बेसीशहर, भदौ १६ । लमजुङका दुई लोकप्रिय गायिकाहरु मलेसियामा सम्मानित भएका छन् । मलेसियाको क्वाललाम्पुरमा गत मंगलबार आयोजित चौथो ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्सका क्रममा लोकप्रिय गायिकाहरु सीतादेवी दुरा र राधा भण्डारी सम्मानित भएका हुन् ।
लमजुङको मौलिक ठाडोभाकाको संरक्षण र सम्बद्र्धनमा अनवरत रुपमा क्रियाशील दुई गायिकाले लोकगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ग्लोबल आर्ट, कल्चर एन्ड टुरिजम नामक संस्थाले उनीहरुलाई गायन सम्मानद्वारा सम्मानित गरेको हो ।

दुरा र भण्डारीसंगै नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान दिने बरिष्ठ कलाकार शिवहरि नेपाल(बैरागी) लाई कला सम्मान, बरिस्ठ गायक एवं सङ्गितकार नरहरि प्रेमीलाई सङ्गित सम्मान, पवन प्रसाद खतिवडा र रामसिङ तामाङलाई कला सम्मान, गोपाल ढकाल(छन्दे)लाई कलाकारिता सम्मान, राजेन्द्र शर्मालाई न्याय÷कला सम्मान, बिमान कार्कीलाई ब्यवसाय सम्मान, शोभा क्षेत्रीलाई गायन सम्मान, कला सम्मान, र सोभित उप्रेती, प्रविन घिसिङ र वद्रीप्रसाद उप्रेतितलिाई समाजसेवी सम्मान अर्पण गरियो ।
सोही अवसरमा ग्लोबल आर्ट, कल्चर एन्ड टुरिजमका अध्यक्ष एवं अभिनेता श्रीदेव भट्टराईलाई देश बिदेशमा नेपाली कला÷संस्कृति चिनाउन उल्लेख्य भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो ।
मलेसियाको क्वाललम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा भव्य रुपमा आयोजना गरिएको बिशेष कार्यक्रममा प्रमुख अतिथि आरसि एसिया प्यासिफिक एनआरएनका प्रमुख हरि भट्टराई र मलेसियाका लागि नेपाली राजदुतावासका कार्यबाहक राजदुत मोदिता बज्राचार्य लगायतले सम्मानित कलाकार तथा ब्यक्तिहरुलाई सम्मान अर्पण गरेका थिए । कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद्, व्यवसायी, विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरु सहभागी थिए ।
नेपाली कला संस्कृति एवं पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुदै आएको ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्स यसपटक मलेसियामा आयोजना भएको हो । सो अवसरमा बक्ताहरुले नेपालको पर्यटन प्रबद्र्धन, कला, साहित्य, भाषा, संस्कृतिति र ब्यवसायको बारेमा चर्चा गरेका थिए ।
खबरकुञ्ज