बेसीशहर, बैशाख ६ । गत चैत २३ गतेदेखि शुरू भएको ८ औं लमजुङ महोत्सव बुधवार समापन भएको छ । बैशाख ३ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सवमा पछिल्ला दिन दर्शकहरूको भीड बढ्न थालेपछि दुई दिन समय थप गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका महोत्सवको गण्डकी प्रदेश सभाका सदस्य एवं कांग्रेस नेता भेषबहादुर पौडेलले समापन गरेका हुन् । सो अवसरमा बोल्दै पौडेलले विकास र समृद्धिका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको चर्चा गर्दै लमजुङ महोत्सवले लमजुङको विकासको ढोका खोलेको दावी गरे । उनले महोत्सव समापन भए पनि लमजुङको समृद्धिको खोजी गर्ने कामको शुरुवात भएको सो अवसरमा बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले लमजुङ जिल्लामा कृषि, जडिबुटी, जलश्रोत र पर्यटनको क्षेत्रमा अथाह सम्भावना रहेको चर्चा गर्दै यिनको प्रबद्र्धनका लागि महासंघ हातेमालो गर्न तयार रहेको बताए । समापन कार्यक्रम लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । महोत्सवको समापन गर्दै उनले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

महोत्सवका शुरूका दिनमा दर्शकको खासै चाप नदेखिए पनि पछिल्ला दिन महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता रह्यो । राम्रा र नाम चलेका कलाकारहरूको दैनिक मनोरञ्जनात्मक प्रस्तुतिका कारण महोत्सवमा दर्शकको भीड बढेको थियो । किनमेलकै लागि पनि महोत्सवमा भीड जम्मा भएको पाइयो ।
महोत्सवमा लोक स्वर सम्राट लमजुङको छोरो राजु परियार, मञ्जु विक, प्रमोद खरेल, शिव परियार, रमेशराज भट्टराई, लोक गायिका तथा लमजुङकै चेली सम्झना भण्डारी, चिज गुरुङ, माया गुरुङ, रामजी खाँण, टीका सानु, प्रताप दास, शान्तिश्री परियार लगायतका कलाकार लमजुङ महोत्सवको मञ्चमा उपस्थित भइ दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए ।
स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति, समृद्ध लमजुङको आधार भन्ने नाराका साथ लमजुङको जलविद्युत लगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन र आर्थिक मन्दिको प्रभावले सुस्ताएको ब्यापार ब्यवसाय र पर्यटनलाई पुरानै अवस्थामा फर्काउन महोत्सव गरिएको हो । तर महोत्सवमा लगानीमैत्री वातावरण र पर्यटन प्रबद्र्धनका कार्यक्रम खासै भएको देखिएन । महोत्सवले ब्यापार ब्यवसायलाई चलायमान बनाउने बताइए पनि महोत्सवका स्टलमा मात्र भीड देखियो तर बेसीशहर बजारका पसलहरुमा भने चहलपहल देखिएन । महोत्सवमार्फत जिल्लामा सञ्चालित होमस्टे, परम्परागत सीप र हस्तकलाको प्रबर्धन, कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने लक्ष्य लिइएकोमा महोत्सवमा परम्परागत सीप र हस्तकलाका सामानहरु उपहार दिने, जातीय संस्कृति देखाउने र सामान्य साहित्यिक गोष्ठी, स्थानीय कलाकारहरुको प्रस्तुति बाहेक अरु उपलब्धी नदेखिएको दर्शकको प्रतिक्रिया आएको छ ।
लमजुङ महोत्सवमा विभिन्न परम्परागत खाना महोत्सव गर्ने भनिए पनि मःम, चाउमिन, खसी कुखुराको मासुकै ब्यापार भएको देखियो । लोक दोहोरीले समेत महोत्सवमा स्थान पाएको नदेखिएको दोहोरी गीतका पारखीहरुले बताए । यतिसम्म कि लोकदोहोरीको क्षेत्रमा काम गर्ने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान लमजुङसंग समन्वय समेत नगरिएको गुनासो सुनियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका महोत्सवमा राखिएका स्टलहरूमा राम्रो ब्यापार भइरहेको स्टलका सञ्चालकहरूले बताएका छन् । दैनिक ५० हजारदेखि दुइलाख रूपैयाँ सम्मको ब्यापार भएको पोखराको तेर्सापट्टीबाट तन्ना, सिरकको खोल, लगायतका सामन बिक्री गर्न आएका एक ब्यापारीले बताए ।