अघिल्लाे दिन सूचना, भाेलिपल्टै बजारबाट प्लाष्टिकका फूलमाला जफत, ब्यापारी आक्राेसित

मिलन शर्मा दनाई

बेसीशहर । जिल्ला प्रशासन कार्यालय लमजुङले शुक्रबार बेसीशहर बजार अनुगमन गरी बजारमा बिक्रीका लागि राखिएका ८ सय भन्दा बढी प्लाष्टिकका कृत्रिम माला जफत गरेकाे छ ।

तिहारका लागि बजारमा बिक्रीका लागि राखिएका कृत्रिम प्लाष्टिकमा माला जफत गरिएकाे हाे । शुक्रबार बेसीशहरकाे मनाङे चाैतारदेखि भीमसेनचाेक सम्म विभिन्न १२ वटा पसलमा राखिएका पसलहरूकाे अनुगमन गरी उक्त परिमाणकाे माला जफत गरिएकाे हाे । 

हरेक बर्ष तिहारमा बेसीशहर लगायत लमजुङका बजारहरूबाट लाखाैंकाे प्लाष्टिकका मालाहरू बिक्री हुँदै गरेका छन् । बिशेषगरी तिहारमा फूल तथा प्लाष्टिकजन्य फूलका मालाकाे बिक्री बढी हुन्छ । तिहारमा बिक्रीकै लागि ल्याइएका लाखाैंकाे माला प्रशासनले जफत गरेपछि ब्यापारीहरू भने आक्राेसित भएका छन् ।

प्रशासनले तिहार अगावै सार्वजनिक सूचना प्रकाशन गरी त्यस्ता प्लाष्टिकजन्य मालाहरू बिक्रीका लागि नराख्न सार्वजनिक सूचना प्रकाशन नगरी सिधै पसलहरूमा छाप मारी मालाहरू जफत गरेकाे ब्यापारीहरूकाे गुनासाे छ । उनीहरू भन्छन्– "प्लाष्टिकजन्य फूलमालाकाे बिक्री बितरण नगर्नका लागि प्रशासनले समयमै सूचना दिएन । अघिल्ला बर्षहरूमा निर्बाध रूपमा प्लाष्टिकजन्य फूलमाला प्रयाेग गर्न कुनै राेकटाेक नगरेकाे प्रशासनले एक्कासी तिहार लागेपछि मात्र यस्ताे सूचना गर्दा ब्यापारीहरूलाइ लाखाैंकाे घाटा परेकाे छ ।"

लमजुङ उद्याेग बाणिज्य संघका एक पदाधिकारी भन्छन्– "राजपत्रकाे सूचना सर्वसाधारणलाइ थाह हुँदैन, रेडियाे, पत्रपत्रिकाकाे सूचना पनि हिजाेआज धेरैले सुन्ने हेर्ने गर्दैनन्, त्यसैले समयमै सूचना जारी हुनु पर्थ्याे । प्रशासनले दशैं अगावै वा दशैंकाे लगत्तै यस्ताे सूचना जारी गरेकाे भए ब्यापारीहरूले यस्ता प्लाष्टिकजन्य फूलमाला खरिद नै गर्ने थिएनन् ।" उनी भन्छन्– "सूचना सही समयमा जारी हुनु पर्थ्याे, भएन, बिहीबार सूचना जारी गर्ने अनि ब्यापारीहरूले खरिद गरी बिक्रीका लागि राखेकाे फूलमाला शुक्रबार नै बरामद गरी  जफत गर्नु प्रशासनका ज्यादती हाे ।"

हुन पनि प्रशासनले तिहारकाे पहिलाे दिन बिहीबार बेलुका ४ बजेर ५२ मिनेटमा कार्यालयकाे फेसबुक पेजबाट एक सूचना जारी गरी प्लाष्टिक जन्य मालाकाे प्रयाेग नगर्न नगराउन भन्दै एक सार्वजनिक सूचना प्रकाशन गरेकाे थियाे ।

सूचनामा वातावरण संरक्षण एन  २०७६ काे दफा १६ काे उपदफा (६) ले दिएकाे अधिकार प्रयाेग गर्दै प्लाष्टिकजन्य फूलगुच्छाकाे उत्पादन, यात, बिक्री बितरण वा भण्डार गर्न पूर्ण रूपमा राेक लगाइएकाे र यस सम्बन्धी सूचना नेपाल राजपत्रमासमेत प्रकाशन भइसकेकाे स्मरण गराइएकाे छ ।

"वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य फूलमालाकाे उत्पादन, विक्री वितरण, ओसार पसार र उपभाेग गरेकाे पाइएमा प्रचलित कानुन बमाेजिम कारबाही हुने ब्यहाेरा सम्बन्धित सबैकाे लागि जानकारी गराइन्छ ।" जिल्ला प्रशासनद्वारा जारी सूचनामा भनिएकाे छ । सूचनामा वातावरणमैत्री र स्थानीय उत्पादनलाइ प्रबर्द्धन गर्न समेत टेवा पुग्ने भएकाले प्राकृतिक रूपमा उत्पादन गरिने पुष्पगुच्छा फूलमालाकाे प्रयाेग गर्न प्रशासनले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया