जमीन बाँझो राख्न नपापाइने नीति अबलम्बन गर्दै मर्स्याङदी गाउँपालिका

मिलन शर्मा दनाई

बेसीशहर, असार १० गते । लमजुङकाे मर्स्याङदी गाउँपाालिकाले बाँझो जमीनको तथ्याङ्क संकलन गरी कृषि, वनसंग सम्बन्धित खेती सञ्चालन गर्न प्रोत्साहन गर्ने र जमीन बाँझो राख्न नपापाइने नीति अबलम्बन गर्दै भूउपयोग कार्यक्रम लागू गर्ने भएको छ ।

आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस्तो कार्यक्रम लागू गर्न लागिएको जानकारी गराएका हुन् । सोमबार भुलभुलेमा आयोजित सत्रौं गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुरुङले “एक घर एक करेसाबारी, मर्स्याङदी गाउँपालिका भरि” कार्यक्रमलाई अभियानको रुपमा अघि बढाइने जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष गुरुङले कृषि एम्बुलेन्सको व्यवस्था गर्न आवश्यक पहल गर्ने र कृषि उत्पादनलाई प्रोत्साहित गर्न कृषि हाटमेला आयोजना गरिने, स्थानीय लोपोन्मुख बीउबिजन रैथाने बालीहरुको संरक्षण र प्रबद्र्धन गर्न बीउ बैङ्ककाे व्यवस्थापनमा जोड दिइने बताए ।

कृषिको पकेट क्षेत्रहरु घोषणा गरी एक वडा एक उत्पादनको नीति तत्काल कार्यान्वयन गर्ने, एक बड़ा एक कृषि पशु प्राविधिकको व्यवस्था गर्ने र कृषि तथा पशुपन्छी विमालाई अनिवार्य गरिने उनले बताए । अध्यक्ष गुरुङले पशु स्वास्थ्य शिविर आयोजना गर्ने, कोसेली घरको स्थापना गरी कृषिजन्य उपजहरुको बजारीकरण गर्ने, बाली उपचार शिविर आयोजना गर्ने लगायतका बिषय नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी गराए ।

प्रतिक्रिया