बेसीशहर, पुस १९ गते । सशस्त्र प्रहरीको एपिएफ फूटबल क्लव त्रिवेणी कप राष्ट्रब्यापी नकआउट फुटबल प्रतियोगिता २०८१ को फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक त्रिवेणीलाई २–१ गोल अन्तरले पराजित गर्दै विभागीय टीम एपिएफले फाइनल यात्रा तय गरेको हो ।
बेसीशहरको त्रिवेणी रंगशालामा बिहान ११ बजे शुरु भएको पहिलो सेमिफाइनल खेलको २१ औं मिनेटमा एपिएफका लागि कप्तान हरि कार्कीले पहिलो गोल गरे । आयोजक त्रिवेणीका लागि खेलको ६८ औं मिनेटमा सुनिल खड्काले उत्कृष्ट गोल गरी खेललाई बराबरी मात्र पु¥याएनन्, टीमलाई लयमा समेत फर्काए ।
बराबरी गोल र घरेलु दर्शकको समर्थन हुँदा पनि त्रिवेणीले थप गोल गर्न सकेन । यता एपिएफका खेलाडीहरु भने थप आक्रामक बने । फलतः खेलको इन्जुरी समयमा एपिएफका लागि प्रदीप लामाले उत्कृष्ट गोल गरी टीमलाई फाइनलमा पु¥याए ।
प्रतियोगितामा एपिएफका खेलाडी प्रदिप लामा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो सेमीफाइनल अन्तर्गत अहिले बीवाइसी भोटेओडार र टोखा भगवती फुटबल क्लबीच खेल भइरहेको छ । खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा दुवै टीम गोलरहित बराबरीमा छन् ।
खबरकुञ्ज