बेसीशहर । हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक यात्रुबहाक बस पुगेको छ। चामेमा पहिलो पटक बस पुगेपछि मनाङीहरु खुशी भएका छन् ।
लमजुङ सदरमुकाम बेसीशहरबाट रिजर्भ यात्रु लिएर बेसीशहर पोखरा रुट चल्ने कान्छा सफारीको ना ६ ख ९५७९ नम्बरको यात्रुबहाक बस पहिलो पटक मनाङ सदरमुकाम चामेमा पुगेको हो ।
यही आउँदो नयाँ बर्षबाट मनाङ सदरमुकाममा नियमित रुपमा यात्रुबहाक बस चलाउने तयारी भइरहेका बेला निजी क्षेत्रकै एकल प्रयासमा चामेमा बस पुगेको हो । अन्नपूर्ण पदयात्राका लागि आएका विदेशी पर्यटकहरुलाई लिएर उक्त बस गत चैत ७ गते मनाङ सदरमुकाम चामे पुगेर भोलिपल्ट बेसीशहर फर्केको बस सञ्चालक सुरेश घिमिरेले बताए ।
घिमिरेले भने–“शुरुमा यात्रु लिएर मनाङ जाने प्रस्ताव आउँदा के गरौं के गरौं भन्ने लागेको थियो । तर मनाङमा निर्माणाधीन मनाङ मस्र्याङदी जलविद्युतका सामान लिएर १० चक्के ट्रकहरु समेत गइरहेकाले जान सकिएला भन्ने लागेर नै बस पठाएको हूँ, जाँदा आउँदा कुनै समस्या भएन ।”

घिमिरेका अनुसार उनको बसका चालक विनोद रिमालले सहजै बसलाई चामेसम्म पु¥याएर फर्केका हुन् । मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस चलाउन समस्या छैन । नयाँ र कम अनुभव भएका चालकहरुका लागि भने यात्रा कठीन छ ।
सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङी जनताको साथ पाए आफूले नियमित रुपमा मनाङमा यात्रुबहाक बस चलाउने बताएका छन् । “हामीले सडक पनि हे¥यौं, अनुभव पनि भयो, अब नियमित रुपमा बस सञ्चालन गर्न हामीलाई समस्या छैन, अनुमति पाए हामी बस सञ्चालन गर्न सक्छौं ।”–उनले भने ।
मनाङ जिल्ला प्रशासनले पनि मनाङमा यात्रुबहाक बस सञ्चालनको तयारी थालेको छ । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक वैठकले बेसीशहरबाट चामेसम्म आउँदो बैशाख १ गते नयाँ बर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । यसका लागि स्थानीय प्रशासनले डुम्रै बेसीशहर चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक निर्देशन पनि गरेको छ ।
डुम्रे बेसीशहर चामे सडक योजनाका प्रमुख ईन्जिनियर सतिश सुवेदीले सडकमा ट्राफिक संकेतहरु राख्न प्रशासनबाट अनुरोध आएपछि आवश्यक ट्राफिक संकेत निर्माणका लागि ठेकेदारलाई काम लगाइएको र केही समयमै ती संकेत तयार भइ सडक छेउमा गाडिने जानकारी दिए ।
डेढ दशक अघिनै मोटर चल्न थालेको मनाङमा हालसम्म मनाङमा बोलेरो, टाटासुमो जस्ता साना सवारी साधनले मात्र यातायात सेवा दिइरहेका छन् । बेसीशहरबाट चामेसम्मको ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरो जीपहरुले १ हजार २ सय ५० भाडा असुल्ने गरेका छन् । बेसीशहरबाट चामेसम्म तिनै सवारी साधनले मालसामान समेत ढुवानी गर्ने गर्छन् । ५ जना यात्रु अट्ने ती जीपहरुले १० देखि १५ जनासम्म यात्रु र मालसामन समेत बोक्दा यात्रा जोखिमपूर्ण समेत बन्ने गरेको छ । अझ पर्यटक चल्ने सिजनमा अधिकांश सर्वसाधारणले तिनै सवारी साधनमा समेत सहजै यात्रा गर्न पाउँदैनन् ।
बेसीशहर–चामे सडक अन्तर्गत बेसीशहरदेखि खुदीसम्मको ७ किलोमिटर सडक कालोपत्रे छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर सडकको कच्ची सडक रहेकोमा सडकका साँघुरा घुम्तीहरुमा मर्मत सुधार गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ।
मिलन शर्मा दनाई