बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०३ पुग्याे , झ्याप्ले खोलामा थप ३ शव फेला

खबरकुञ्ज

काठमाडौं, असोज १३ गते । बिगत तीनदिन देखि परेकाे अबिरल बर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ । आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको हो ।

झ्याप्ले खोलामा पुरिएको अर्को बस निकाल्ने क्रममा पहिरो पन्छाउँदा थप ३ जनाको शब फेला परेको प्रहरीले जनाएको छ । बस पुरै निकाल्न नसकिएकाले उक्त बसको नम्बर खुलेको छैन । गोरखाबाट काठमाडौं जाँदै गरेको बस समेत हराएकाले पुरिएको उक्त बस सोही हुन सक्ने अनुमान गरिएको छ । सोही स्थानमा पहिरोमा परी पुरिएका दुईवटा बस शनिबार निकालिएको थियो । त्यहाँ १४ जना यात्रु मृत अवस्थामा भेटिएका थिए ।

नेपाल प्रहरीले असोज ११ देखि १३ गते बिहान १० बजेसम्म विपदका कारण १०३ जनाको मृत्यु, ७३ जना घाइते भएका र ६४ जना बेपत्ता भएको जानकारी दिएको छ ।

अबिरल बर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरोले गर्दा थुप्रै राजमार्ग र सडकहरु अबरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जनाएको छ ।


प्रतिक्रिया