सर्वोदयलाई धर्मनाथ धाम बनाइँदै, अक्षय तृतीयादेखि सप्ताहब्यापी धार्मिक अनुष्ठान

खबरकुञ्ज

बेसीशहर, बैशाख १५ गते । परिवारबाट तिरस्कृत भएका, असहाय, बेसहारा र धनसम्पत्ति हुँदाहुँदै पनि बुढेसकालमा एक्लिनु परेका ज्येष्ठ नागरिककाे आश्रयका लागि २०६८ मा स्थापना भएको लमजुङको सर्वोदय ज्येष्ठ नागरिक आश्रम विस्तारै धार्मिक केन्द्रको रुपमा समेत विकसित हुन थालेको छ ।

राईनास नगरपालिका वडा नंं ८ को हर्राबोटमा स्थापित भएको सर्वोदय सेवाश्रमले २०६७ माघमा श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल महायज्ञ आयोजना गरी संकलन भएको झण्डै ८५ लाख रुपैयाँ र सो क्रममा दान प्राप्त भएको झण्डै ६० रोपनी जग्गामा सर्वोदय ज्येष्ठ नागरिक आश्रम निर्माण गरेको थियो । यही आश्रमलाई केही बर्षयता धर्मनाथ धामको रुपमा विकास गरिएको छ ।


ज्येष्ठ नागरिक आश्रमका साथै ज्येष्ठ नागरिक आरोग्य केन्द्र, योग ध्यान तथा साधना केन्द्र सञ्चालन हुँदै आएकोमा आश्रम परिसरमा कैलाश पर्वत, महादेव, पार्वती तथा गणेश कुमारको मूर्ति, १०८ वटा गोमुखी धारा, १०८ शिवलिङ्ग, १००८ शालीग्रामको स्थापना गरी आश्रमलाई धार्मिक गन्तब्यको रुपमा विकास गरिएको आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताए ।


उक्त क्षेत्रलाई धार्मिक केन्द्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत यही बैशाख १७ गते अक्षय तृतीयाको पावन दिन पारेर साप्ताहब्यापी धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । सोही अवसरमा त्यहाँ स्थापित देवी देवताहरुको मूर्तिमा प्राण प्रतिष्ठा गरी उद्घाटन गरिनुका साथै हवन, रुद्रीपाठ र शिवमहापुराण वाचनको कार्यक्रम राखिएको छ ।

नेपाल र भारतका प्रख्यात आध्यात्मिक गुरुहरुको उपस्थिति रहने उक्त धार्मिक अनुष्ठानको पूर्वाङ्ग, भजन कीर्तन, आरतीका साथ पूर्णाहुति गरी समापन गरिने छ । उक्त अनुष्ठानमा सहभागिता जनाउन सर्वोदय सेवाश्रमले सबैलाई आग्रह गरेको छ ।


पछिल्लो समय सर्वोदय सेवाश्रमको विकासका लागि सरकारी सहयोग पनि जुट्न थालेको छ । अहिले राईनास नगरपालिकाले आश्रम संरक्षण र विकासका लागि जलबायु अनुकुल परियोजना अन्तर्गत ३० लाख रुपैयाँ बजेट दिएको छ । उक्त बजेटबाट धर्मनाथ धाममा मस्र्याङदी नदी किनारमा पर्खाल, नदीसम्म जाने सिँढी, धाम परिसारमा ढुंगा छाप्ने, कम्पाउण्ड पर्खाल, पानी पोखरी निर्माण लगायतका काम भइरहेका छन् ।

यसैगरी गण्डकी प्रदेश सरकारको सहयोगमा मध्यपहाडी लोकमार्गबाट आश्रमसम्म जाने सडकमा ढलान समेत गरिएको छ ।

आश्रममा हाल असाहय तथा ज्येष्ठ नागरिक गरी १८ जना आश्रित छन् । विभिन्न दाताहरुले दिने मुठीदानबाट चलिरहेको आश्रममा जन्मदिन, विवाह, पास्नी, विवाह बर्षगाँठ जस्ता अवसरमा विभिन्न ब्यक्तिहरुले खाना खुवाउने, अन्न, दाल तरकारी जस्ता खाद्यवस्तुहरु समेत सहयोग गर्ने गरेका छन् ।

आश्रमको आफ्नै करेसाबारीबाट ताजा तरकारी र गौशालाबाट दूधको जोहो हुने गरेको छ । बढी भएको दूध र घ्यू विक्रीबाट केही रकमको जोहो पनि हुने गरेको र आश्रमलाई दीगो रुपमा सञ्चालन गर्न अक्षयकोषको समेत स्थापना गरिएकोमा हालसम्म ४५ लाख रुपैयाँ अक्षयकोषमा जम्मा भइसकेको संस्थापक अध्यक्ष ओलियाले जानकारी दिए ।

५० जना ज्येष्ठ नागरिक राख्न सक्ने गरी बनाइएको आश्रममा ८ वटा भवन छन् । कार्यालय, भान्सा, सेमिनार हल, पञ्चकर्म थेरापी, पुस्तकालयसहित भवनमा १८ वटा कोठा छन् । आवासीय कोठाहरुमा शौचालय र स्नानघरको समेत ब्यवस्था छ । सबै कोठाहरु अपांगमैत्री छन् । 


प्रतिक्रिया