बेसीशहर, माघ १० गते । महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान लमजुङमा पनि शुरु हुने भएको छ । सरकारले ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको खोपको १७ लाख ७० हजार चार सय भाइल खोप ल्याइ पछि देशभर अभियानको रुपमा यही माघ २२ गतेबाट फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले यस खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई निःशुल्क खोप दिइने जानकारी दिएका छन् ।
डा. गौतमले किशोरीलक्षित यो कार्यक्रम विद्यालयकेन्द्रित हुने र देशभरका १८ हजार नौ सय वटा विद्यालयलाई खोपका लागि केन्द्र तोकिएको बताए । विद्यालयबाहेक आठ हजार दुई सय वटा थप केन्द्र तोकिएको छ ।
विश्वभर महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क रहे पनि नेपालको सन्दर्भमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्क अनुसार २ हजार २ सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो।
स्वास्थ्यकर्मीहरुका अनुसार एचपिभी एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भी. लाई मानिन्छ । यो भाइरसको २ सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । यीमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन् र नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यि दुई प्रजातिहरूबाट भएको देखिन्छ ।
अहिले दिइने भनिएको एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दावी गरिएको छ । क्यान्सर असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ। तथ्याङ्कअनुसार हरेक बर्ष दुई हजार र हरेक दिन नेपालमा छ जना महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको बताइन्छ ।
खोप अभियानको राष्ट्रिय कार्यक्रम अन्तर्गत हरेक जिल्लाका स्थानिय तहहरुमा फरक फरक मितिमा खोप अभियान चल्ने र बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरु तथा बिद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाइ खोप लगाइने छ ।
स्वास्थ्य कार्यालय लमजुङका अनुसार लमजुङमा बेसीशहर, सुन्दरबजार, मध्यनेपाल, राइनास नगरपालिका र दुधपोखरी गाउँपालिकामा माघ २२ गते देखी २५ गतेसम्म खोप अभियान सञ्चालन हुने छ । क्व्होलसोंथार, मस्र्याङ्दी र दोर्दी गाउँपालिकामा माघ २२ गतेदेखि २४ गते सम्ममात्रै खोप अभियान सञ्चालन हुने छ । खोप लगाउन छुटेका किशोरीहरुलाई लक्षित गरि माघ २७ गते लमजुङ अस्पतालमा खोप उपलब्ध गराइने छ ।
खबरकुञ्ज