काठमाडाैं । सत्ता गठबन्धनमा रातारात परिवर्तन आएपछि नयाँ गठबन्धनबाट साेमबार अपराह्न तीन जनाले मन्त्री पदकाे सपथ लिएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगकाे गठबन्धन ताेड्दै नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेतलाइ नयाँ गठबन्धनमा ल्याइ मन्त्री परिषद्काे पुनर्गठन गरेका हुन् ।
नयाँ गठबन्धनमा नेकपा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितमान तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डाेलप्रसाद(डिपी) अर्याल मन्त्री बनेका हुन् । उनीहरूले राष्ट्रपति निवास सितल निवासमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट सपथ खाए पनि उनीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगाे चाहिँ लागेकाे छैन । उनीहरू विना विभागीय छन् ।
नयाँ मन्त्रीमण्डल बनेसंगै यस अघिकाे गठबन्धनकाे ठूलाे दल नेपाली कांग्रेसका मन्त्रीहरू बाहिरिएका छन् । प्रधानमन्त्री दाहालले नयाँ गठबन्धनमा एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी लाइ पनि समेट्ने बताएका छन् ।यद्यपी ती दलहरूले सत्ता समीकरणमा सहभागी हुने निर्णय भने गरिसकेका छैनन् । सबै दल पर्ख र हेरकाे रणनीतिमा छन् ।
सत्ता गठबन्धनमा परिवर्तन भएसंगै ७ वटै प्रदेशमा समेत सरकार परिवर्तन हुने संकेत देखिएकाे छ । काेशीमा एमालेकाे समर्थनमा कांग्रेस नेतृत्वकाे सरकार छ । मधेमा जनता समाजवादी, बाग्मती र कर्णाली र माओवादी केन्द्र, गण्डकी, लुम्बिनी र सुदुरपश्चिमा कांग्रेस नेतृत्वमा सरकार छ । गठबन्धन फेरिए लगत्तै अहिलेका प्रदेश सरकारहरू पनि धरापमा परेका छन् ।