एमालेकाे गण्डकी प्रदेश अधिवेशन अन्तर्गत आज नेतृत्व चयन हुँदै, चिसाे माैसममा ताताे प्रतिस्पर्धा

पाेखरा । नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदै छ । केहीबेरमा नै मतदानको प्रक्रिया आरम्भ हुने निर्वाचन समितिले जनाएकाे छ।

संघीय संरचनापछि यो नेकपा एमाले गण्डकीको पहिलो प्रदेश अधिवेशन हो । अधिवेशनमा भाग लिन गण्डकी प्रदेशका करीब ९ सय प्रतिनिधि अहिले पोखरामा छन् । प्रदेशको अधिवेशनबाट प्रदेश कमिटी निर्वाचित गर्न उनीहरु मतदानमा सहभागी हुँदै छन् ।

यतिबेला पोखरामा पानी परेर जाडो बढे पनि एमालेको प्रदेश अधिवेशनको चुनावी गर्मी भने बढेको बढ्यै छ । नेतृत्वका लागि बढगण्डकी प्रदेशको नेतृत्व आफ्नो पक्षमा पार्न यतिबेला गण्डकीका एमाले नेताहरु अन्तिम कसरत गरिरहेका छन् । 

प्रदेश अधिवेशनमा गुटबन्दी पनि छरपस्टै छ । अधिवेशनमा लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्माको दुई फरक गुटबीच प्रतिस्पर्धा हुँदैछ । तर वास्तवमा प्रदेशको नेतृत्व आफ्नो हातमा लिन गण्डकीका एमाले हस्तीहरु पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटबीच घमासान चलिरहेको हो । पृथ्वीसुब्बा गुरुङको गुटबाट शर्मा र खगराज अधिकारीको गुटबाट मायानाथको प्यानल प्रतिस्पर्धामा उत्रिएका हो ।

दुई फरक गुटको नेतृत्व सम्हालेका केन्द्रीय यी दुई नेताको जुंगाको लडाइमा कसले जित्छ त्यो भोलिसम्म थाह हुनेछ । तर प्रदेशको नेतृत्व लिनका लागि दुई छुट्टा छुट्टै गुटबीचको चुनावी भिडन्त भने बडो रोचक देखिएको छ ।


पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गुटबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा उमेदवार छन् । उपाध्यक्षमा स्याङजाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र उपसचिवमा कास्कीका दानबहादुर विक छन् ।

खगराज अधिकारीको गुटबाट प्रदेश अध्यक्षमा लमजुङका मायानाथ अधिकारी उमेदवार छन् । यो गुटबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मि आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्कीका मीना गुरुङ उमेदवार छन् ।

लमजुङबाट प्रदेश कमिटीको अध्यक्षमा मायानाथ अधिकारी र सचिवमा धनञ्जय दवाडी दुई फरक गुटबाट उमेदवार छन् । लमजुङबाट अधिवेशनका लागि पोखरा पुगेका प्रतिनिधिहरु पनि गुटमा विभाजित भएका छन् । उनीहरु आ–आफ्ना उमेदवारलाई जिताउन प्रचार प्रसारमा लागेका छन् ।

प्रदेश कमिटीमा खुलातर्फ लमजुङका सिंहबहादुर थापा, गोविन्द बस्नेत र युवा खुल्लातर्फ हिरालाल विश्वकर्माले उनीहरु पृथ्वीसुब्बा गुरुङ निकटका हुन् । भूगोलतर्फ गुरुङ प्यानलकै मोहनहरि पौडेल र गोबर्दन गौलीको उमेदवारी परेको छ ।

प्रदेश अधिवेशनमा जिल्ला भूगोल(पुरुष) तर्फ प्रेम बहादुर घले र फूलबहादुरा थापा, महिलातर्फ लक्ष्मी अधिकारी र विष्णुमाया राना तथा दलितबाट ननदराम वि.क. निर्विरोध भइसकेका छन् । 


प्रतिक्रिया