मध्यनेपालका बासीन्दाले चितवन मेडिकल कलेजमा २० प्रतिशत छुट पाउने

खबरकुञ्ज

बेसीशहर, भदौ १९ गते । लमजुङको मध्यनेपाल नगरपालिकाका बासीन्दाले चितवन मेडिकल कलेजमा उपचार गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । मध्यनेपाल नगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी)बीच बुधवार भएको सम्झौता अनुसार मध्यनेपालका नगारिकले उपचारमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट पाउने भएका हुन् । 

मध्यनेपालका नगरप्रमुख रमेश कुमार पाण्डे र सिएमसीका अस्पताल निर्देशक डा दयाराम लम्सालबीच मध्यनेपालका नागरिकलाई उपचारमा विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता आगामी तीन बर्षका लागि गरिएको हो । यस अवधिमा मध्यनेपालका नागरिकहरुले नगरपालिकाबाट उपलब्ध गराइने परिचय पत्रको आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा छुट पाउने छन् ।

सम्झौता अनुसार मध्यनेपाल नगरपालिकाले आफ्ना नागरिकहरुको सबै विवरण कम्प्युटरमा राखी फोटो खिचाई कार्ड बनाइदिनु पर्ने छ । यस्तो कार्ड भएकाहरुले सिएमसीमा उपचारका लागि गएमा छुट पाउने छन् । यसका साथै नगरपालिकाको कार्यालयमा मेडिकल पार्टनरको रुपमा चितवन मेडिकल कलेज रहेको उल्लेख गरी बोर्ड राख्नुपर्ने छ । सम्झौता अनुसार अस्पतालको ओपिडी र इमरजेन्सी कार्डमा समेत विरामीले छुट पाउने छन् ।

सम्झौता अनुसार नगरपालिकाको कार्डबाट उपचारमा जानेहरुले बीमा वा अन्य कानुनी केसहरुमा भने छुट दावी गर्न पाउने छैनन् । 

सम्झौता अनुसार मध्यनेपालका नगरप्रमुखको सिफारिसमा नगरबासीले अस्पतालका अन्य सेवामा १० प्रतिशत र सिएमसी क्यान्सर इन्स्टिच्युटको सिटिइभिटीको पढाइमा विद्यार्थीले १० प्रतिशत छुट पाउने छन् ।

यसबाहेक नगरपालिकाले विपन्न आर्थिक अवस्थाका कारण उपचार गराउन नसक्नेहरुलाई उक्त अस्पतालमा उपचार गराउन परेमा एक सिफारिस पत्रको आधारमा अस्पतालले उपचार गरिदिने र पछि उपचार खर्च नगरपालिकाले भुक्तानी गर्ने सम्झौता पनि भएको छ ।

मध्यनेपालका नगरप्रमुख रमेश कुमार पाण्डेले चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा मध्यनेपालका विभिन्न स्थानमा नगरपालिका विभिन्न दुर्गम क्षेत्रमा बर्षमा दुई पटक निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्ने बिषयमा पनि सम्झौता भएका जानकारी दिए । यसका लागि आवश्यक जनशक्ति र उपकरणहरु अस्पतालले उपलब्ध गराउने र उक्त जनशक्तिलाई खाने बस्ने ब्यवस्था नगरपालिकाले गर्ने सम्झौता भएको उनले बताए ।

नगरप्रमुख पाण्डेले नगरबासीको स्वास्थ्यलाई मध्यनजर राखी उपचारमा सहज र सहुलियत होस भनि दोहोरो सम्झौता गरिएको जानकारी दिए । उनले सिएमसी अस्पतालमा उपचार गर्न जान चाहने नगरबासीहरुलाई नगरपालिकामा सम्पर्क गर्न पनि अनृुरोध गरेका छन् ।

प्रतिक्रिया