बेसीशहर, २५ माघ । लमजुङको दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालेकाे छ । हालसम्म कृषि सेवा केन्द्र नाैथरकाे भवनमा बस्दै गरेकाे गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माणकाे काम थालेकाे हाे ।
भवनकाे बुधवार गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले शिलान्यास गरेका छन् ।
भवन निर्माणका लागि ८ कराेड ६० लाख ४४ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ ८० पैसाकाे लागत इस्टिमेट गरी बाेलपत्र प्रकाशित गरिएकाेमा देवकोटा–गणपति जेभीले भ्याटसहित ६ करोड ६० लाख ६४ हजार १ सय ५४ रुपैयाँ ९९ पैसा भवन निर्माणका लागि पेश गरेकाे कबाेल स्वीकृत भइ ठेक्का सम्झौता समेत भइसकेकाे छ ।प्रशासकीय भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगले कूल लागतकाे ५० प्रतिशत र दाेर्दी गाउँपालिकाले ४० प्रतिशत र १० प्रतिशत शहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग (डाेली) ले ब्यहाेर्ने छन् ।
तीन तला र २५ काेठा रहने उक्त प्रशासकीय भवनमा अध्यक्ष तथा उपाध्यक्षकाे अलग कार्यकक्ष, सचिवालय, न्यायिक समिति कार्यकक्ष, प्रशासकीय अधिकृतकाे कार्यकक्ष, पालिकाका सबै बिषयगत शाखाका अलग अलग कार्यकक्ष रहने छन् । यसबाहेक भवनमा अपाङ्ग मैत्री लिफ्टसमेतकाे ब्यवस्था हुने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
नयाँ प्रशासकीय भवन हाल कार्यालय रहेकाे भवनकाे बायाँतर्फ निर्माण हुँदै छ । गत माघ १ गते भवन निर्माणकाे ठेक्का सम्झाैता भएकाे हाे । 
ठेकेदारले २०८२ जेठ २५ भित्र भवन निर्माण गरिसक्ने गरी सम्झाैता गरेकाे र हाल कृषि सेवा केन्द्रकाे भवनमा काेठा थप गरी सञ्चालनमा रहेकाे गाउँपालिकाकाे नयाँ प्रशासकीय भवन बनेपछि गाउँपालिका बासीले एउटै भवनबाट चुस्त दुरूस्त सेवा पाउने विश्वास गरिएकाे गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर घलेले जानकारी दिए ।