नाैथर शेरा । मंगलबार दिउसो तीन बजेतरि दोर्दी गाउँपालिका वडा नंं ४ का अन्दाजी ६५ बर्षका धनबहादुर गुरुङ मंगलबार गाउँपालिकाको कार्यालयमा भेटिए । पालिकाका अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा अरु पनि थुप्रै सेवाग्राही थिए । सबैले आफनो समस्या राखेपछि धनबहादुरको पालो आयो ।
खोत जाेत्न मिनी ट्रिलरको माग राखे उनले । उनका हलगोरु बिरामी छन् । खेत रोप्ने बेलामा खेत जोत्ने गोरु विरामी परेपछि उनलाई हुनसम्मको चिन्ता परेको छ । बिउ छिप्पिइ सक्यो, खेत रोप्न त के, बाँझो मार्न पनि पाएका छैनन् गुरुङले । खेत जोत्ने गोरु विरामी भएपछि मिनी ट्रिलरको माग गर्न आएका थिए उनी गाउँपालिकाको कार्यालयमा ।
गुरुङको जस्तै समस्या वडा नं. ७ फलेनीकी सरस्वती बोहोराको पनि छ । उनले भनिन्– "गाउँमा सबैको घरमा गोरु विरामी छन् । गोरु वा गाई विरामी नपरेको त घरै छैन ।"
बोहोराका अनुसार उनको गाउँमा मात्रै पछिल्लो समय ३ वटा स्थानीय जातका गाई मरेका छन् । गोरु २ वटा मरे । गाउँका २५ हलगोरु विरामी परेका उनले बताइन् ।
गाउँपालिकाको कार्यालयको पछाडी पशुपंक्षी सेवा शाखा छ । पशु सेवा शाखाका प्रमुख शंकर पन्थीलाई अचेल एकैछिन फुर्सद छैन । कहिले औषधीको प्याक बोकेर आउँछन्, औषधी निकालेर सेवाग्राहीलाई दिएर के कसरी औषधी खुवाउने सल्लाह दिन्छन् । घरी फोनमा कतै किसानहरुसंग कुरा गरिरहेका हुन्छन् । गाई गोरु विरामी परेको भनेर उनलाई फोनमा पनि त्यतिकै गुनासो आइरहेको छ। सेवाग्राहीलाई सम्झाउँदै उनी पशु सेवा प्राविधिकहरु आउँदै गरेको सुनाउँछन्, कहिले यसो गर्नुस, उसो गर्नु भनेर सुझाव दिन्छन् ।
उनको कार्यकक्षमा दोर्दी ६, काल्चे ढोडेनीका छोमाया गुरुङ र मैतीमाया गुरुङ भेटिए । उनीहरु पनि गोरु विरामी भएर औषधी लिन पालिकाको पशुपंक्षी सेवा शाखामा आएका रहेछन् । शाखा प्रमुख पन्थी पुनः औषधी सकिएकाले औषधी लिन गए । हामीले छोमाया र मैतीमायासंग गाउँको हालखबर सोध्यौं ।
मैतीमायाले भनिन्- "खेत रोप्न ढिला हुन लागिसक्यो, घरमा रहेका हलगोरु विरामी छन् । गोरुलाई कडा ज्वरो आएको छ, शरीरभरि डल्ला निस्केका छन्, र्याल काड्छन, खान मन गर्दैनन् । जोत्न सक्दैन ।" खेती लगाउने बेलामा गोरु विरामी भएपछि छोमायालाई पर्नुसम्मको पीर परेको छ । उनले भनिन्– "एउटा दुइटा गरा भएको भए खनेर पनि खेत रोप्न हुन्थ्यो, खेत धेरै छ, खन्न सकिन्न ।" यही बेलामा खेत जोत्ने गोरु विरामी परेपछि यसपाली खेत रोप्नै नपाइने हाे कि भन्ने चिन्ताले उनलाई खाइरहेको छ ।
छोमायासंगै पशुपंक्षी सेवा शाखामा भेटिएकी मैतीमायाले भनिन्, -“हाम्रो घरको हलगोरु विरामी भएको ३० दिन भैसक्यो, मेरो मात्र होइन,पुरै गाउँमा गोरु विरामी छन् । मेरा मात्र भए त छिमेकीको हलगोरु मागेर खेत रोप्न हुन्थ्यो, तर छिमेकीका गोरु पनि विरामी भएपछि खेतै रोप्न नपाइने हो कि भन्ने चिन्ता छ ।” ।
दोर्दी गाउँपालिका वडा नंं ६ कल्चेगाउँमा ९ हलगोरु विरामी परेका भन्दै उनले भनिन्, खेत त जोत्नै पर्यो, गाउँपालिकाले अनुदानमा मिनी टिलर दिए हुन्थ्यो ।
छोमाया र मैतीमायासंग कुरा टुंगिन नपाउँदै औषधीको प्याक बोकेर पशुपंक्षी शाखाका प्रमुख पन्थी आइपुगे । छोमाया र मैतीमायालाई उनले औषधी र झिंगा, लामखुट्टे धपाउने स्प्रे दिए । गाई गोरुको घाउमा लगाउने मल्हम पनि दिँदै उनले औषधी खुवाउने तरिका र रोग पशुलाई गर्नुपर्ने स्याहार सुसारबारे सम्झाए ।
हामीले दोर्दी गाउँपालिकामा पशुचौपाय विरामी हुनुको कारण र पछिल्लो अवस्थाबारे सोध्दै थियौ, त्यही बेला दोर्दी ४ का अर्का किसान मनबहादुर घिमिरे आइपुगे । उनका पनि हलगोरु मध्ये एउटा विरामी भएको रहेछ । गाउँपालिकाको पशुपंक्षी शाखाबाट औषधी लिएर खुवाएपछि गोरु निको हुन्दै गएको रहेछ । उनी थप उपचारका लागि सल्लाह गर्न आएका रहेछन् । पन्थीले उनलाई सुझाव दिए-“यो बर्ष गोरुलाई आरम दिनुस्, नजोत्नुस् । विरामी भएको बेला गोरु निको नै भए पनि कमजोर हुन्छ । गोरुलाई औषधीसंगै पोषिलो खानेकुरा दिनुस चर्को घाममा जोत्दा फेरि बिरामी पर्यो वा मर्यो भने नोक्सान हुन्छ ।”
पन्थीका अनुसार अहिले दोर्दीमा लम्पी स्किन रोग नियन्त्रण बाहिर छ । पालिकाभरि ५ सय भन्दा बढी गाईगोरु अहिले विरामी छन् । वडा नंं १ भारते र वडा नंं ९ हिलेटक्सार बाहेक बाँकी ७ वटा वडामा लम्पी स्किन रोगले सयौं गाईगोरु विरामी परेपछि पशुपंक्षी शाखाका पशु सेवा प्राविधिकहरुलाई धपडी छ ।
उनले भने- “अहिलेसम्म ४ वटा गोरु, ४ वटा गाई र २ वटा भैंसी यो रोग लागेर मरेको खबर छ । गत जेठ ७ गते दोर्दीमा पहिलो पटक यो रोग देखियो, वडा नंं ८ की भीमकुमारी गुरुङको घुम्ती भैंसीगोठमा थुप्रै भैंसी विरामी भए, दुईवटा भैंसी त मरेछन् । तुरुन्त हामीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्यौ, लक्षण बताएपछि लम्की स्किन नै भन्ने कुरा आयो । तर तुरुन्तै भ्याक्सिन पनि पाइएन, औषधी पनि थिएन । पुरै पालिकाभरि यति छिटो रोग फैलियो कि हामीले नियन्त्रण गर्नै सकेनौं ।”
पन्थीले थपे -“आज पनि बिहानै अफिस आएको, दिउसोको ३ बजिसक्यो, भात खाने फुर्सद पनि पाएको छैन, शाखाका ६ जना कर्मचारीमध्ये एकजना विदामा छन्, म कार्यालयमा छु, बाँकी ४ जना फिल्डमा दौडनु भएको छ । सबैतिर रोगले गाई गोरु विरामी परेको खबर छ । हामी फिल्डमै गएर विरामी पशुहरुको उपचार गरिरहेका छौं ।”
उनका अनुसार लम्पी स्किन रोगबाट ग्रस्त गोरुलाई जोत्न हुँदैन । विरामी भएको बेला जोत्दा गोरु मर्न सक्छ, केही गोरु त विरामी भएका बेला जोत्न लगेपछि मरेको पनि पाइएको छ ।
गोरु विरामी भएर जोत्न नसक्ने भएपछि अहिले दोर्दी गाउँपालिकाको कार्यालयमा मिनी टिलर माग्नेको संख्या ह्वात्तै बढेको छ । गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले लम्की स्किन रोगका कारण दोर्दीमा सयौं गाई गोरु विरामी परेको बताए ।
असार मसान्त नजिकिँदै गर्दा लमजुङको दोर्दी गाउँपालिकाको कार्यालयमा हिजो आजे विभिन्न योजनाको भुक्तानी लिन आउने भन्दा विरामी गाईगोरुको औषधी लिन र मिनी टिलर माग्ने किसानहरुको भीड बढी देखिन्छ । गोरु विरामी परेर बर्खा लागि सक्दा पनि खेत रोप्न नपाएको, कतै गाई विरामी परेको त कतै गाई गोरु मरेको भन्दै आउने सर्वसाधारण धेरै भेटिन्छन् ।
खेतीपातीको बेला गोरु विरामी परेपछि खेत जोत्नका लागि मिनी टिलरको माग गर्ने किसानहरुको संख्या धानिनसक्नुको रहेको अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाले नियमित रुपमै १७ वटा मिनी टिलर अनुदानमा किसानलाई दिने कार्यक्रम थियो । तर पालिकाभर मिनी टिलरको माग ह्वात्तै बढेको छ । किसानलाई राहत दिन थप मिनी टिलर माग गर्दा अहिले कतै पनि नपाइएको भन्दै उनले भने- “किसानको यस्तो समस्या छ, मिनी टिलर कहीँ खोज्दा पनि पाइएको छैन ।”
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले रोगको प्रकोप लमजुङ जिल्लाभर फैलिएको र विरामी पशु चौपायको उपचारका लागि केन्द्रले हरसम्भब प्रयास गरिरहेको जानकारी दिए । यो रोगको मृत्युदर कम रहेकोले आतिनु पर्ने अवस्था नरहे पनि रोगको संक्रमण भएपछि गाई भैंसीले दूध दिन नसक्ने, गोरुले जोत्न नसक्ने हुने भएकाले सावधानी अपनाउनु पर्ने उनले बताए ।
लम्पी स्किन रोग लामखुट्टे, कीर्ना, माखा आदिको माध्यमबाट संक्रमित पशुबाट अरु स्वस्थ पशुमा सर्छ । रोगी पशु र निरोगी पशु एकैठाउँ राख्ने, एउटै भाँडामा कुँडो दाना खुवाउँदा पनि रोग सर्छ । यो रोग लागे पछि पशुको घाँटी, पुच्छर वरिपरीको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरूमा साना साना गिर्खाहरू देखिने तथा सुन्निने, उच्च ज्वरो आउने, कचेरा वा सिंगान बग्ने, मुखबाट फिंज निकाल्ने, खान नसक्ने अदि लक्षणहरू देखिने कार्यालय प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।