बेसीशहर, माघ १४ गते । लमजुङ जिल्लाका साढे ६ हजार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ ।
सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार लमजुङका ८ वटा स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ६ हजार ५४४ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय लमजुङले जानकारी दिएको छ ।
कार्यालयले एचपिभी खोप अभियान २०८१ का सन्दर्भमा सोमबार आयोजना गरेको जिल्ला पूर्ण खोप समन्वय समितिका पदाधिकारी एवं सञ्चारकर्मीहरुसंगको अभिमुखीकरण कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिन लागिएको जानकारी दिइयो ।
अभियान अन्तर्गत यही माघ २२ गतेबाट फागुन ६ गतेसम्म सञ्चालन गर्न लागिएको यो अभियान अन्तर्गत देशभरका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई निःशुल्क खोप दिइने जानकारी सो अवसरमा गराइएको छ ।
नेपालको सन्दर्भमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्क अनुसार २ हजार २ सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो ।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भी. लाई मानिएको र अहिले दिइने भनिएको एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने जानकारी गराइयो ।

खोप अभियानको कार्यक्रम अन्तर्गत बेसीशहर नगरपालिकाका १६ वटा सामुदायिक र १० नीजि विद्यालयका १ हजार ७३४ जना किशोरीलाई ३९ वटा खोप केन्द्र, सुन्दरबजार नगरपालिकामा १६ वटा सामुदायिक र ७ वटा नीजि विद्यालयका १ हजार २२३ जना किशोरीलाई ३४ वटा खोप केन्द्र, मध्यनेपाल नगरपालिकाका १६ वटा सामुदायिक र ५ वटा नीजि विद्यालयका १ हजार ३१ जना किशोरीका लागि ३१ वटा खोप केन्द्र, राइनास नगरपालिकामा १२ वटा सामुदायिक र ३ वटा नीजि विद्यालयका ७९२ जना किशोरीहरुलाई २४ वटा खोप केन्द्रमार्फत उक्त खोप दिइने छ ।
त्यस्तै मस्र्याङदी गाउँपालिकाका १५ वटा सामुदायिक र १ नीजि विद्यालयका ६४२ जना किशोरीका लागि २८ वटा खोप केन्द्र, दोर्दी गाउँपालिकामा १५ वटा सामुदायिक विद्यालयका ५१९ जना किशोरीका लागि २६ वटा खोप केन्द्र, क्व्होंलसोथार गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयका ३२९ जना किशोरीका लागि १८ वटा र दूधपोखरी गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालयका २७४ जना किशोरीहरुलाई खोप दिनका लागि १४ वटा खोप केन्द्र तोकिएको छ ।
बेसीशहर, सुन्दरबजार, मध्यनेपाल र राइनास नगरपालिका तथा मस्र्याङदी र दुधपोखरी गाउँपालिकामा माघ २२ गते देखी २५ गतेसम्म खोप अभियान सञ्चालन हुने छ । क्व्होलसोंथारमा माघ २२ र २३ तथा दोर्दी गाउँपालिकामा माघ २२ गतेदेखि २४ गते सम्म खोप अभियान सञ्चालन हुने जानकारी कार्यक्रममा गराइएको छ । यस अवधिमा खोप लगाउन छुटेका किशोरीहरुलाई लक्षित गरि माघ २७ गते लमजुङ अस्पतालमा खोप उपलब्ध गराइने जानकारी सो अवसरमा गराइएको छ ।
खोप अभियानमा १३४ जना खोप कार्यकर्ता,२६८ जना स्वास्थ्य स्वयंसेविका खटिने छन् । यस अभियान अन्तर्गत १३४ विद्यालय र ८० वटा स्वास्थ्य केन्द्रलाई खोप केन्द्रको रुपमा तोकिएको छ । विद्यालय बाहिर रहेका किशोरीलाई स्वास्थ्य केन्द्रमा खोप केन्द्र बनाएर अभियानमा सहभागी बनाउने तयारी भएको छ ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले क्यान्सर जस्तो जटील रोग लाग्न नदिन सबैले आ आफ्नो ठाउँबाट सहयोग गरी खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्र्नेे बताए ।
खबरकुञ्ज