बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेल निर्माणको लागि टानको टोली लेकाली यात्रामा

मिलन शर्मा दनाई

बेसीशहर । लमजुङ र गोरखाका विभिन्न स्थानीय निकायसंगको सहकार्यमा बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेल निर्माणको तयारीमा जुटेको लागि ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को एक टोली उक्त ट्रेलको अन्वेषण तथा डिपिआर निर्माणको लागि लमजुङ तथा गाेरखाका विभिन्न लेककाे भ्रमणमा निस्किएकाे छ ।

लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङदी गाउँपालिका तथा गोरखाका अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकासंग बुद्ध हिमाल-हिमालचुली ग्रेट लेक सर्किट ट्रेल निर्माणका लागि टानले केही समय अघि सम्झौता गरेको थियो । 

विश्वबिख्यात अन्नपूणर् र मनासुलु पदयात्रा मार्गसमेतलाइ छुने गरी गोरखाको भच्चेकबाट लमजुङ हुँदै र मनाङको धारापानी जोड्ने नयाँ पदयात्रा मार्ग  बनाउन यी पदयात्रा मार्गमा पर्ने लमजुङ र गोरखाका स्थानीय निकाय तथा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) तयार भए अनुसार सम्झौता भएको हो ।


गोरखा, लमजुङ र मनाङका प्राकृतिक र सांस्कृतिक सम्पदासहितको नयाँ पदमार्गको प्रोफाइल तयार गरी त्यसको विकासका लागि योजना तथा डिपिआर तयार गर्ने र पदमार्गको प्रवद्र्धनका लागि वृत्तचित्र, ब्रोसर, र पदयात्रा नक्सा तयार गर्नका लागि लाग्ने खर्च यी पालिका र टानले लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता अनुसार टानले अन्वेषण योजना तथा डिपिआर निर्माण एवं प्रबद्र्धन भ्रमण आजबाट प्रारम्भ गरेको हो । टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङको नेतृत्वमा १५ जनाको टोली भ्रमणमा निस्केको छ । यो टोलीलाई लमजुङ र गोरखाका ५ वटै गाउँपालिकाले सफल  यात्राको कामना र अभियानको सफलताको शुभकामना ब्यक्त गर्दै बिदाई गरेका छन् ।

दूधपाेखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, अजिरकाेट तथा बारपाक सुलिकाेट गाउँपालिकाका अध्यक्षलगायतले टाेलीकाे विदाइ गरेका हुन् ।


यो प्राविधिक टिमले पदयात्रा मार्गकोे खोज, अनुसन्धान एवं ट्रेलको वास्तविक अबस्थाको बारेमा जानकारी लिनेछ । अहिलेलाई गोरखाको अजिरकोट गाउँपालिका-बारपाक सुलिकोट गाउँपालिका- लमजुङको दुधपोखरी गाउँपालिका-दोर्दी गाउँपालिका हुँदै मस्र्याङ्दी गाउँपालिका सम्म ट्रेक निर्माण हुनेछ भने पछि आवस्यकताको आधारमा अन्य पालिका समेत यसमा समावेश हुनेछन् । 

यो टिमले १५ दिनमा उक्त स्थानको बस्तुस्थितिको बारेमा जानकारी उपलब्ध गराउनेछ त्यस लगत्तै उक्त ट्रेलका लागि आवस्यक पूर्वाधारहरु निर्माण कार्यको थालनी हुन बताइएको छ । 

यस अघि टान पोखरा र अन्य साझेदार टिमले लमजुङको राइनास- दुधपोखरी हुँदै लिपे-दाम्राङ सेरा सम्मको ४ दिनको पदयात्रा गरी आवश्यक जानकारी हासिल गरिसकेको छ । 

पर्यटकलाई जति धेरै समय आफ्नो स्थानीय ठाउँहरुमा घुमाउन सकियो त्यति नै स्थानीयको आम्दानी वृद्धि हुने भएकाले जतिसक्दो धेरै स्थानलाई पदयात्रामा जोड्ने प्रयत्न गरिने छ । 


अहिले तयारीमा जुटेका बाहेक अन्य पालिकालाई समेत पदयात्रा मार्गमा समेट्दा ती पालिकामा समेत स्थानीयको आम्दानीको स्रोत वृद्धि  हुने भएकाले भविष्यमा ती स्थानीय निकायले समेत आफ्नो पालिकाको पायक पर्ने स्थानबाट सहायक पदयात्रा मार्ग बनाएर मूल पदयात्रा मार्गसंग जोड्न सक्ने छन् ।

टान गण्डकीले अब बन्ने पदयात्रा मार्ग (ट्रेल) अन्य ट्रेल भन्दा पृथक रहने जनाएको छ । अन्य ट्रेकमा यात्रा गर्दा खोला खोला या खोच खोच हुँदै माथी डांडामा पुगेपछी मात्रा दृष्यावलोकन गर्न पाइन्छ भने यो नयाँ बन्ने पदयात्रा उच्च हिमाली भागमा रहने भएकाले जहाँबाट पनि प्रकृतिको सुन्दर दृष्यावलोकन गर्न सकिने छ । यो पदयात्रामा मार्गमा यात्रा अवधि भर पदयात्रा अविस्मरणीय रहने बताइएको छ ।

उच्च हिमाली क्षेत्रको पदयात्रा भएकाले तत्कालका लागि पदयात्रा मार्गमा बस्न खानको लागि तत्काल होटेल, रेस्टुरेन्टको सुविधा नभए पनि ती क्षेत्रमा रहने भेडिगोठ, गाई तथा भैंसीगोठलाई ब्यवस्थित गरी पदयात्रालाई सहज बनाइने छ । 

त्यसका लागि गोठहरुमा सोलार बत्तीको ब्यबस्था, भान्सा र स्टोरको ब्यवस्था मिलाउन सकिए  ठुला होटेल रेस्टुरेन्टको आवस्यकता नपर्ने बताइएको छ ।

निर्माण हुन लागेको नयाँ ट्रेक माछाको काँडा जस्तो आकारको बन्ने छ । जसमा स्थानीय भूगोललाई समेटिने छ । पर्यटकले यात्रालाई आफ्नो समय र आवश्यकताको अनुसार लम्ब्याउन तथा छोट्याउन सक्नेछन् । सबै पालिकाबाट त्यसको सहज पहुँच हुने गरि पदयात्रा निर्माण हुनेछ ।

प्रतिक्रिया