गण्डकी प्रदेश सभाकाे अर्थमन्त्रीमा लमजुङका डा. टकराज गुरूङ

खबरकुञ्ज

पोखरा, जेठ १६ गते । नेपाली कांग्रेस लमजुङका सभापति एवं लमजुङ क्षेत्र नंं १ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य डा टकराज गुरुङ गण्डकी प्रदेशको अर्थमन्त्री नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेशबाट गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री नियुक्त भएसंगै प्रदेश सरकारको अर्थमन्त्रीमा डा गुरुङले जिम्मेवारी पाएका हुन् । पाण्डे पहिलो पटक मुख्यमन्त्री हुँदैमा अर्थमन्त्रीका रुपमा चित्रण गरिएका गुरुङ प्राविधिक कारणबस अर्थमन्त्री बन्न सकेका थिएनन् । यस पटक भने उनले मौका पाएका छन् । उनले बुधबारै पद तथा गोपनियताको शपथ लिइ पदभार ग्रहण गरेका छन् ।

२०७८ मंसिरमा नेपाली कांग्रेस लमजुङको सभापतिमा निर्वाचित भएका डा गुरुङ २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा लमजुङ प्रदेश सभा क बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घलेलाई पराजित गर्दै विजयी भएका डा गुरुङ गण्डकी प्रदेश सभामा पिएचडी गर्ने एकमात्र सांसद हुन् । उनले अर्थशास्त्र बिषयमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका छन् । 

मन्त्री बने लगत्तै डा गुरुङ अब बजेट निर्माणमा केन्द्रित हुनेछन् । आगामी असार १ गत गण्डकीे प्रदेश सरकारले बजेट ल्याउँदै छ । अर्थशास्त्रका ज्ञाता डा गुरुङले कस्तो बजेट बनाउने हुन सर्वत्र चासोको बिषय बनेको छ । 

डा गुरुङ अर्थमन्त्री बनेलगत्तै यता लमजुङमा कांग्रेस कार्यकर्तामा उत्साह र खुशी छाएको छ । विकासको दृष्टिकोणले प्रदेशका अन्य जिल्लाको तुलनामा निकै पछि परेको लमजुङमा आगामी बर्षको बजेटसंगै विकास र समृद्धिको लहर फैलने विश्वास कांग्रेस कार्यकर्ताहरुले गरेका छन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा लमजुङको विकासका लागि केही महत्वपूणर् काम भएकामा अब अर्थमन्त्री नै आफ्नो जिल्लाको हुँदा जिल्लाको विकासका लागि बजेट माग्दै हिँड्न नपर्नेमा जिल्लाबासीहरु आशावादी देखिन्छन् ।

प्रतिक्रिया