बेसीशहर, माघ २६ । यस बर्षको नरकान्त योग राष्ट्रिय पुरस्कार र भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक माधवराज गौतम र नेपाल सरकारका पूर्व मुख्य सचिव बिमल प्रसाद कोइरालालाई प्रदान गरिएको छ ।
लमजुङको राइनास नगरपालिकामा रहेको सर्बोदय सेवाश्रममा स्थापित उक्त पुरस्कार सर्वोदय सेवाश्रम धर्मनाथ धाम लमजुङको आयोजनामा यही माघ २४ गते राईनास नगरपालिकाको वडा नंं ८ हर्राबोटमा रहेको सर्बोदय सेवाश्रम धर्मनाथधाम मन्त्रीपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले ती पुरस्कार अर्पण गरेका हुन् ।
पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि रेग्मीले जो पुरस्कार स्थापना गर्ने, प्राप्त गर्ने र पुरस्कारको ब्यवस्थापन गर्ने तीन पक्षको मिश्रणले पुरस्कारको गरिमा बढाउनुका साथै शिखरको उचाई प्राप्त गरेको बताए ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै पूर्व मुख्य सचिव डा. कोइरालाले आफू सदाचार पुरस्कार पाउन योग्य रहे नरहेको थाहा नभए पनि सदाचार भनेको इमान्दार भन्दा पनि माथि र आफूले आफैलाई बुझ्न सक्नु हो भनि परिभाषित गरेका थिए ।
कार्यक्रममा सर्बोदय सेवाश्रमका प्रमुख संरक्षक डा.हरिप्रसाद (मानसाग्नि)ले नरकान्त योग पुरस्कार र भैरव सदाचार पुरस्कारको पृष्ठभूमि र सर्बोदय सेवाश्रमका बारेमा विस्तृत रुपले प्रकाश पारेका थिए । नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमान्दारिता र कर्तव्यपरायणताको उदाहरण बनेका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारीको नाममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमान्दारिता, कर्तव्यनिष्ठ र क्षमताको परिचय दिएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, तनहुँका स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा यी पुरस्कारहरू स्थापना गरिएका हुन् ।
कार्यक्रममा पुरस्कार स्थापना गरिएका ब्यक्तित्वहरु स्व. नरकान्त अधिकारी र पूर्व न्यायाधीश भैरवप्रसाद उपाध्यायको ब्यक्तित्वका बारेमा पूर्व राष्ट्रसेवक प्रसाशक काशीराज आचार्यले ब्यक्तित्व चर्चा गरेका थिए । सो अबसरमा सदाचार पुरस्कार प्राप्त गरेका डा. विमल कोइरालाको ब्यक्तित्वका बारेमा साहित्यकार मोमीला जोशीले चर्चा गरेकी थिइन् ।
सर्वोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा पंण्डित कमल अधिकारीले स्वस्ती वाचन र बिष्णु भक्त अधिकारी ज्यूले स्थानिय लोककला ठाडो भाकाले स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना, राइनास नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिवराज रेग्मी , जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख लगायत कार्यालय प्रमुखहरु, राइनास नगरपालिका कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि , शिक्षक, साहित्यकार, पत्रकार, सामाजिक संघ संस्था सहित स्थानीयको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि लगायत काठमाडौंबाट आउनु भएका ५० जना अतिथिहरु अघिल्लो दिन राइनासकोट सामुदायिक होमस्टे राइनासकोटमा बास बसी त्यहाँको अबलोकन गरेका थिए ।
गत बर्ष नरकान्त योग राष्ट्रिय पुरस्कार प्रा. डा. विद्यानाथ उपाध्यायले पाएका थिए । नेपाली समाजमा शिक्षाको प्रवद्र्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्रुयाएको योगदान स्वरुप उनलाई पुरस्कार दिइएको थियो । गत बर्ष भैरव सदाचार राष्ट्रिय पुरस्कार मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मी पाएका थिए । न्यायप्रतिको निष्ठा एवं नेपालको संक्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न उनले दिएको योगदानको कदर गर्दै उनलाई पुरस्कार दिइएको थियो ।
खबरकुञ्ज