कमजोरीलाई सच्याउँदै थप प्रभावकारी सेवा प्रवाह गर्ने लमजुङ अस्पतालकाे प्रतिबद्धता

मिलन शर्मा दनाई

बेसीशहर, भदौ १३ गते । लमजुङ अस्पताल लमजुङले कमी कमजोरीलाई सच्याउँदै थप प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

बुधवार बेसीशहरमा आयोजना गरिएको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा जिल्ला अस्पतालका अध्यक्ष हरिजंग तामाङ र मेडिकल सुपरिटेण्डेण्ट शिशिर देवकोटाले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट देवकोटाले गत आर्थिक बर्षमा अस्पतालले प्राप्त गरेका उपलब्धीबारे जानकारी गराएका थिए । सो अवसरमा उनले आइसियू सञ्चालन, बिस्तारीत ओपडी सेवा,  जीन एक्पर्ट मेसिनको जडान, सिविसी एनलाइजर मेसिन जडान, इन्टरनेटमा आधारित इलेक्ट्रोनिक मेडिकल रेकर्ड(इएमआर) लागू, अस्थायी दरबन्दीमा करार कर्मचारी भर्ना गरिनु, निःशुल्क बिशेषज्ञ शिविर सञ्चालन, मानसिक तथा रेडियोलोजी सेवाका विशेषज्ञ चिकित्सकहरुबाट मासिक रुपमा सेवा प्रदान गरिनु, अस्पतालका सेवा बृद्धि गरी थप व्यबस्थित हुनु र क्यान्सर लगायतका घातक रोगका विरामीलाई प्यालिएटिभ केयर सञ्चालनलाई मुख्य उपलब्धीको रुपमा बताए ।


अस्पतालका अध्यक्ष हरिजंग तामाङमा दरबन्दी अनुसार डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीहरु नहुँदा प्रभावकारी सेवा दिन नसकिए पनि विरामीहरुको सेवाका लागि अस्पतालले विस्तारित सेवा अन्तर्गत बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बहिरसंग विभागमा विरामीहरुको जाँच गर्ने गरिएको जानकारी दिए । उनले अस्पतालमा हाडजोर्नी, बालबालिका, स्त्रीरोग, मेडिसिन, एनेस्थेसिया र जनरल फिजिसियनसमेत हाल ८ जना विशेषज्ञ डाक्टरहरु र ८ जना मेडिकल अफिसरहरु कार्यरत रहेको जानकारी दिए ।

अध्यक्ष तामाङले अस्पतालको भवन जीर्ण र सानो भएकाले प्रभावकारी रुपमा सेवा दिन नसकिएको भन्दै अस्पतालको नयाँ भवन बनाउने योजना रहेको बताए ।

सो अवसरमा अस्पतालबाट गत आर्थिक बर्षमा ९१ हजार ५४ जनाले स्वास्थ्य सेवा पाएकामा अस्पतालमा भर्ना हुनेको संख्या ३ हजार ५ सय ७२ जना रहेको जानकारी गराइयो । यस अवधिमा ८ हजार ७९८ जना विरामीले आकस्मिक सेवा पाएकामा ७८५ वटा साना ठूला शल्यक्रिया भएका छन् । अघिल्लो आर्थिक बर्षमा यो संख्या १ हजार ९०१ रहकोमा गत आर्थिक बर्षमा घटेको हो ।


गत बर्ष अस्पतालमा २० हजार ८२६ वटा एक्सरे, ९ हजार ३८६ जनाको भिडियो एक्सरे, ६७४६ जनाको इसिजी, र ३३ हजार ६८५ जनाले प्रयोगशाला सेवा पाएका छन् ।

कार्यक्रममा सहभागीहरुले अस्पताललाई सुझाव दिँदै अस्पतालमा कतिपय स्वास्थ्यकर्मी र कर्मचारीहरुबाट रुखो ब्यबहार हुने गरेको, प्रयोगशाला सेवामा ढिलासुस्ती हुने गरेको, डाक्टरले लेखिदिएको औषधी अस्पताल फार्मेसीमा नपाइने गरेको, विस्तारिक बहिरंग सेवा भनिए पनि भने अनुसार सेवा नभएका लगायतका विषयमा गुनासो गरेका थिए ।

कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले अस्पतालले सेवा सुविधा थप गर्दै लगेकोमा धन्यवाद दिँदै कुनै दिन डाक्टरको मुख देख्न नपाइने अस्पतालमा अहिले ८ जना कन्सल्टेण्ट डाक्टर र त्यतिनै संख्यामा मेडिकल अधिकृतहरुबाट सेवा पाउनु ठूलो कुरा भएको बताए ।

उनले डाक्टर एवं स्वास्थ्यकर्मीहरुले मन बचत र कर्मले विरामीको सेवा गर्नुपर्ने भन्दै नीजि जीवन छोडेर विरामीको सेवामा लाग्नुपर्नेमा जोड दिए । उनले उपचारमा गल्ती कमजोरी गर्न नहुने सुझाव दिँदै केही कन्प्mयुजन भए सिनियर वा अन्य अस्पतालका बिज्ञ डाक्टरहरुसंगसमेत सल्लाह लिएर काम गर्न सुझाव दिँदै विरामीको ज्यान जोगाउनु नै डाक्टरको मुख्य धर्म भएकाले कमीकमजोरीहरुलाई सुधार गरी अघि बढ्न सुझाव दिए ।


प्रतिक्रिया