बेसीशहर । कृषि ज्ञान केन्द्र लमजुङले आर्थिक बर्ष २०७९/०८० मा गरेका काम कारबाही र प्राप्त गरेको बित्तिय तथा भौतिक प्रगतिका बारेमा सार्वजनिक सुनुवाई गरेको छ ।
आईतबार बेसीशहरमा आयोजित सार्वजनिक सुनुवाईमा ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले कार्यालयले प्रदेश तर्फको कार्यक्रममा ७७.२१ प्रतिशत प्रगति भएको जानकारी दिए । उनले प्रदेश सरकारबाट प्राप्त पूँजीगत कार्यक्रममा ९९.७१ प्रतशित र चालुतर्फ ७६.३२ प्रतिशत प्रगति भएको जानकारी दिए ।
सुनुवाईका क्रममा उनले संघीय सशर्त तर्फ जम्मा ५४.५४ प्रतिशत प्रगति भएको जानकारी दिए । संघीय सशर्तमा कृषि विकास रणनीतितर्फ ९८.५३ प्रतिशत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक मा ७३.६७, कृषि विभागतर्फ ५०.२९ प्रतिशत मात्र प्रगति हुन सकेको उनले बताए ।
सो अवसरमा चालु आर्थिक बर्षको अवधिमा करीब ७५ हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधामा सहजता भएको, ३४ जना किसानहरु ब्यवसायीक उत्पादनतर्फ उन्मुख भएका र करीब ७५ मेट्रिक टन ताजा तरकारी उत्पादनमा सहयोग पुगेको उनले जानकारी गराए ।
त्यस्तै करीब २ मेट्रिक टन सेरेना मौरीको मह उतपादन तथा बजारीकरणमा सहयोग गरिएको र स्थानीय तहमा सञ्चालित शिविरमार्फत ३ सय वटा माटोको नमूना परीक्षण गरिएको सो अवसरमा उनले जानकारी दिए ।
कार्यालय प्रमुख खतिवडाले यस बर्ष चारसय जना किसानको क्षमता अभिबृद्धि गरिएको, स्थानीयस्तरमा कार्यरत कृषि प्राविधिक तथा कृषि कार्यक्रमलाइ थप प्रभावकारी बनाउन र जिल्लास्थित तथ्याङ्क ब्यवस्थापनका लागि सहजीकरण गरिएको र विपन्न समुदायमा आय आर्जनका श्रोतको विकासहुँदा जीवनयापनमा सुधार भएको बताए ।
कार्यालयले अपेक्षित प्रगति हासिल गर्न नसक्नाका कारणबारे जानकारी दिँदै खतिवडाले मसलाबाली विकास कार्यक्रम, सामुदायिक बीउ बैंक, रैथानेबाली विकास कार्यक्रम मापदण्ड अनुसार कार्य सम्पन्न नभएकोले प्रगति कम देखिएको जानकारी गराए ।
साना ब्यवसायीक फर्म स्थापना सहयोग, साना सिञ्चाइमा कार्यक्रम सम्झौता भए पनि फिल्ड अनुगमनका क्रममा तोकिएको भन्दा कम काम सम्पन्न भएकोले कम भुक्तानी भएको उनले प्रष्ट पारे । त्यस्तै रैथाने तथा स्थानीय बाली विकास कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा काम गर्न सम्झौता भएको तर लगानी नै जुटाउन नसक्दा कार्य सम्पन्न हुन नसकेको उनले जानकारी दिए ।
त्यसैगरि उन्नत बीउ उत्पादनका लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोग श्रोत केन्द्र स्थापना कार्यक्रममा बीउ प्रशोधनका लागि ठूला मेसिनरी सहयोगका लागि कुनै पनि संस्थाले ५० प्रतिशत लगानी जुटाउन नसकेपछि लक्ष्य प्राप्ती कम भएको जानकारी गराए ।
सो अवसरमा उनले रैथाने बालीको प्रवद्र्धनमा कार्यालयले विशेष जोड दिइएको र जिल्लामा सञ्चालित होमस्टेहरुमा रैथाने बालीबाट बनेका खानेकुराहरु बनाउन सिकाइएको बताए । दुुरदराजका गाउँमा समेत कृषि शिविर, माटो परीक्षण तथा बाली उपचार शिविर सञ्चालन गरिएको, किसानहरुका समस्या पहिचान गरी समाधानका उपायहरु दिने र समाधानको पहलसमेत गरिएको उनले जानकारी गराए ।
उनले किसानहरुलाई देखाएर पनि सिकाउन र परिवर्तन ल्याउन सकिन्छ भनेर किसानहरुलाई विभिन्न स्थानमा भ्रमणमा लैजाने गरिएको र क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।