बेसीशहर, माघ २४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई समवेदना दिएका छन् । मुख्यमन्त्री पाण्डेले पितृशोकमा परेका वन मन्त्री पौडेलको बेसीशहरस्थित निवासमै पुगेर उनीलगायत परिवारलाई समवेदना दिएका हुन् ।
मुख्यमन्त्री पौडेलसंगै सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइराला लगायत नेपाली कांग्रेसका थुप्रै नेता कार्यकर्ता मन्त्री पौडेललाई समवेदना दिन उनको घर पुगेका थिए ।
प्रदेशका वन तथा वातावरण मन्त्री पौडेलका पिता समाजेवी तिलकबहादुर पौडेलेको ९७ बर्षको उमेरमा मंगलबार निधन भएको थियो । उनी केही बर्षयता श्वास प्रश्वास र खुट्टाको समस्याले पीडित थिए । निवासमा आराम गरिरहेका पौडेल आइतबार एक्कासी बिरामी परेपछि लमजुङ अस्पतालको आईसीयूमा राखि उपचार गराइएको थियो । तर उनको मंगलबार दिउँसो करिब ३ बजे उनको निधन भएको थियो ।
स्व. पौडेलको मंगलबार नै अन्तिम संस्कार गरिएको छ । उनको शबयात्रामा उनका बन्धु वान्धवसहित नेपाली कांग्रेसका नेता कार्यकर्ता, बेसीशहरका उद्योगी ब्यवसायी, सर्वसाधारण गरि सयौंको सहभागिता थियो । उनको पार्थिव शरिरमा छोराहरु भेषबहादुर पौडेल र डा. राजेश पौडेलले दागवत्ती दिएका थिए । स्व. पौडेलको पार्थिब शरीरमा नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएका थिए ।
लमजुङमा अग्रणी शिक्षासेवी र समाजसेवीको छवि बनाएका स्व.पौडेल पछिल्लो समय राजनीतिबाट टाढा भए पनि समाजसेवामा तल्लीन थिए । उनकाे नेतृत्वमा बेसीशहरमा धेरै शिक्षण संस्थाकाे स्थापना भएकाे थियाे । उनी लमजुङ उद्याेग बाणिज्य संघ लगायतका संस्थाका पनि संस्थापक अध्यक्ष थिए । उनले बेसीशहर र आसपासका धार्मिक तथा सामजिक अभियानमा भौतिक, नैतिक तथा आर्थिक रुपमा योगदान दिएका थिए ।
खबरकुञ्ज