बेसीशहर भदौ ९ गते । लमजुङमा जन्मेर गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न ब्यक्तित्वहरुलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङले सम्मान गरेको छ ।
संस्थाले शनिबार २३ औँ वार्षिक साधारण सभा एवं स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी ठाडोभाका लोकगीत क्षेत्रमा विशिष्ट योगदान गर्ने बयोबृद्धा स्रष्टा सुन्दरबजार ११ तुर्लुङकोट निवासी नन्दमाया दुरालाई सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति लमजुङको सभाहलमा शनिबार आयोजित एक भब्य समारोहबीच जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, संस्थाका अध्यक्ष अनुज अधिकारी,प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले संयुक्त रुपमा दुरालाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गरे ।
सोही अबसरमा प्रतिष्ठान जिल्ला शाखाले रोशन गुरुङलाई पनि स्रष्टा सम्मान २०८१ बाट सम्मान गरेको छ ।
साधारण सभाकै अबसरमा संस्थाले गण्डकी प्रज्ञा प्रतिष्ठानमा लमजुङ जिल्लाबाट प्र्रतिनिधित्व गर्ने प्राज्ञ सदस्यहरु गजेन्द्र गुरुङ, राजबहादुर गुरुङ र केयरसिंह गुरुङलाई पनि सम्मान गरेको छ । सोही अबसरमा उत्कृष्ट वर्ष सदस्यको रुपमा प्रतिष्ठान जिल्ला शाखाका कार्यसमिति सदस्य चित्र दुरा र किशोर बिक सम्मानित भएका छन् ।
कार्यक्रममा विभिन्न कलाकारहरुले लोक दोहोरी एवं एकल गीत प्रस्तुत गरेका थिए । साधारण सभामा विभिन्न समूह र विद्यालयको तर्फबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।
खबरकुञ्ज