मर्स्याङदी गाउँपालिकाबाट श्रम स्वीकृति दिन शुरू, सेवाग्राही खुशी

लमजुङका स्थानीय तहबाटै वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरिएकाे छ । लमजुङका ८ स्थानीय तहमध्ये मर्स्याङदी गाउँपालिकाले पहिलाे पटक श्रम स्वीकृति दिन सुरु गरेकाे हाे । 

यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि मर्स्याङदी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेकाे हाे ।

लमजुङकाे मर्स्याङदी गाउँपालिकाबाट पहिलाे पटक साेही गाउँपालिकाकाे वडा नं. ३ टारी कुनाका दुर्गावहादुर तामाङले श्रम स्वीकृति लिएका छन् । गाउँपालिकामै श्रम स्वीकृति पाएपछि निकै सजिलाे भएको उनले बताए । बिना कुनै झण्झट सानाे खर्चमा घरदैलोबाटै श्रम स्वीकृति पाएपछि खुसी लागेको उनले बताए । तामाङ कतारमा वैदेशिक राेजगारीमा छन् । विदामा घर फर्केका उनी पुनः कतार जाने तयारीमा छन्  ।

सरकारको गत चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहहरूले नै  रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मर्स्याङदी गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको पालिका अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाटै श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण र स्वागतयाेग्य रहेको उनले बताए ।

लमजुङका बासीन्दालाइ श्रम स्वीकृत लिन काठमाडौं वा पाेखरा पुग्नुपर्ने बाध्यता थियो ।  सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति दिन सकिने गरी निर्णय गरेपछि वैदेशिक राेजगारीमा रहेका र जान चाहने हजाराैंलाइ सहज भएकाे छ ।

बैशाख १ गतेबाटै पालिकाकाे राेजगार सेवाकेन्द्रबाट श्रम स्वीकृतिकाे काम गरिने तयारी गरिए पनि सेवाग्राही नगएपछि काम अघि बढकाे थिएन । ढिलै भए पनि सेवा शुभारम्भ गर्न पाएकाेमा खुशी लागेकाे मर्स्याङदी गाउँपालिकाका रोजगार संयोजक नन्दराज घलेले वताए ।

प्रतिक्रिया