बेसीशहर, २५ मंसिर । नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री एवं सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले २०७२ को संविधान जारी गर्दा छल गरेर नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषण गरिएको बताएका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ३ दुराडाँडास्थित सनातन धर्म सेवा संघ, गुरुकूल आश्रम तथा पाणिनी संस्कृत माध्यमिक विद्यालयमा रहेको वैदिक गुरुकूल छात्राबासलाई दीगो रुपमा सञ्चालन गर्न आयोजित श्रीमद्भागवत महापुराण तथा धनधान्याचल सप्ताह ज्ञान महायज्ञको सोमबार उद्घाटन गर्दै भण्डारीले नेपालमा वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न ढिलो भएको विचार राखे ।
सो अवसरमा बोल्दै नेता भण्डारीले अहिले हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेको र जबर्जस्ती हिन्दूहरुलाई धर्मान्तरण गर्न बाध्य पारिएकोमा आपत्ती जनाए । उनले ८० प्रतिशत भन्दा बढी नागरिक हिन्दू धर्म मान्ने भए पनि नेपालमा जबर्जस्ती धर्म निरपेक्ष राज्य बनाइएको भन्दै अब हिन्दू धर्म बचाउन सबै जागरुक हुनुपर्ने र मुलुकलाई पुनः हिन्दू राज्य कायम नगरिए मुलुकको अस्तित्व नै खतरामा पर्ने जिकिर गरे ।

नेपाली कांग्रैसभित्र र बाहिर पनि हिन्दू राज्य स्थापनाका लागि जनमत बलियो बन्दै गएको भन्दै उनले देशको अस्तित्व बचाउन अरु पार्टीले पनि यो अभियानलाई साथ दिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसको महासमिति वैठकमा आफूहरुले हिन्दू राज्यको वकालत गरेको र धेरैले यसमा साथ दिएको भन्दै उनले जतिसक्दो छिटो नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए । उनले कांग्रेसभित्र हिन्दू राष्ट्र स्थापनाको विचारले बलियो बन्दै गएकाले हिन्दू राष्ट्र चाहने सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले धर्म निरपेक्षता र संघीयता नेपालमा जबर्जस्ती लादिएको भन्दै यस्ता महत्वपूर्ण बिषयमा जनमत संग्रह गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले विद्यालयलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले अहिले मानिसहरुमा धर्मप्रतिको विश्वास घट्दै गइरहेको अवस्थामा महायज्ञले धर्मप्रति आस्था जगाउन सफल होस् भनि शुभकामना दिए ।
मंसिर २४ गतेदेखि शुरु भएको महायज्ञ मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा युवा पण्डित नवीन बरालले भागवत वाचन गरेका छन् । महायज्ञमा प्रभातकालीन पारायण तथा कथा बाचन, दैनिक धान्याचल तथा तुलादान, आराती र प्रश्नोत्तर, दिब्य झाँकी एवं नाटक प्रदर्शन र साँझमा महात्म्य कथा र भजनको कार्यक्रम हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ४ का वडा अध्यक्ष अमृत न्यौपानेले जानकारी दिए ।
श्रीमद्भागवत महापुराण तथा धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्नका लागि समाजसेवी पूर्णभद्र न्यौपानेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । महायज्ञमा गुरुकूल छात्राबासका लागि भक्तजनहरुले धान, चामल लगायत अन्नका साथै गौशालाका लागि परालसमेत दान दिन सकिने बताएको छ।
विद्यालयले ५६ औं बार्षिकोत्सव एवं ५० औं अभिभावक दिवसको अवसर पारी श्रीमद्भागवत महापुराण तथा धनधान्याचल सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको हो ।
खबरकुञ्ज