बेसीशहर, चैत १९ गते । नेकपा एमाले जिल्ला कमिटी लमजुङको सोमबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट लमजुङका चार जना क्रियाशील पत्रकार जिल्ला कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको सदस्य पदमा जिल्ला भूगोल क्लस्टर अन्तर्गत पत्रकार केसी निर्वाचित भएका छन् । सोमबार दिउसो सम्पन्न मत परिणाम अनुसार जिल्ला भूगोल क्लस्टर अन्तर्गत खुला सदस्य पदमा प्रतिस्पर्धा गरेका केसी ३३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । खुल्ला सदस्यका लागि १० जनाले प्रतिस्पर्धा गरेकामा केसीले लोकप्रिय मत पाए ।
यस क्लस्टरबाट केसीले तेस्रो स्थान बनाए । क्व्होंलसोथार गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङ र मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले क्रमशः ३४७ र ३४६ मत पाएकामा केसी तेस्रो स्थानमा रहेका हुन् । केसीले जिल्ला समन्वय समिति लमजुङका पूर्व प्रमुख समेत रहेका लोकराज पाण्डेलाई समेत पराजित गरे ।
केसी नेपाल पत्रकार महासंघ लमजुङको पूर्व अध्यक्ष, प्रेस चौतारी नेपालको पूर्व केन्द्रीय सदस्य, लमजुङ दर्पण साप्ताहिकको प्रकाशक, बेसीशहर नगरपालिकाको प्रेस सल्लाहकार समेत हुन् ।
त्यस्तै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ लमजुङकै पूर्व अध्यक्ष नवीनराज कुइँकेलसमेत नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
भूगोल अन्तर्गत मर्स्याङदी गाउँपालिकाको खुला युवा सदस्यमा उमेदवारी दिएका कुइँकेल निर्विरोध निर्वाचित भएका हुन् । उनी अनलाईन पत्रिका लोकदृष्य डटकमका प्रकाशक सम्पादक, लमजुङ दर्पण दैनिकका सम्पादक र अन्नपूर्ण पोष्ट दैनिकका समाचारदाता समेत हुन् ।
त्यसैगरि नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङसमेत नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला युवा सदस्यमा निर्वाचन लडेका उनी पनि निर्विरोध निर्वाचित भएका हुन् । कान्तिपुर दैनिकका समाचारदाता र रेडियो चौतारीका निर्देशक रहेका गुरुङ नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका महासचिव समेत हुन् ।
मर्स्याङदी गाउँपालिकाबाटै अर्का पत्रकार सराेज विश्वकर्मा पनि नेकपा एमालेकाे जिल्ला कमिटीमा निर्वाचित भएका छन् । क्लष्टर १८ अन्तर्गत खुला दलित सदस्य पद अन्तर्गत उनी पनि निर्विराेध निर्वाचित भएका हुन् । नेकपा एमाले मर्स्याङदी गाउँपालिका कमिटीकाे सचिव समेत रहेका उनी रेडियाे मर्स्याङदीमा कार्यरत थिए । उनी प्रेस चाैतारी नेपाल लमजुङ शाखाकाे सचिव समेत हुन् ।
(यस अघि एमाले लमजुङकाे अधिवेशनबाट तीन पत्रकार जिल्ला कमिटी सदस्य निर्वाचित शिर्षक रहेकाेमा सच्याइएकाे)