा नगरप्रमुख अर्यालले यसपटक केन्द्रबाट बजेट कटौती गरिएकोले नगरबासीको अपेक्षा अनुसार योजना निर्माण गर्न नसकिएको नगरसभामा जानकारी गराए ।
नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रममा प्रमुख प्रशासकिय इमनाथ कंडेल, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्य, वडा सदस्य एवं नगरपालिकाका शाखा प्रमुख लगायतको उपस्थितिस थियाे । नगरसभा असार १० गते शुरु भएको हो ।