विभिन्न कार्यविधि, ऐन र विधेयक पारित गर्दै मध्यनेपाल नगरपालिकाकाे चौथोे अधिवेशन सम्पन्न

भोर्लेटार, माघ १५ गते । विभिन्न कार्यविधि, ऐन र विधेयक पारित गर्दै लमजुङको मध्यनेपाल नगरपालिकाको नगरसभाको चौथोे अधिवेशन सोमबार भोर्लेटारमा सम्पन्न भएको छ ।

अधिवेशनले नगरप्रमुख रमेशकुमार पाण्डेले पेश गरेको पोषण खर्च व्यवस्थापन गर्ने कार्यविधि २०८०, नगरपालिकाको कार्यव्यवस्थापना र नियमन ऐन २०८० र विनियोजन ऐन २०८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको बिधेयक २०८० लाई पारित गरेको छ ।

नगरसभामा बोल्दै नगर प्रमुख रमेश कुमार पाण्डेले नगरको विकासका लागि राजनीतिमाथि उठेर काम गर्न सबै जनप्रतिनिधिहरुलाई आग्रह गर्दै सुन्दर, समृद्ध, समुन्नत मध्यनेपाल नगरपालिका निर्माणका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि र नगरबासीहरुले हातेमालो गर्नुपर्ने बताए । उनले नगरको विकासका सवालमा राजनीति नगर्न अनुरोध गर्दै सामान्य विषयलाई लिएर नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेकामा दुःख प्रकट गरे ।

उनले सो अवसरमा जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि नगरपालिकाको काममा मिलेर अघि बढ्नु पर्ने भन्दै केही जनप्रतिनिधिले नगरसभा बहिष्कार गरे पनि उनीहरुले पेश गरेका योजनाहरु पारित गरेको जानकारी दिए । उनले नगर सभा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, कार्यपालिकाका सदस्य, कर्मचारी सबैलाई धन्यवाद दिँदै राम्रो काममा साथ सहयोग गर्न अनुरोध गरे ।

मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका थिए । उनीहरुले वडा नं १ का वडा अध्यक्ष सुदिप थापालाई ज्यान मार्ने योजनामा पक्राउ परेका र धरौटिमा छाडिएका नगरपालिकाका कर्मचारी साजन थापालाई निलम्बन तथा कारवाही नभएको भन्दै नगरपालिकाका सभा सम्मेलनमा सहभागी नहुने बक्तब्य जारी गरेका थिए ।

नगरसभामा नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, वडा नंं ५ का अध्यक्ष ओमबिर गुरुङ र कार्यपालिका सदस्य बालकुमारी उचैले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया