राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल, सरकार र नीति निर्माताहरुले सुदृढ गणतन्त्र, सवल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना हो भन्ने भुल्न नहुने बताएका छन् ।
आठौं लमजुङ महोत्सवको शुक्रबार बेसीशहरमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अवको मुलुकको आवश्यकता भनेको अर्थतन्त्रलाई चलायमान गतिशील, सुदृढ बनाएर तीब्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताए । मुलकुमा उत्पादन र रोजगारी बढाएर आयात घटाउने र निर्यात बढाउनेतर्फ विशेष ध्यान दिन र त्यसका लागि श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अनिवार्य हुने उनले बताए ।
राष्ट्रपति पौडेलले कृषि, पर्यटन, जलश्रोत र उद्योग ब्यवसायको विकासबाट नै औद्योगिकीकरणको मार्ग प्रशस्त गर्न सकिने भन्दै जनताको ठूलो त्याग बलिदान र संघर्षबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पनि लक्ष्य त्यही रहेको स्पष्ट पारे ।
महोत्सवको उदघाटन गर्न बेसीशहर आइपुगेका राष्ट्रपति पौडेलले आजै लमजुङ भ्रमण बर्ष २०८१ को समेत शुभारम्भ गर्दै विश्वमै उत्कृष्ट पर्यटकीय पदयात्राको ख्याति कमाएको अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वार भएका कारण लमजुङले आवश्यक सुविधा र पूर्वाधार खडागरीे पर्यटन ब्यवसायबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको चर्चा गरे ।
उनले आन्तरिक पर्यटनको केन्द्र बनेको घलेगाउँ, काउलेपानी, भुजुङसमेतका गाउँका होमस्टेमात्र होइन, गाउँशहर, बेसीशहर, राइनासटार, भोर्लेटार हुँदै चितीदेखि चिसंकुसम्म, घनपोखरादेखि डाँडाकुन्छासम्म र विचौरदेखि रिस्ती रम्घासम्मका पुराना नामी गाउँहरुले यस्तो मनोरम ऐतिहासिक आकर्षणको आयामलाई बढाइदिएको उल्लेख गरे । लमजुङ भ्रमण बर्ष अन्तर्गत लमजुङका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र महत्वपूणर् प्राकृतिक ठाउँह हेर्नपर्ने, जानुपर्ने, बस्नपर्ने, अनुभव गर्नुपर्ने, प्राकृतिक सौन्दर्य, सूर्योदयदेखि सूर्यास्तसम्मका सबै दृष्यहरु हेरेरे लाभ लिन सकिने भन्दै भ्रमणबर्ष सफल हुने कुरामा आफू आशावादी रहेको बताए ।
राष्ट्रपति पौडेलले लमजुङको जमीन र मान्छे रसिला अनि पाखा पखेरा हँसिला रहेको लमजुङको बयान समेत उदघाटन भाषणमा गरे । उनले आफै पनि लमजुङमा हुर्केबढेको, संघर्ष र आन्दोलनका उकाली ओराली गरेको स्मरण गर्दै भने- “लमजुङको संस्कृति र पाखा पखेरा देखेपछि मलाई भन्न मन लाग्छ - लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो, हिमालचुली मन्तिर पानी भर्ने पँधेरो ।”
उद्घाटन मन्तब्यमा राष्ट्रपति पौडेलले लमजुङ लुकेको सम्पतिको रुपमा रहेको चर्चा गर्दै लमजुङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक छटाको बयान गरे । लमजुङको हावापानी र प्रकृति अनुपम रहेको चर्चा गर्दै राष्ट्रपतिले कृषि क्रान्ति, पर्यटनको विस्तार र जलश्रोतको विकासको सशक्त आधारभूमि लमजुङ भएको उनले बताए । लमजुङमा अन्तरनिहीत सम्भावनालाई उजागर गर्न सके समृद्धिको स्वर्ग यहीं नै भेटिने र रोजगारी र आम्दानीको खोजीमा देश विदेश भौंतारिनु नपर्ने बताए ।
सो अवसरमा उनले लमजुङ साहित्य तथा सांस्कृतिक रुपमा पनि गौरवपूणर्, लोकतान्त्रिक आन्दोलनको उर्वरभूमि, लमजुङ आफ्नै गाउँबेसी र कर्मभूमि रहेको बताए । कुनै कालखण्ड खजे दुरासंग जोडिएर शाहबंशको ईतिहासको अभ्युदय भएको ऐतिहासिक स्थल लमजुङ नेपाल एकीकरण अभियानको साक्षी रहेको ऐतिहासिक स्थल रहेको उनले चर्चा गरे । उनले भने- “२००७ सालको परिवर्तनको पूर्व सन्ध्यामा जातीय भेदभाव, छुवाछुत विरुद्ध सामाजिक आन्दोलनको चम्कीलो जागरण बनेको हलोक्रान्ति यही भूमिबाट उब्जिएको र राजनीतिक चेतनाका लागि ब्राह्मणहरुले चलाएको सामाजिक जागरणको यो अभियानले राणा शासनको जग हल्लाइदिएको थियो । यहीँबाट प्रजातन्त्रको उज्यालो प्रकास पहाडी कुना कन्दराहरुमा फैलिएको हो ।”
महोत्सव उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले नेपाली भाषा साहित्यलाई समृद्ध बनाउने लमजुङका उपजहरु उदिम श्रष्टा राष्ट्रकवि माधव घिमिरे, महिला मुक्ति र सामाजिक परिवर्तनका सुत्रधार साहित्यकार डिठ्ठा श्रीप्रसाद घिमिरे, ईतिहासकार कष्णप्रसाद न्यौपाने, प्रकाण्ड समाजशास्त्री र भूगोलविद डा. हर्क गुरुङ, नेपाली रामायणका रचयिता डिल्लीजंग गुरुङ, साहित्यकार समालोचक बमबहादुर थापा जितालीलाई समेत मञ्चबाटै सम्झे । उनले ठाडो भाका, लोकदोहोरी, घाँटु र रोधी जस्ता मौलिक गीत संगीतले चेपे, मादी र मस्र्याङदीबाट कलकल बग्ने पानीका छालसंगै ध्वनी र प्रतिध्वनी हुँदै गुञ्जायमान हुँदै गरेको लमजुङको भूमि आफैमा विशिष्ट रहेको र यस्तो भूमिमा उभिइरहँदा आफू अल्हादित भएको चर्चा गरे ।
उनले मनासुलु र लमजुङ लगायतका हिमालको काखमा मनोरम प्रकृति र मादी मस्र्याङदी सहित अनेक नदीनालाले सिञ्चित लमजुङ जिल्ला कृषि पर्यटन र जलश्रोतको धनी रहेको र नीजि क्षेत्रसंगको सहकार्यमा यहाँको पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति विकास तथा मौलिक कला संस्कृति सम्पदा, रैथाने उत्पादनलाई पर्यटनसंग आपद्ध गराउन सक्नुपर्ने बताए । उनले उत्पादन, उत्पादकत्व र यस क्षेत्रको आर्थिक उन्नतिमा नीजि क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्ने आवश्यकता रहेको चर्चा गरे ।
राष्ट्रपतिले जलविद्युतका धेरै आयोजनाहरु लमजुङमा निर्माण भइरहँदा भविष्यमा उर्जाको आपूर्ति सहज हुने भएकाले यस क्षेत्रमा उद्योग स्थापना गर्ने वातावरण सिर्जना गर्नु उपयुक्त हुने सुझाव दिए । ट्रान्समिसन लाइनको अभावमा विजुली निर्यात गर्न नसकिनु चिन्ताको बिषय भन्दै उनले प्रसारण लाइन छिटो भन्दा छिटो सम्पन गराउन लागि सम्बधित क्षेत्रका मानिसहरुलाई सम्झाउने र झकझकाउने प्रयास गर्ने आश्वासन समेत दिए ।
राष्ट्रपतिले भने - “ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पकृतिक सम्पदा, दीगो पर्यटन उद्योग, समुन्नत लमजुङको मार्गदिशा भन्ने अवधारणासाथ जिल्लाका भौगोलिक, ऐतिहासिक, साहित्यीक र सांस्कृतिक तथा पर्यटनका गन्तब्यहरुका अलवा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरी जिल्लाको पर्यटन प्रबद्र्धनमा सहयोग जुटाउने यो कार्यक्रमले योगदान दिनेनै छ । यस्ता अभियान र गतिविधिल राष्ट्रिय अर्थतन्त्रलाईसमेत महत्वपूणर् टेवा पुग्ने छ भन्ने मैले विश्वास लिएको छु ।”
भिडियाे हेर्नुहाेस् ।