बडादशैंकाे राैनक बनेका राेटेपिङहरू

खबरकुञ्ज

बेसीशहर । बडादशैं सकिएको छ । नेपालीहरुको महान पर्व बडादशैं मीठो खाने राम्रो लगाउने मात्र होइन, पिङ खेलेर मनाउने हाम्रो परम्परा नै हो । दशैंमा एक पटक धर्ती छोड्नुपर्छ भन्ने मान्यता अझै छ । यस बर्ष बडादशैंमा बर्षाले प्रभावित बनाए पनि पीङमा झुम्मिने, रमाउनेहरुको संख्या भने कम भएन ।

लमजुङको मध्यनेपाल–१०, हाँडीखोलामा थापिएको २४ पिर्के, बेसीशहर नगरपालिकाको वडा नंं ४ पुरानोकोटमा थापिएको २८ पिर्के रोटेपिङ र बेसीशहरकै वडा नं. ३ मा थापिएको ८ पिर्के रोटेपिङ यस बर्ष पनि दशैंको बिशेष आकर्षण बने ।

यी तीनवटा रोटेपिङले बडा दसैँको रौनक मात्र बढाएनन्, पिङ खेल्ने नेपालीहरुको पुरात संस्कृतिको संरक्षण गर्नुका साथै आन्तरिक पर्यटकलाई समेत आकर्षण गरे । ती स्थानमा बनाइएको रोटेपिङमा खेलेर रमाउन र रोटेपिङ खेलेको भिडियो र टिकटक बनाउन जिल्लाका विभिन्न ठाउँबाट मानिस त्यहाँ पुगेका थिए । पिङ खेल्न जानेहरुको भीडभाडले ती ठाउँकोे पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुगेको छ । 

लमजुङ सदरमुकाम बेसीशहरसंगै जोडिएको ऐतिहासिक लमजुङ दरबार र लमजुङ कालिका मन्दिरको प्रांगणमा ८ पिर्के रोटेपिङ थापिएको छ । गत चैत्राष्टमीमा आयोजित गाउँशहर चैतेदशैं मेलाको अवसर पारेर बनाइएको रोटेपिङ यो बडादशैंमा समेत थापिएकाले उक्त पिङले गाउँशहरको रौनक बढाइदिएको थियो । पिङ खेल्न बेसीशहार, गाउँशहरका अलवा अन्य स्थानबाट पनि मानिसहरु पुगेका थिए । नवरात्रमा गाउँशहर कालिकामा भाकल र पञ्चबली लिएर जाने र पुजाअर्चना गर्न पुग्ने भक्तजनले पनि मन फुकाएर रोटेपिङ खेले ।

मध्यनेपाल नगरपालिकाको वडा नंं १०, हाँडीखोला बर्धानमा एकै ठाउँमा दुईवटा रोटेपिङ हालिएको छ । त्यहाँको देउबहादुर दुरा स्मृति संग्राहलयको प्रांगणमा २४ पिर्के र ८ पिर्के रोटेपिङ थापेको दुई बर्ष पुग्यो । यी रोटेपिङ खेल्न तनहूँको दमौलीदेखिका मानिसहरु पुग्ने गरेकामा यस बर्ष पनि पिङ खेल्न जानेहरुको भीड लाग्यो । स्थानीयले चन्दा उठाएर दुई लाख रुपैयाँको लागतमा रोटेपिङ हालेका हुन् ।

पिङ खेल्ने संस्कृति नै हराउँदै गएको परिप्रेक्ष्यमा २४ पिर्के पिङ बर्धानमा हालिएपछि पिङ खेल्न र हेर्न टाढा टाढाबाट मानिसहरु पुग्ने गरेको बताइन्छ । बर्धान गाउँमा पर्यटक आकर्षण गर्न र दुरा संस्कृति संरक्षणका लागि संग्र्रहालयसमेत निर्माण गरिएको छ । घुमाउने घरमा राखिएको संग्र्रहालय हेर्नसमेत पर्यटक आउने गरेका छन् ।

लमजुङको पुरानोकोटमा सम्भवत नेपालमै पहिलो २८ पिर्के रोटेपिङ निर्माण भएको छ । बेसीशहर नगरपालिका वडा नं. ४ पुरानोकोटको फोस्रे गाउँमा बनाइएको रोटे पिङ हेर्न र खेल्न जानेहरुको भीड उस्तै छ ।

स्थानीय बुद्ध मिलन समाजले सम्भवत नेपालमै पहिलो पटक २८ पिर्के रोटेपिङ निर्माण गरेको हो । बेसीशहर नगरपालिका वडा नं. ४ पुरानोकोटको फोस्रे गाउँमा यस्तो रोटे पिङ बनाइएपछि रोटेपिङ हेर्न र खेल्न जानेहरुको भीड लागेको छ । यो दशैंमा त्यहाँ पिङ खेल्न जानेहरुको संख्या उल्लेख्य रह्यो ।

२८६० औँ सोनाम ल्होसारको अवसर पारेर त्यहाँकोे स्थानीय बुद्ध मिलन समाजले रोटेपिङ बनाएको हो । यो पिङ बनाउन ४ लाख ७५ हजार रुपैयाँ लागेको थियो । पिङ बनाउन बेसीशहर नगरपालिकाले १ लाख ५० हजार, बेसीशहर वडा नंं ४ को वडा कार्यालयले २० हजार रुपैयाँ सहयोग गरेका थिए । नपुग रकम स्थानीय समुदाय, स्वदेश तथा विदेशमा रहेका स्थानीयले सहयोग गरेका स्थानीयले राजकुमार तामाङले बताए ।

प्रतिक्रिया