क्व्होलासोथार गाउँपालिकालाई पर्यटन र कृषिको केन्द्र बनाउन सुझाब

खबरकुञ्ज

बेसीशहर, असार ३ गते । लमजुङको क्व्होलासोथार गाउँपालिकालाई पर्यटन र कृषिको केन्द्र बनाउन स्थानीय सरोकारवालाले सुझाब दिएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि राय सुझाव संकलन गर्न गाउँपालिकाले आयोजना गरेका एक कार्यक्रममा स्थानीयले कृषि र पर्यटनका माध्ययबाट गाउँपालिकालाई समृद्ध बनाउन सकिन सम्भावना रहेकाले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन ।

गाउँपालिकाले सोमबार गाउँपालिका केन्द्र मालिङस्थित गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आगामी योजनामा समेटिने कार्यक्रमका लागि निर्माण हुने नीति तथा कार्यक्रम सम्बन्धमा राय सुझाव संकलन गरेको थियोे । 

सहभागीले कृषि र पर्यटनका प्रबद्र्धनका लागि दीर्घकालीन नीति निर्माण गर्न सुझाव दिए । हरेक वडाले वडाको नीति तथा योजना तर्जुमा गर्नुपर्ने र सोही अनुरुप गाउँपालिकाले कार्यक्रम र बजेट निर्माण गर्नुपर्नेमा सहभागीहरुले जोड दिए ।

उनीहरुले भौतिक पूर्वाधारको विकास, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरु जनमुखी बनाइ नागरिकहरुलाई स्थानीय सरकार उनीहरुको साथमा रहेको अनुभूति गराउनु पर्नेमा सहभागीहरुको ऐक्यबद्धता थियो । गाउँपालिकाले सञ्चालन गर्ने हरेक क्रियाकलापबाट नागरिकहरुले प्रत्यक्ष फाइदा लिन सक्नुपर्ने तथा नागरिकका पीरमर्कालाई स्थानीय तहले बुझेर त्यसको उचित सम्बोधन गर्नुपर्नेमा सहभागीले जोड दिए ।

कार्यक्रममा क्व्होलासोथार गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर घले, नेपाली कांग्रेस लमजुङ क्षेत्र नं. २ का सभापति रघुनाथ गुरुङ, नेकपा एमाले क्व्होलासोथार गाउँ कमिटीका अध्यक्ष गंगाबहादुर घले, नेपाली कांग्रेस क्व्होलासोथार गाउँ कार्य समितिका सभापति पसबहादुर गुरुङ, राप्रपा क्होलासोथार गाउँपालिका कार्य समितिका सभापति चन्द्रप्रसाद गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङ, लमजुङ उद्योग बाणिज्य संघ क्व्होलासोथार इकाई अध्यक्ष डिलेश्वर गुरुङ, क्व्होलासोथार गाउँपालिका २ का पूर्ववडाअध्यक्ष बुद्धिप्रसाद गुरुङ, लगायतले नीति तथा कार्यक्रमबारे आ-आफ्ना सुझाव दिएका थिए ।

सहभागीहरुको सुझाव सुनेपछि क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले प्राप्त सुझाव अनुसार आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रमसहित बजेट पेश गरिने जानकारी दिए ।

गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उपाध्यक्ष गमीमाया गुरुङले कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया