हरितालिका तीजको मिथक र बद्लिदो यथार्थ

हरितालिका तीजलाई किन "हरितालिका" भन्ने नाम राखियो होला भन्ने प्रसंग नयाँ पुस्ताको निम्ति सान्दर्भिक होला भन्ने ठानेर केही लेख्ने प्रयास सहित तीजको मिथक र यथार्थलाई विश्लेषण गर्ने जमर्को गरेको छु ।
हरितालिका शब्द दुई भागमा विभाजित हुन्छ:

• हरित: जसको अर्थ अपहरण गर्नु वा चोर्नु हो।
आलिका: जसको अर्थ साथी वा सखी हो।

कथाअनुसार, देवी पार्वती भगवान् शिवलाई पतिको रूपमा पाउन तपस्या गरिरहेकी थिइन्, तर उनको पिताले उनलाई विष्णु भगवान्सँग विवाह गरिदिने तयारी गरेका थिए। अत: पार्वतीको साथीहरूले उनलाई अपहरण गरेर एक जंगलमा लगेर लुकाइदिए र उनी त्यहाँ तपस्या गर्न थालिन्। त्यसैले, "सखीहरूले चोरेर लगेको" भन्ने सन्दर्भमा "हरितालिका" नाम आएको हो भन्ने कथन छ ।

देवी पार्वतीले लामो समय सम्मको कठोर तपस्या र समर्पणको माध्यमबाट भगवान शिवलाई पतिको रूपमा प्राप्त गरिन्। फ़लत: उनको तपस्या र प्रेमको गहिराइको सम्मानमा विवाहित महिलाहरू आफ्ना पतिहरूको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै पार्वतीको पूजा गर्छन्। पार्वती पतिव्रता धर्मको आदर्श प्रतीक भएकाले महिलाहरूले उनबाट प्रेरणा लिन्छन्। महिलाहरू पार्वतीलाई पूजा गर्ने मुख्य कारण देवी पार्वतीलाई नारीत्व, पतिव्रता, समर्पण, र प्रेमको प्रतीक मानिन्छ। हिन्दू धर्ममा पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न गरेको तपस्या र समर्पणलाई उच्च सम्मानका साथ हेरिन्छ, जसको उदाहरण महिलाहरूले आफ्नो जीवनमा अनुसरण गर्न चाहन्छन्।
अविवाहित महिलाहरूले पनि देवी पार्वतीको पूजा यस आशामा गर्छन् कि उनीहरूलाई पनि शिवजस्तै गुणवान् र आदर्श पति प्राप्त होस्। पार्वतीले तपस्याद्वारा भगवान शिवलाई पतिको रूपमा प्राप्त गरेकी थिइन्, र महिलाहरू पनि त्यो प्रकारको आदर्श जीवनसाथी प्राप्त गर्ने आशा राख्छन्।

विशेष गरी हिन्दू महिलाहरूले उत्सवका रूपमा मनाउने हरितालिका तीजमा महिलाहरूले आफ्नो परिवार, श्रीमान्, र सम्पूर्ण घरपरिवारको कल्याणको लागि व्रत बस्ने र शिव पार्वतीको पूजा गर्ने गर्दछन । तीजलाई आध्यात्मिक, धार्मिक, र सांस्कृतिक रूपमा अत्यधिक महत्वको रूपमा हेरिन्छ, तर पछिल्लो समय यो चाडसँग केही नकारात्मक पक्ष पनि जोडिन थालेका छन्, जसले यसलाई आलोचनात्मक दृष्टिकोणबाट पनि हेर्नुपर्ने आवश्यकता उत्पन्न गरेको छ।

पछिल्लो समय तीज पर्वले आफ्नो परम्परागत रूपलाई केही हदसम्म गुमाउँदै गएको देखिन्छ। आधुनिक समयमा नयाँनयाँ पहिरन, महँगा गहना, भोजभतेरका प्रचलनले तीजलाई खर्चालु पर्व बनाएको छ, जसले समाजमा प्रतिस्पर्धात्मक सोचलाई बढावा दिएको छ। यसले गर्दा तीजलाई एक प्रकारको प्रतिस्पर्धात्मक पर्वको रूपमा हेरिने गरिन्छ, जसमा महिलाहरूले एकअर्कालाई देखासिकी गर्दै आफ्नो आर्थिक क्षमता प्रदर्शन गर्न थालेका छन्। महँगा लुगाफाटा र गहनाका कारण कतिपय महिलाहरू आर्थिक रूपमा ठूलो बोझमा परेका हुन्छन्, ।

तीजमा खर्चिलो लुगाफाटो र गहना धारण गर्नुपर्ने, समाजमा प्रतिष्ठा कायम राख्नुपर्ने सोचले कतिपय महिलाहरूलाई पारिवारिक र सामाजिक दबाबमा पार्न सक्छ जसले उनीहरूमा मानसिक तनाव पनि सिर्जना गर्न सक्छ।

सामाजिक सञ्जालको प्रभावले तीज पर्वलाई झन् देखासिकी र प्रदर्शनमुखी बनाएको छ। तीजको समयमा महिलाहरूले आफ्नो पहिरन र भोजभतेरका तस्बिरहरू पोस्ट गर्ने, तीज विशेष पार्टीहरूको आयोजना गर्ने चलन व्यापक रूपमा फैलिएको छ। गीतका नाममा उच्छृङ्खलता बढ्दै छ । देखावटी प्रतिस्पर्धा बढ्दो छ । यसले तीजलाई सांस्कृतिक भन्दा पनि भौतिकवादी चाड बनाइदिएको छ। यस किसिमको परिपाटीले तीजको मौलिकता गुमाउने खतरा पनि देखिन्छ।

हुनत आधुनिक आँखाबाट हेर्दा मिथकमा उल्लेखित कथा पितृसत्तात्मक सत्तालाई बल पुर्याउने उदेश्यले बनाइएको जस्तो देखिन्छ तथापि तीज पर्वको धार्मिक र सांस्कृतिक पक्षले नेपाली समाजमा सकारात्मक भूमिका खेलेको छ। यसले महिलाहरूलाई एकआपसमा मेलमिलाप गर्ने, आफ्नो संस्कृतिलाई जोगाउने र धार्मिक आस्थालाई बलियो बनाउने अवसर प्रदान गरेको छ। तर, यस पर्वसँग जोडिएका भौतिकवादी पक्ष र अनावश्यक सामाजिक दबाबले यसलाई पुनर्विचार गर्ने समय आएको देखिन्छ। महिलाहरूले तीजको सारलाई बुझेर, यसको धार्मिक पक्षलाई प्राथमिकता दिँदै, अनावश्यक खर्च, प्रदर्शन, र देखासिकीबाट बच्नुपर्छ।

आजका दिनमा मनाइने तिजलाई महिला दिदीबहिनीका सुख, दुःख, अनुभव साटासाट गर्ने, नाचगान गरेर रमाइलो गर्ने, आफन्त र साथीसँगीसित भेटघाट गर्ने महत्वपूर्ण र रमाइलो अवसरका रूपमा सदुपयोग गर्नु आवश्यक देखिन्छ । अन्त्यमा, तीज पर्व सामाजिक एकतालाई बलियो बनाउने र समाजसँग एक–अर्कालाई बलियोसँग जोड्ने भरपर्दो माध्यम बन्न सकोस् । सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ।
वि.सं २o८१ भदौ २१ शुक्रबार

प्रतिक्रिया