डिफेण्डिङ च्याम्पियन भुजुङ त्रिवेणी कपबाट बाहिरियाे, सडन डेथमा मच्छिन्द्रसंग स्तब्ध

खबरकुञ्ज

बेसीशहर, पुस १३ गते । डिफेण्डिङ च्याम्पियन लालीगुराँस क्लब भुजुङ लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३२ औं त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार बेसीशहरको सहजी रंगशालामा भएको पहिलो खेलमा मच्छिन्द्र क्लव काठमाडौंसंग ट्राइबेकरमा पराजित भइ गत बर्षको बिजेता भुजुङ प्रतियोगिताबाट बाहिरिएको हो ।

घरेलु दर्शकको अत्याधिक समर्थन पाएको भुजुङका लागि ३१ औं मिनेटमा फार्गुराम थारुले डिबक्सबाट प्रहार गरेको बल क्रसबारमा लागि रिबाउण्ड भएकोमा विदेशी खेलाडी ग्लोरीले त्यसलाई क्लियर गरी जाली चुमाउँदै टीमलाई अग्रता दिलाएका थिए ।  


तर दुर्भाग्य ! भुजुङले आफ्नो अग्रतालाई अन्तिमसम्म जोगाउन सकेन । खेलको ६६ औं मिनेटमा मच्छिन्द्रका अनिल रानामगरले टीमका लागि गोल फर्काइ खेललाई बराबरीमा ल्याए । खेलको निर्धारित समयमा दुवै टीम १–१ गोलको बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा गएको थियो । 

ट्राइबेकरमा पनि दुवै टीम ४–४ को बराबरीमा रहेपछि खेल सडन डेथमा गएको थियो । अन्ततः सडन डेथमा पनि भुजुङका खेलाडीहरु चुक्दा पहिलो पटक प्रतियोगितामा सामेल भएको दुई पटकको लिग बिजेता मच्छिन्द्रलाई क्वार्टरफाइनलको यात्रा सम्भव भयो ।

सडन डेथमा मच्छिन्द्रका गोलरक्षक दीपेन्द्र भण्डारी नायक बने । भुजुङका खेलाडी ग्लोरीको प्रहार भण्डारीले सहजै रोकिदिएपछि भुजुङ घर फर्कन बाध्य भयो । 


निर्धारित समय र ट्राइबेकरमा समेत बराबरी ब्यहोरेका दुवै टीमका लागि सडन डेथ सुनौलो मौका थियो । तर भुजुङका लागि सडन डेथ पनि दुर्भाग्य बन्यो । 

सडन डेथमा मच्छिन्द्रका लागि गौरब महर्जन र रोवर्ट कोबियाइथुले गोल गर्दा प्रदिप बुढाथोकी र सुशान्त गुरुङले पोष्ट बाहिर प्रहार गरे ।

भुजुङका सन्तोष खत्री, योगेश गुरुङको प्रहार पोष्ट बाहिर गयो भने पासाङ लामाको प्रहार मच्छिन्द्रका गोल रक्षक दीपेन्द्र भण्डारीले रोकिदिए । 

प्रतिक्रिया