यिनको अधिकारका लागि कसैले बोलिदेला ? के पाउलान् त नागरिकता र सरकारी सुविधा ?

मिलन शर्मा दनाई

बेसीशहर । हराएको ३४ बर्षपछि गोरखाको चुमभ्यालीको एउटा चौंरीगोठमा भेटिएका प्रकास तामाङको कथाले राष्ट्रिय र अन्तराष्ट्रिय चर्चा पायो । ३५ बर्ष अघि झापाबाट गलैंचा बुन्न भनि काठमाडौं गएका ती बालक काठमाडौंबाट एकाएक हराएका थिए । गलैंचा बुन्ने कारखानाबाट निकालिएका उनलाई गोरखाको चुमभ्यालीका एक जना किसानले भेटे र चौरी गोठमा काम  गराउन आफैसंग चुमभ्याली लगेका रहेछन् । हेर्ने कथा नामको युट्युव च्यानलले उनलाई करीब एक बर्ष अघि चुमभ्यालीमा भेटेपछि उनको कथा दुईसाता अघि प्रसारण ग¥यो । यो कथा अत्याधिक रुचाइयो । 

दुईसाता अघिसम्म को हूँ, कहाँको हूँ भन्नेसम्म थाह नपाएका प्रकासले यो कथा बाहिरीएपछि१० बर्षको उमेरमा छोडेको घर परिवार भेटे, बृद्ध भएका बाबुआमा, दाजुभाइ, दिदीबहिनी र आफन्त साथीभाइ भेटे । अहिले उनी चुमभ्याली छोडेर बाबु आमा दाजु भाइ बस्ने भोजपुरको गाउँमा पुगेका छन्  । उनले परिवारसंगै नागरिकता पाएका छन्, हजारौं लाखौंको माया पाएका छन् । उनको यो कथा युट्युवमा १ करोड भन्दा बढी पटक हेरिएको छ ।

हाम्रो समाजमा प्रकासको जस्तै कथा भएका थुप्रै छन् । कति बाहिर आउँछन्, कति ओझेलमै पर्छन् । कोहीका कथा बाहिर आएर पनि ओझेलमै हुन्छन्, ओझेलमा परेकाहरुको कथा झन बाहिर आउने कुरै भएन ।

यस्तै दुःखदायी कथा छ रोल्पाका बुद्धिबहादुर पुन मगरको पनि । २०५२ सालबाट देशमा शुरु भएको सशस्त्र द्वन्द्धको चेपुवामा परेर गाउँ छाडेका उनी त्यसपछि घर फर्केका छैनन् । माओवादी सशस्त्र द्वन्द्धको उद्गमथलो हो रोल्पा । यो युद्ध शुरु भएपछि धेरैले ज्यान गुमाए, धेरै बेपत्ता भए, धेरै मान्छे विस्थापित भए । यही बेला रोल्पाको एक गाउँबाट विस्थापित भएका थिए बुद्धिबहादुर पुन मगर पनि । गाउँका अन्य दाजुभाइसंगै गाउँबाट विस्थापित भइ  भौंतारिएका उनी केही समयपछि हिमालपारीको जिल्ला मनाङमा पुगे ।

मनाङ जिल्ला कहाँ पर्छ बुद्धिबहादुरलाई थाह पनि थिएन । प्रष्टसंग बोल्न नसक्ने  उनी सुस्त मनस्थिति र बौद्धिक अपांग हुन् । उनी त गाउँका दाजुभाइको पछि लागेर मनाङ पुगेका थिए । बर्षौ त्यहाँ मजदुरी गरेर विताएका उनलाई आफ्नो अपांगता र सुस्त मनस्थितिकै कारण घर परिवारको याद पनि छैन । बल छउन्जेल उनले मनाङमा मजदुरी गरेर जिविका चलाए । 

विस्तारै उमेर ढल्दै गयो । शरीरमा बल पनि घट्दै गयो । बुद्धिबहादुरले बल छउन्जेल त काम पाए । काम पाएपछि धेरेथोर पैसा पनि आयो । जेनतेन जिविका चल्यो । शरीरले काम गर्न नसकेपछि झण्डै तीन दशकसम्म मजदुरी गरेको त्यही ठाउँ विरानो बन्यो । काम गर्न नसकेपछि माम पनि पाउन छोडे उनले । हिजो कामको लागि उनलाई बोलाउनेहरुलाई उनी बोझ बन्न पुगे । शरीरमा बल नभएपछि र साथमा पैसा नभएपछि आफ्नै घर परिवारबाट पनि मान्छे हेला हुन्छ भन्छन् । बुद्धिबहादुर त घर परिवारको ठेगान नभएका न परे । अनि वेवारिसे बन्न बाध्य भए ।

उनीसंगै मनाङ पुगेका गाउँलेहरु पहिल्यै घर फर्किसकेका थिए । कोही शान्ति स्थापना भए लगत्तै त कोही केहि अगावै घर फर्केकामा बुद्धिबहादुर भने फिर्न सकेनन् । हेर्ने कथाका प्रकास त राम्ररी बोल्न सक्छन्, उमेरका मान्छे छन् । तर बुद्धिबहादुरलाई भने आफ्नो घर कहाँ छ ? परिवारमा को को छन् ? उमेर कति भयो अहिले पनि  थाह छैन । हेर्दा ७० बर्ष कटेजस्तो देखिने उनी राम्ररी बोल्न सक्दैनन्, बोलिहाले भने पनि उनले बोलेको बुझिदैन ।

गत बर्ष मनाङको नासों गाउँपालिकाले उनलाई बेवारिसे ब्यक्ति भन्दै लमजुङको सर्वोदय ज्येष्ठ नागरिक आश्रममा पठायो । त्यसपछि उनी आश्रममा छन् ।

सर्वोदय ज्येष्ठ नागरिक आश्रमका संस्थापक कृष्णराज ओलिया भन्छन्– "बुद्धिबहादुरको नागरिकता छैन । जसका कारण राज्यबाट प्राप्त हुने सबै सुविधाबाट उनी बञ्चित छन् । चुमभ्यालीमा आधा जीवन विताएका प्रकाश तामाङको नागरिकता बनेको खबरले हामीलाई उनको यो कथा भन्ने प्रेरणा मिलेको हो ।" 

सर्वोदय ज्येष्ठ नागरिक आश्रममै रहेकी मीरा शाक्यको कथा पनि प्रकास र बुद्धिबहादुरको जस्तै छ । ललितपुरको इमाडोल घर बताउने मिरा बिगत १० बर्ष देखि सर्वोदयमा आश्रित छन् । उनको पनि नागरिकता छैन ।

मानसिक रुपमा बिक्षिप्त अबस्थामा कोसिस नामक संस्थाले उनको उद्दार गरि उपचार पश्चात १० बर्षअघि महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयको सिफारिसमा उनलाई सर्बोदय सेवाश्रममा ल्याईएको थियो । उनी अहिले पनि मानसिक स्वास्थ्यको औषधी नियमित खाने गर्छिन् । उनको औषधीका लागि बार्षिक ३० हजार भन्दा बढी आश्रमले खर्च गर्ने गरेको छ । नागरिकता बिहिन हुनाले राज्यबाट पाउने स्वास्थ्य सुविधा र सामाजिक सुरक्षा भत्ताबाट उनी पनि बञ्चित छन् । 

मीराको घर भने काठमाडौंको बुढानिलकण्ठ र माइती इमाडोल रहेछ । उनका माइती थापा क्षेत्री हुन्, विवाह शाक्यसंग भएको रहेछ । श्रीमान्ले सौता ल्याएपछि मीरा विक्षिप्त भएकी रहेछिन् । 

उनी विक्षिप्त भएपछि कोसिस नामक गैरसरकारी संस्थाले उनलाई उद्धार गरी मानसिक अस्पतालमा उपचार गरायोे । केही ठीक भएपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सिफारिस गरे पछि उनलाई सर्वोदयमा ल्याएर राखिएको हो । उनलाई अझै पनि राम्ररी निको भएको छैन । उनलाई मानसिक रोगको औषधी नियमित खानुपर्छ, नखाए अप्ठेरो हुन्छ । 

उनकी एक छोरी थिइन्, तर हराएकी रहेछिन् । मीरा बेला बेलामा आश्रमका संस्थापक कृष्णराज ओलियासंग आफूलाई माइत लगिदिन आग्रह गर्छिन् । उनको आग्रह अनुसार आश्रमका अहिलेका अध्यक्ष सुकदेव रिसाल काठमाडौं गएर उनको माइतीको खोजी पनि गरेका थिए । उनका बाबु आमा दाजु भाइ सबै वितिसकेका रहेछन् । भदाहरुले उनीप्रति चासो नराखेपछि उनी त्यसै फर्के । 

“पहिला पहिला घर लगिदिनु भन्थिन । हाम्रो घरमा घारे बाहुन आउँछन् भन्थिन । यसको आधारमा सुकदेव सरले इमाडोलमा गएर बुझ्नुभयो । धेरै सोधखोजपछि उनको माइती त फेला परे, तर उनीहरुले मतलब नै गरेनन् ।”–ओलियाले भने ।

नेपालको राज्यकोषबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री राजनीतिक दलका नेता, तिनका सुकिला मुकिला कार्यकर्ताले हदैसम्मको सुविधा लिने गरेका छन् । टाठा बाठाले अनेक बहानामा राज्यको ढुकुटीको दोहन गरिरहँदा बास्तवममै सकसको जिन्दगी विताइरहेका यस्ता असहाय र बेसहारा एकल ब्यक्तिहरु भने राज्यको आधारभूत सुविधाबाट पनि बञ्चित हुनुपर्ने बिडम्बना छ । यिनका अधिकारका लागि बोलिदिने र लडिदिने कोही छैन । प्रकाश तामाङको कथा ट्रेन्डिङमा गयो । त्यसपछि मात्र प्रधानमन्त्री र उच्च पदस्थहरुले उनीप्रति चासो राखे । नागरिकता नभएका उनलाई नागरिकता दिन सरकारी अधिकारी र जनप्रतिनिधिहरु लस्करै घरमा पुगेका धेरै समाचार आए ।

के यी सर्वोदयमा रहेका विचरा बुद्धिबहादुर  पुन मगर र मीरा शाक्यले पनि  अब नेपाली नागरिकता पाउलान त ? के यिनले पनि सरकारी सुविधा पाउलान् ? बोल्नेको मात्रै पीठो विक्ने नेपाली समाजमा बोल्न नसक्ने यी असाहयको अधिकारका लागि कसैले वकालत गरिदेला ? बोलिदेला ? सिडिओले नागरिकता बनाइदेलान ? पालिकाले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउला ?

प्रतिक्रिया