लमजुङमा ३ सय २० बर्षकाे कैद भुक्तान हुन बाँकी !

खबरकुञ्ज

बेसीशहर, साउन ७ गते । लमजुङमा विभिन्न अपराधमा जिल्ला अदालतबाट सजाय पाएका अभियुक्तहरूबाट ३ सय २० वर्ष भन्दा बढीकाे कैद सजाय भुक्तान हुन बाँकी रहेकाे जिल्ला अदालतले जनाएकाे छ ।

गत आर्थिक बर्षसम्म अदालतमा पेश भएका मुद्दामध्ये फैसला भइ कैद सजाय सुनाइएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय २० बर्ष ९ महिना २८ दिनकाे कैद भुक्तान हुन बाँकी रहेकाे जिल्ला न्यायाधीश कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० सम्म लमजुङ जिल्ला अदालतबाट ३ सय १३ वर्ष ४ महिना ४ दिनकाे कैद फर्छ्याैट हुन बाँकी रहेकाे थियाे । गत बर्ष आर्थिक वर्ष २०७९/०८० का बाँकी र आर्थिक बर्ष २०८०/०८१ मा थपिएका मुद्दाका फैसला समेत गरी ३ सय २० बर्ष ९ महिना २८ दिनकाे कैद भुक्तान हुन बाँकी रहेकाे हाे । 



गत आर्थिक बर्ष २०८०/०८१ मा जिल्ला अदालतले आर्थिक वर्ष २०७९/०८० बाट जिम्मेवारी सरेका  ३ सय १३ वर्ष ४ महिना ४ दिनकाे कैदमध्ये ८ बर्ष ७ महिना २ दिनकाे कैद फर्छ्याैट गरेकाे थियाे । गत आर्थिक बर्ष २०८०/०८१ मा थप १७२ बर्ष ९ महिना १४ दिनकाे कैद लगत थपिएकामा १ सय ५६ बर्ष ८ महिना १८ दिनकाे कैद फर्छ्याैट भइ ३४ प्रतिशत प्रगति भएकाे अदालतका नायब सुब्बा नवराज जाेशीले जानकारी दिए ।

गत आर्थिक बर्ष २०८०/०८१ मा जिल्ला अदालतले जरिवाना लगतमा ९ प्रतिशत मात्र प्रगति गरेकाे छ । अदालतबाट विभिन्न मुद्दामा सुनाइएकाे जरिवाना लगतमध्ये आर्थिक बर्ष २०७९/०८० सम्म  ४ कराेड ९५ लाख ६७ हजार फर्छ्याैट हुनु पर्नेमा आर्थिक बर्ष २०८०/०८१ मा २६ लाख ७८ हजार १७० रूपैयाँ ५० पैसाकाे जरिवाना फर्छ्याैट भएकाे छ । नयाँतर्फ गत बर्षकाे लगत १ कराेड १८ लाख १० हजार ३५० रूपैयाँ थप भएकाेमा २९ लाख १६ हजार ९५० रूपैयाँ मात्र फर्छ्याैट भएकाे अदालतकाे तथ्याङ्कले देखाएकाे छ ।

तथ्याङ्क अनुसार अनुसार आर्थिक वर्ष २०७९/०८० बाट जिम्मेवारी सरेका फैसला कार्यान्वयनका ५७ निवेदनमा ५२ वटा गत बर्ष फर्छ्याैट भएकाे देखिन्छ । गतबर्ष थप भएका १ सय २१ निवेदनमा ५४ वटा फर्छ्याैट भइ नयाँ र पुराना गरी ७२ वटा निवेदनमा फैसला कार्यान्वयन हुन बाँकी देखिएकाे छ ।

प्रतिक्रिया