पोषणमा सुधारका लागि लमजुङकाे दाेर्दीमा स्वस्थ बच्चा प्रतिस्पर्धा

बेसीशहर । खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपुर्याउँदा नेपालका धेरै बालबालिका कुपोषणको सिकार भएका छन् । मातृशिशु स्वास्थ्य सम्बन्धि आवश्यक जानकारी र चेतना नहुँदा बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल प्रभावलाइ कम गर्न र बालबालिकाकाे पोषण तथा स्वास्थ्यमा सुधारका लागि लमजुङकाे दाेर्दी गाउँपालिकामा बुधवार स्वस्थ बच्चा प्रतिस्पर्धा गराइएकाे छ ।

प्रतिस्पर्धामा बालबालिकाको पोषण र सरसफाइको अवस्था, बालस्याहार जस्ता पोषणलाई प्रत्यक्ष असर गर्ने मुख्य तीन क्षेत्रगत अवस्थाका अाधारमा बालबालिकाकाे मूल्याङ्कन गरिएकाे थियाे । 

प्रतिस्पर्धाका लागि विभिन्न सूचक निर्धारण गरिएको थियाे। सफा अनुहार, सफा कपडा लगाएको, सफा कपाल, सफा हातखुट्टा, सफा दाँत तथा बालबालिकाको पोषण स्वास्थ्य अवस्थाको मूल्यांकन गरिनुका साथै बिरामी हुँदा स्वास्थ्य संस्था लगे नलगेको, नियमित खोप लगाए नलगाएको, तौल र पाखुराको नाप, अभिभावकको पोषण स्वास्थ्यबारे बुझाइ र व्यवहार, शौचालय निर्माण र प्रयोग, जन्मान्तर कायम गरेको, स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सरसफाइमा ध्यान दिएको, पोषणयुक्त खानेकुरा खुवाए नखुवाएको लगायतका सूचक तयार पारिएको थियाे।

प्रतिस्पर्धामा दाेर्दी ७ लप्सीबाेटका प्रियान्सु गुरूङ प्रथम, दाेर्दी १ गिरीगाउँका अंकित गिरी द्वितीय र दाेर्दि ८ खिञ्चाेकका अनुज तामाङ तृतीय भए ।

पुरस्कृत बालबालिकाका अभिभावकलाइ पुरस्कार स्वरूप पाेषण सामग्री वितरण गरिएकाे थियाे ।

पुरस्कार वितरण गर्दै दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले समुदायमा बालबालिकाको पोषण अवस्थामा सुधार गर्ने र अभिभावकमा बालस्वास्थ्यको मुख्य पक्षबारे जानकारीसहित बालस्याहारान थप उत्पेरणा जगाउन कार्यक्रम सञ्चालन गरिएको बताए।

कार्यक्रम अन्तर्गत बालबालिकाको स्याहार, आहारविहारमा संवेदनशील गराउने, जोखिममा रहेका बच्चाका अभिभावकलाई आवश्यक परामर्श दिने र भिटामिन, जुकाको अ‍ैषधी खान छुटेका बालबालिकालाई खुवाउन प्रेरित गरिएकाे गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले बताए। 

प्रतिक्रिया