अनियमित विद्युतले मध्यनेपालबासी हैरान, प्रधिकरणले जिम्मा लिँदा समेत समस्या उस्तै

हिजोआज गर्मी उधुम बढेको छ । यस्तो प्रचण्ड घरबाहिर बस्न सक्ने अवस्था छैन । जेठको महिला यसै त गर्मी हुने समय हो, त्यसमाथि लामो खडेरीले देशैभरीको तापक्रम ह्वात्तै बढेको छ ।

गर्मी बडेपछि अहिले घरबाहिर खुला ठाउँमा बस्न सक्ने  अवस्था छैन । शहरबजारको बीचमा पीच सडकमा एकैछिन उभिँदा नै ज्यान धपधपी बलेझैंै हुन्छ । उखरमाउलो गर्मीले खेतबारीमा काम गर्न सक्ने अवस्था पनि छैन । अरु त के कुरा, गर्मी बढेपछि घरभित्र पनि यतिबेला पंखा नलगाइ बस्न सकिन्न । यस्तो बेलामा विद्युत आपूर्ति बन्द हुँदा कस्तो अवस्था होला ? सितलमै बसेर यो कल्पना गर्दा पनि त्यसै पसिना छुट्छ ।

यस्तै नियति भोगिरहेका छन् लमजुङको दक्षिणपश्चिम मध्यनेपालका बासीन्दा । यो क्षेत्रमा दैनिक जसो विद्यतु अवरुद्ध हुँदा स्थानीयले सास्ती ब्यहोरेका छन् । स्थानीय भन्छन् –घण्टौं बत्ती जान्छ, कहिले आउने हो ठेगान हुँदैन । कहिले दिनभर बिजुली आउँदैन, कहिले त राती पनि आउँदैन । हैरानमा परियो ।”


मध्यनेपालको वडा नंं ७ रामबजारमा श्रीकृष्ण् बेकरी तथा दूध डेरी सञ्चालन गर्दै आएकी यशोदा खनाल भन्छिन्– “केही दिन यता विद्युत अनियमितताको समस्या बढेको छ । यस्तो बसीनसक्नुको गर्मीमा बिजुली नआउँदा जनजीवन नै अस्तब्यस्त भएको छ । कहिले दिनभरि, कहिले त राती पनि बिजुली आउँदैन । बिजुली आए त पंखा चल्थ्यो, केही सितल हुन्थ्यो नि, गर्मीले पाकियो हामी त ।”  

दूधडेरीसंगै आइसक्रिमसमेत विक्री गर्ने उनको पसलमा बिजुली नआउँदा भएको घाटाको हिसाब किताब नै रहेनछ । विजुली आपूर्ति नहुँदा फ्रिजमा राखिएको आइसक्रिम पग्लेर विग्रिएको उनले सुनाइन् ।

मध्यनेपाल ६ का रमेशचन्द्र घिमिरेले केही दिनयता तामक्रम निकै बढेको बताए– "गर्मी यति धेरै छ कि बाहिर बस्नै सकिन्न, घरभित्र पनि पंखा नलगाइ बस्न सकिँदैन ।"  स्थानीय ईशानेश्वर क्याम्पसका क्याम्पस प्रमुखसमेत रहेका घिमिरे ईशानेश्वर माविका शिक्षक समेत हुन् । बिहानी सत्रको क्याम्पस सकेर खाना खाइ विद्यालय जाने बेलामा भेटिएका उनले भने– विद्युतको अनियमितताले जनजीवन नै अस्तब्यस्त बनाइदिँदो रहेछ । बिद्युत प्राधिकरणले विद्युत वितरण गरेपछि अनियमित विद्युत नियमित हुन्छ भन्ने आशा पनि त्यतिकै भयो । दिनहूँ विना सूचना विद्युत आपूर्ति बन्द हुन्छ ।”

मध्यनेपाल र सुन्दरबजार नगरपालिका तथा क्व्होंलासोंथार गाउँपालिकाका विभिन्न क्षेत्रमा पश्चिम लमजुङ विद्युत उपभोक्ता समितिले विद्युत वितरणको  जिम्मेवारी लिएकोमा गत फागुन १ गतेबाट नेपाल विद्युत प्राधिकरण आफैले उक्त क्षेत्रको विद्युत वितरणको जिम्मेवारी लिँदै आएको छ । उपभोक्ता समितिबाट प्राधिकरणले जिम्मेवारी लिएपछि सेवा गुणस्तरीय र भरपर्दो होला भनेर धेरैले सोचेका थिए । तर सोचेझैं भएन । समस्या ज्यूँका त्यूँ भएपछि स्थानीय असन्तुष्ट छन् ।

प्रचण्ड गर्मीका बेला बिजुली आपूर्ति नहुँदा पंखासमेत चलाउन नपाउँदा मध्यनेपालका बासीन्दा क्रुद्ध छन् । मध्यनेपालको वडा नं. ७ मा बिहीबार दिउसो ४ बजेतिर भेटिएका रामबहादुर गुरुङले भने– बिहान एकैछिन त आकोथ्यो, तर दिनभर बिजुली आएन, घरमा बसीसाध्यै छैन गर्मीले, त्यसैले चौतारोतिर हावा खान जान लागेको ।”  

अन्य पहाडी जिल्लाको तुलनामा लमजुङ जिल्ला कम गर्मी हुने ठाउँ हो । बर्खाको बेला टार तथा बेसीहरुमा गर्मी बढी नै हुन्छ । तर यसबर्ष लमजुङका बेसी र टारहरु त धपक्कै बलेका छन्, गाउँघरमा पनि गर्मी ह्वात्तै बढेको छ । बिजुली जनताको आधारभूत आवश्यकता हो, यस्तो सम्बेदनशील कुरामा प्राधिकरणले खेलवाड गर्न हुदैन भन्छन् मध्यनेपाल ९ बाँग्रेका वडाध्यक्ष महेश पाण्डे । 

मध्यनेपालमा छिनछिनमा विद्युत आपूर्ति बन्द हुने, लामो समयसम्म विद्युत नआउने, कम भोल्टेज आउने लगायतका समस्याका कारण उपभोक्ताहरु हैरान हुनु गरेका छन् ।

समयमै विद्युत महसुल बुझाउनु पर्ने र समयमा नबुझाए चर्को जरिवाना तिर्दै आएका उपभोक्ताहरु विद्युत आपूर्तिमा हुने अनियमिताबाट बेहोर्नुपर्ने हैरानीबाट आजित छन् ।

यस सम्बन्धमा हामीले नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईसंग के भएके भनेर जिज्ञासा राख्दा उनले भनिए जस्तो समस्या नरहेका बताए । उनले भने –“अहिले मध्यनेपालको भोर्लेटार लगायतका क्षेत्रमा शाखा लाइन विस्तार भइरहेको र नांगो तार हटाएर कालोतार राख्न लागिएकाले कहीँ कतै समस्या भएको हुन सक्ने बताए । उनले भने हामीले जहाँ काम हुन्छ, त्यहाँको मात्र विद्युत काटेका छौं, काम नभएको ठाउँको विद्युत काटिएको छैन ।”

 तार फेर्ने काम अझै नसकिएकाले दुईतिन दिन अझै तार फेर्ने ठाउँमा सट डाउन गरेर काम हुने उनले जानकारी दिए ।


प्रतिक्रिया