बेसीशहर, चैत १८ गते । नेकपा एमाले जिल्ला कमिटी लमजुङको नवौं अधिवेशनमार्फत नेतृत्व चयनका लागि केहीबेरपछि मतदान हुने भएको छ ।सर्बसम्मत रुपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न निर्वाचन कमिटीले काम शुरु गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत महेन्द्रलाल श्रेष्ठले केहीबेरमै उमेदवारको अन्तिम नाम प्रकाशन गरिने जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार आजै दिउसो १.३० बजेदेखि ५.३० बजेसम्मका लागि मतदानको लागि समय छुट्याइएको छ । मतदान सम्पन्न भएपछि मतगणनाको कार्यक्रम शुरु हुने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।


अधिवेशन स्थल जिल्ला समन्वय समितिको सभाहलमा अहिले पनि कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । उमेदवारी दिएकाहरु मतदातासंग भेटघाट गरी मत माग्न ब्यस्त छन् ।


अध्यक्ष पदमा कृष्णप्रसाद अधिकारी र राजकुमार विष्टको उमेदवारी परेको छ । उपाध्यक्षमा सुभास पौडेल र जीतबहादुर गुरुङ, सचिवमा राजेन्द्र बोहरा र जनकराज मिश्रको उमेदवारी परेको छ ।
दुई उपसचिव पदका लागि खुलातर्फ राजेन्द्र अधिकारी र विवश बुढाथोकी तथा महिलातर्फ राधिका पराजुली र राममाया राना मगरको उमेदवारी परेको छ ।

भौगोलिक क्षेत्र सदस्य अन्तर्गत बेसीशहर नगरपालिकाबाट ३ खुला सदस्यका लागि १८ जनाको उमेदवारी परेको छ । २ महिला सदस्यका लागि ३ जना र १ युवा सदस्यका लागि २ जनाको उमेदवारी परेको छ ।
सुन्दरबजार नगरपालिकाबाट खुल्ला तीन सदस्यका लागि १० जना, २ महिला सदस्य पदका लागि ५ जना र १ युवा सदस्यका लागि १ जनाको उमेदवारी परेको छ । त्यस्तै मध्यनेपाल नगरपालिकाबाट खुल्ला तीन सदस्यका लागि ४ जना, २ महिला सदस्य पदका लागि २ जना र १ जना युवा सदस्य पदका लागि १ जनाकै उमेदवारी परेको छ । राईनास नगरपालिकाबाट ३ खुला सदस्यका लागि ८ जना, २ महिला सदस्यका लागि ३ जना र १ जना युवा सदस्यका लागि १ जनाको उमेदवारी परेको छ ।
गाउँपालिकातर्फ क्व्होंलसोथार र मस्र्याङदी गाउँपालिकाबाट खुला ३ सदस्य, २ महिला र १ युवा गरी ६–६ सदस्य पदका लागि ६–६ जनाको मात्रै उमेदवारी परेको र दोर्दीबाट ३ खुला सदस्य पदका लागि ३ जना, २ महिला सदस्य पदमा ३ जना र १ युवा सदस्य पदका लागि १ जनाको उमेदवारी परेको छ । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार दूधपोखरीबाट ३ खुला, १ महिला र १ युवा सदस्य पदका लागि तोकिएको संख्या अनुसार नै उमेदवारी परेको छ ।
जिल्ला भूगोल खुला सदस्यतर्फ १० पदका लागि १३ जनाको उमेदवारी परेको छ । खुल्ला दलित अन्तर्गत ४ पदका लागि ५ जनाको उमेदवारी छ । खुल्ला युवा सदस्य अन्तर्गत ४ पदका लागि ६ जना, खुल्ला जनजाति अन्तर्गत २ पदका लागि २ जना, जिल्ला खुला सदस्य (समावेशिता)तर्फको ५ पदका लागि १० जनाको उमेदवारी परेको छ । त्यस्तै खुला दलित अन्तर्गत खुला २ र १ महिला गरी ३ सदस्य पदमा हुने निर्वाचनका लागि खुलातर्फ २ जना र महिलातर्फ २ जनाको उमेदवारी परेको छ ।
खुल्ला अल्पसंख्यक÷अपाङ्गता सदस्यतर्फ १ पदका लागि २ जना, मुस्लिमतर्फ १ पदका लागि १ जनाको उमेदवारी छ । मजदुरतर्फ उमेदवारी परेको छैन ।
लेखा कमिटीतर्फ १ अध्यक्ष पदका लागि २ जना, १ उपाध्यक्ष पदका लागि १ जना, १ सचिव पदमा २ जना, १ खुला सदस्य पदका लागि ३ जना र १ महिला सदस्य पदका लागि १ जनाको उमेदवारी परेको निर्वाचन कमिटीले जानकारी दिएको छ ।