धेरै बाठो बन्न खोज्दा प्रचण्डले सय बल्ड्याङ खाएः सूचना प्रबिधि मन्त्रि गुरूङ

खबरकुञ्ज

बेसीशहर, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङल धेरै बाठो बन्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सय बल्ड्याङ खाएको टिप्पणी गरेका छन् ।

गृह जिल्ला लमजुङमा प्रेस चौतारी नेपाल लमजुङले आज गरेको सम्मान कार्यक्रम तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरूङले भने- “लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ सय बल्ड्याङ भन्ने उखान छ नि ! प्रचण्डलाई त्यही भएको छ । उनले कांग्रेससंग गठबन्धन गरी एमालेसंग मिलेर सरकार बनाए । त्यो गठबन्धन ६५ दिनमै भत्काए र पुनः कांग्रेससंग गठबन्धन गरे । कांग्रेससंगको गठबन्धन भत्काएर पुनः एमालेसंग गठबन्धन गरे । देउवा र ओली दुवैले अहिलेको गठबन्धनको कल्पना नै गरेका थिएनन् । तर परिस्थितिले दुई दललाई संगै बनाइदियो । प्रचण्डको ३२ नम्बरको जादूले अब काम गर्दैन । यी दुई पार्टी मिलुञ्जेल र दुइ नेता मिलिन्जेल सरकारलाई बहुमतको समस्या छैन र बाँकी पूरै अबधि यो गठबन्धन चल्छ ।”

उनले अगाडि थपे- “राजनीतिक स्थिरताका लागि यो गठबन्धन राम्रो विकल्प हो । जनताका निराशा सकिए । हामी ठूला दुई दल मिले राम्रो हुन्छ भन्ने प्रमाणित गर्छौं । प्रतिपक्ष कमजोर भए सरकारलाइ अंकुस लगाउने सक्दैन, लोकतन्त्र कमजोर हुन्छ भन्ने भास्य परिवर्तन गर्न चाहन्छौं । अब देशमा विकास निर्माणले गति लिन्छ ।”

मन्त्री गुरुङले १८ खर्बको बजेटमा ३ खर्बको विकास बजेट पनि खर्च गर्न नसक्नुले देश विकास हुन नसक्ने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तोमा देशको विकास कसरी हुन्छ ? उद्योग धन्दा कसरी फस्टाउँछ ? आयात प्रतिस्थापन कसरी हुन्छ ? सरकार अस्थिर भएकाले पूँजीगत खर्च हुन नसकेको भन्दै उनले स्थिरता नभएसम्म विदेशी लगानी भित्रयाउन नसकिने बताए । 

मन्त्री गुरुङले विभिन्न कारण देखाएर कांग्रेस एमाले गठबन्धनको बचाउ गरे । उनले सरकार लोकतान्त्रिक मूल्यमान्यता अनुसार चल्ने भन्दै कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भए पनि मुख्य राजनीतिक मुद्दा समाधान गर्न सधैं मिल्ने गरेको स्मरण गरे । उनले भने- “यसपटक देखिने गरी संकट नभए पनि संविधान, ब्यवस्था माथि नै संकट आइलाग्न लागेकाले कांग्रेस एमाले गठबन्धन बन्न पुग्यो । संघीयता, राजा फर्काउने र लोकतान्त्रिक गणतन्त्र विरूद्धका काम कारबाहीले मुलुकमा संकट आउन लागेकोले कांग्रेस एमाले नमिली सुखै भएन ।”

उनले भने देशको आवश्यकता मात्र नभइ ब्यवस्था जोगाउन पनि दुइ दलको सहमति र सहकार्य आबश्यक रहेको चर्चा उनले गरे । 


प्रेस चौतारीको सम्मान ग्रहण पछि पत्रकारहरूसंग बोल्दै उनले नेपालको आफ्नै भूउपग्रह राख्ने, सरकारी काममा सूचना प्रबिधिको प्रयोग बढाई नेपाललाई पेपरलेस राज्य बनाउने उद्घोष गरे । उनले दूरसञ्चार प्राधिकरणलाइ सशक्त बनाइ नियमन गर्ने र त्यहाँ हुने गरेको अरबौंको चलखेललाइ रोक्ने प्रतिबद्धता पनि जनाए । उनले भने- “प्राधिकरणका कर्मचारीलाइ नियन्त्रणमा राख्ने र प्राधिकरणमा कुनै बिचौलियालाइ चलखेल गर्ने भ्रष्टाचार हुन दिन्न ।”

मन्त्री गुरुङले देशका सबै सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशालाको स्थापना गरि श्रोत साधनले पूणर् बनाउने र हुलाक सेवालाई समय सापेक्ष बनाई आबश्यकता अनुसार हुलाक कार्यालय र कर्मचारी राखिने बताए ।

मन्त्री गुरुङले विषम परिस्थितिमा पनि आफूलाई प्रतिनिधि सभा सदस्यमा जिताएर मन्त्री बन्ने सौभाग्य दिलाएका जिल्लाबासीलाई धन्यवाद दिए । “तपाइँहरूको मन्त्री हूँ, तपाइँहरू नै मन्त्री भएको हो । विकासका लागि तपाइँहरुलाई म भौतिक पूर्वाधार मन्त्री बनिदिए हुन्थ्यो भन्ने लागेको थियो होला, मलाइपनि त्यही लागेको थियो । तर पनि सिनियर मन्त्री छु, यो लमजुङको सम्मान हो । लमजुङे जनताको विश्वासलाइ कायम राख्दै, तपाइहरूको सान बचाउँछु, सफल मन्त्री बन्ने प्रयास गर्छु । लमजुङे जनताको आशा, भरोसा र विश्वासलाइ कायम राख्दै काम गर्छु् । जति समय मन्त्री हुन्छु जनताका आशा र भरोस अनुसार काम गरी जनताको मन जित्ने कोसिश गर्नेछु ।”- उनले भने ।

पत्रकार सम्मेलनमा पत्रकारहरुका कतिपय प्रश्नका जवाफ भने मन्त्री गुरुङले दिएनन् । पत्रकारहरुले मन्त्री गुरुङसंग गिरीबन्धुु, भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार काण्डका फाइल खुल्छन् वा लुकाइन्छन् भनि प्रश्न गरेका थिए ।

प्रतिक्रिया