बेसीशहर, साउन २८ गते । मर्स्याङदी नदीको कटानका कारण सडक बगर बनेपछि बिगत एक महिनादेखि यातायात सेवाबाट बञ्चित हुन पुगेका बेसीशहरको वडा नंं ११ मा पर्ने बुढीकुवा, बजारखुट्टा र बरबोट क्षेत्रका बासीन्दाले पाएको सास्ती यो बर्खाभर नहट्ने सम्भावना बढेको छ ।
रिठ्ठेबगरको मोटरेबलु पुलदेखि मध्यमर्स्याङदी जलविद्युत परियोजनाको बाँधसम्म ठाउँ ठाउँमा मर्स्याङदी नदीले सडक कटान गरी बगर बनाएपछि सडक खुल्न नसकि यातायात अबरुद्ध भएकोमा सो स्थानमा सडक मर्मत भइरहँदा पुन धुवाँखोलामा ठूलो पहिरो खसेपछि यस्तो सम्भावना बढेको हो ।
लामो प्रयासपछि नदीको कटानले बगर बनेको सडक मर्मत भइरहेकोमा शनिबार धुवाखोलामा बिशाल पहिरो आई सडक पुरेपछि समस्या थपिएको बेसीशहर ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले बताए । जाेशीका अनुसार पहिराेले करिब २० राेपनी खेतसमेत पुरेकाे छ ।

यसअघि नदीको कटानले सडक बगरमा परिणत भएपछि वडा कार्यालय र स्थानीयले सडक मर्मतका लागि मध्यमस्र्याङदी जलविद्युत केन्द्र, बेसीशहर नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत दबाब दिएकामा लामो प्रयासपछि मध्यमर्स्याङदीले सडक मर्मत गरिदिन तयार भएको थियो । तर सडक मर्मतको काम सम्पन्न नहुँदै धुवाँखोलाको पहिरोले समस्या उत्पन्न भएको वडाध्यक्ष जोशीले बताए ।
मस्र्याङदी नदीमा आएको बाढीले कटान गरी बगर बनाएको सडकमा धुवाँखोला र अन्यत्रबाट ग्रयाबल ल्याएर पुरेर सडक सुचारु गर्ने प्रयास अन्तर्गत बुढीकुवासम्म यातायात सञ्चालन भइरहेको जोशीले जानकारी दिए ।

मध्यमर्स्याङदी नदीले कटान गर्दा उदीपुरबाट रिठठेबगर हुँदै लमजुङको बेसीशहर नगरपालिका वडा नं. ११ को बजारखुट्टा, बुढीकुवा, र बरबोट जोड्ने सडकमा मर्स्याङदीले बगर बनाएको थियो । केही दिनदेखि नदीको बहाव कम भएको समयमा सडक मर्मत गरिए पनि धुवाखोलाको पहिरोका कारण सडक अबरुद्ध हुन पुगेको हो । जसका कारण त्यस क्षेत्रका बासीन्दा यातायात सुविधाबाट बञ्चित छन् ।
सडक अबरुद्ध भएपछि त्यहाँका बासीन्दालाई एम्बुलेन्सबाट बिरामी लैजान र खाद्यान्न लगायत सामान ढुवानी गर्न समेत समस्या छ । सडक मर्मत र पहिरो पन्छाउन वडाको सामथ्र्यले नभ्याउने भएकाले नगरपालिका र अन्य सरोकारवाला निकायमा अनुरोध गरिएको वडाध्यक्ष जोशीले बताए ।

गत आर्थिक बर्षमा प्रदेश सरकारको सहयोगमा मर्स्याङदी नदीमा बनाइएको तारजालीसहितको तटबन्धनमा समेत बाढीले क्षति पुर्याएको छ । यस सम्बन्धमा वडा कार्यालयले एक महिना अघि बेसीशहरमा पत्रकार सम्मेलन गरी समस्या अवगत गराएको थियो ।
पत्रकार सम्मेलनमा स्थानीय रुद्रनिधि तिवारी र सुनिल तिवारीले आफूहरुको घरसमेत पहिरोको जोखिममा परेकाले घरबास स्थानान्तरण गरिदिन अनुरोध गरेका थिए ।
खबरकुञ्ज